अलपत्र एकीकृत काभ्रे उपत्यकाको खानेपानी आयोजना

Read Time = 14 mins

✍️ हरिप्रसाद शर्मा
खानेपानी तथा सरसफाइ विशेषज्ञ

काठमाडौं उपत्यकाको नजिकै रहेको काभ्रे उपत्यका जसले बनेपा, धुलिखेल र पनौती नगरपालिकाहरूलाई आफ्नो काखमा राखेर बसेको छ । बनेपा पुरानो व्यापारिक केन्द्र हो । अरनिको राजमार्गमा उभिएर दायाँबायाँ हेर्दा प्रायः जसो घरमा कुनै न कुनै बैंक वा सरकारी संस्थाको साइनबोर्ड देख्न सकिन्छ । यसले के थाहा पाउन सकिन्छ भने बनेपा आर्थिक गतिविधिमा सक्रिय शहर हो ।

यसैगरी धुलिखेल पर्यटकीय शहर हो । यसका विभिन्न अग्ला डाँडाहरूबाट हिमाल देख्न सकिन्छ भने प्रायः जसो घरमा होटल वा रिसोर्टको साइनबोर्ड देख्न सकिन्छ । नेपालमा आउने विदेशी वा भारतीय पर्यटक धुलिखेल नगई फर्केर जाँदैनन् । त्यसैगरी पनौती शहर पनि धार्मिक हिसाबले निकै महत्वपूर्ण मानिन्छ । यहाँ विभिन्न देवी-देवताका मन्दिर छन् र १२ वर्षे पनौती मेला पनि निकै प्रख्यात रहेको छ । यी तीनैवटा शहरहरूको आफ्नै विशेषता भए पनि भौगर्भिक हिसाबले एउटा उपत्यकाको रूपमा बाधिएका छन् । यी नगरपालिकाहरूको घरधुरी र जनसंख्या निम्नानुसार छ :-


काठमाडौं उपत्यकाबाट धेरै नजिक भएको सुविधाजनक अरनिको राजमार्गले छोएको हुनाले बनेपा र धुलिखेलमा बाहिरबाट बसाइसराई गरेर आउने क्रम बढेकाले जनसंख्या वृद्धि भइराखेको छ । मानिस बस्न योग्य शहर बन्नका लागि यातायात, रोजगारी तथा खानेपानीको व्यवस्था हुनु अनिवार्य छ ।

प्राचीनकालमा पनि नदी वा तलाउका किनारामा शहर बनेको उदाहरण प्रसस्तै भेटिन्छन् । त्यसैले पानी जीवनको अभिन्न अंग बनेको छ । पानी भएन भने अन्य वातावरण राम्रो भए पनि शहर बन्दैन । बनेपा तथा पनौतीमा नेपाल खानेपानी संस्थानले आंसिक रूपमा भए पनि पानी वितरण गरिरखेको छ । धुलिखेलमा जर्मन सरकारको सहयोगमा सन् १९८७ मा पनौतीको खार खोलाबाट ५.२३ लि.प्र.सेकेण्ड पानी ल्याई स्थानीय स्रोतहरूको पानी मिसाई प्रशोधन केन्द्र बनाई आंशिक रुपमा पानी वितरण भइरहेको छ । हाल यी शहरहरूमा पानी वितरणको अवस्था निम्नानुसार छ ।

सि.नं. नगरपालिका लाभान्वित जनसंख्या निजी धारा संख्या स्रोतको क्षमता लि./सेकेण्ड पानी उत्पादन तथा वितरण (लाख लिटर प्रतिदिन)

यी नगरपालिकाहरूको घर संख्या, जनसंख्या माथि उल्लेखित निजी धारा संख्या र पानी उत्पादन तथा वितरण हेर्दा खानेपानी सम्पूर्ण घरपरिवारमा वितरण भएको अवस्था छैन । पनौतीमा सात दिन एकपटक दुई घण्टा, बनेपामा दुई दिन एकपटक एक घण्टा र धुलिखेलमा प्रत्येक दिन आलोपालो गरी तीन घण्टा पानी वितरण गर्ने गरिएको छ ।

वितरण गरिएको पानीमा शुद्धता मापन गरिने प्रचलन छैन । यसैलाई मध्यनजर गरी काभ्रे उपत्यकामा खानेपानीको समुचित व्यवस्था गर्न एकीकृत काभ्रे उपत्यका खानेपानी आयोजना (Integrated Kavre Valley Water Supply Project) को डिजाइन भई एसियाली विकास बैंकको ऋण कार्यक्रममा नेपाल सरकारले खानेपानी आयोजना निर्माण गर्न सुरु गरेको हो । यसका लागि बताउन लागिएका उल्लेखित स्रोतहरू प्रयोग गरी निम्नानुसार पानी ल्याउने र यिनै नगरपालिकाहरूमा वितरण गर्ने योजनाका साथ विसं २०१० बाट डिजाइन सुरु भई २०१३ बाट आयोजनाको निर्माण सुरु गरेको देखिन्छ ।

यसरी माथि उल्लेखित स्रोतहरूबाट पानी ल्याई वितरण गर्ने लक्षका साथ एकीकृत काभ्रे उपत्यका खानेपानी आयोजना निर्माणको लागि निर्माणतर्फको लागत अनुमान रु. ८२,६०,०७,७००.० तथा अन्य विविध रु.२४,७३,८९,३००.० समेत गरी रु. १,०७,३३,९७,०००.० (एक अर्ब सात करोड तेत्तीस लाख सन्तानब्बे हजार) को लगत इस्टमेट स्वीकृत गरी विधिपूर्वक ठेक्का आहृवान गरी रु.९९,०८,०७,८२१.२० (भेरियसनसमेत) मा ११० किलो मिटर पाइप लाइन बिच्छयाई ७ हजार ५०० धाराहरू जडानसमेत गरी सम्पूर्ण निर्माण काम र सामग्री सप्लाई गर्ने साथै पानी सञ्चालन गर्नेगरी Ningbo Ningshing International Inc. China सँग सन् २०१३ मा ठेक्का सम्झौता भएको देखिन्छ । सुरुमा कामका लागि वातावरण राम्रो भए पनि पछि गएर विभिन्न विवाद तथा नगरपालिकाहरूको उपयुक्त समन्वयको अभावले गर्दा कामको गति सुस्त हुँदै गएको महसुस हुनगयो । हालसम्म निर्माण व्यवसायीले निम्नानुसारको काम सम्पन्न गरी करिब रु.७३ करोड भुक्तानी लिइसकेको छ ।

भौतिक हिसाबले सरसर्ती हेर्दा ९५ प्रतिशत जतिकाम सम्पन्न भएको देखिन्छ ।

पानी प्रशोधन केन्द्र तथा पानी ट्यांकी
ठेक्कापट्टाका शर्तमा भएका केही विवादले गर्दा निर्माण व्यवसायीले सम्पूर्ण काम सकाई प्रेसर (पाइपमा पानीको चाँप) परीक्षण गरी पानी सप्लाई गर्नुपर्नेमा पानी परीक्षण गर्न इन्कार गरी अधुरो नै छोडेको अवस्था छ ।

यो लेख मैले मिति २०७९/११/०१ देखि २०७९/१२/०२ सम्म उक्त आयोजनाको स्थलगत भ्रमण गरेर आयोजनाको वस्तुस्थिति अवगत गर्ने अवसर पाए । भ्रमण गर्दा बनेपा नगरपालिकाका नगर प्रमुख श्री शान्तिरत्न शाक्य तथा धुलिखेल नगरपालिकाका नगर प्रमुख श्री अशोककुमार ब्याञ्जु ज्यूहरूसँग पनि छलफल गरियो । बनेपाका नगर प्रमुख श्री शान्तिरत्न शाक्य आयोजना अधुरो रहेकोमा धेरै नै चिन्तित रहेको पाइयो । ऋण तिर्ने पनि कुनै उपाय नभएको बताउनुभयो । धुलिखेलका नगर प्रमुख अशोक ब्याञ्जु चाँही केहि आशावादी भएको पाँए । उहाँले १८ करोड रकम अर्थ मन्त्रालयसँग माग गरेको छ । प्राप्त भएपछि सम्पन्न गरिन्छ भन्नुभयो । पनौती नगरपालिकाका प्रमुक श्री रामशरण भण्डारीसँग भेट हुन सकेन । भ्रमणका अवसरमा धुलिखेल आसपास भएका स्रोत र पनौतीमा भएका स्रोतहरू पनि हेर्ने अवसर मिल्यो । स्रोतहरू पर्याप्त नै भए पनि उपयोग गरिएको अवस्था देखिएन ।

यो आयोजनाको कार्यान्वयन गर्ने निकाय शहरी विकास तथा भवन निर्माण विभाग रहेको र सो आयोजना हेर्ने पछिल्ला आयोजना प्रमुख भनेर तोकिएका सिनिएर डिभिजनल इञ्जिनियर श्री प्रतिज्ञा मानन्धरसँग परामर्स गर्दा एसियाली विकास बैंकको ऋणको अवधि सकिएको र नेपाल सरकारले बजेट नै उपलव्ध नगराएकाले अब आयोजना नगरपालिकाले नै सञ्चालन गर्नुपर्छ भनेर निरासाजनक कुरा राख्नुभयो । त्यत्रो विशेषज्ञ टोलीले अलपत्र छाडेको आयोजना नगरपालिकाहरूले कसरी सम्पन्न गर्ने ?

परामर्शदात्री Building Design Authority (BDA), TAEC and Integrated Consultant का टोली नेता नरेन्द्रकुमार बरालसँग परामर्श गर्दा निर्माण काम करिब ९५ प्रतिशत सकिएको निर्माण व्यवसायीले पानी परीक्षण गर्न नमानेका कारण पानी सप्लाई हुन सकेन भन्ने जवाफ पाइयो । आयोजना कार्यान्वयन गर्ने निकाय शहरी विकास तथा भवन निर्माण विभागका आयोजना प्रमूख प्रतिज्ञा मानन्धर परामर्शदात्रीका टोली नेता नगरपालिका तथा कार्यान्वयन निकायका पदाधिकारीहरूसँग बुझ्दा ठेक्कापट्टा सम्झौताको स्पेसिफिकेसनमा १० के.जी. प्रेसरमा पानी परीक्षण गर्नुपर्ने लेखिन गएको तर खासमा पानी परीक्षण २५ के.जी.प्रेसरमा गर्नुपर्ने कारणले गर्दा कार्यालय र निर्माण व्यवसायीबीच विवाद उत्पन्न भई निर्माण ब्यवसायीले पानी परीक्षण गर्न नमानेको बुझिन आयो ।

एसियाली विकास बैंक, नेपाल सरकार, शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग, नगर विकास कोष र तीनवटा नगरपालिका (धुलिखेल बनेपा तथा पनौती) हरूको संयुक्त प्रयासमा कार्यान्वयनमा रहेको र करिब रु.७३ करोड जति रकम खर्च भई लगभग सम्पन्न भएको आयोजना त्यतिकै अलपत्र रहनु ज्यादै दुःखको विषय बनेको छ । नगरपालिका पनौती, बनेपा तथा धुलिखेल नगरपालिकाहरू प्रत्येकले रु.१२ करोड ०१ लाख १७ हजार गरी जम्मा रु.३६ करोड ०३ लाख ५१ हजार रकम नगर विकास कोषबाट पाँच प्रतिशत ब्याजसहित फिर्ता गर्ने सर्तमा नगरपालिकाहरूले ऋण लिएका छन् । सो ऋणको किस्ता बुझाउने समय आइसक्दा पनि धाराबाट पानी सञ्चालन हुनसकेको छैन । नेपाल गुणस्तर अनुसारको पानी २४सै घण्टा वितरण गर्ने लक्ष राखेर कार्यान्वयनमा आएको आयोजना यसरी अलपत्र परेपछि त्यहाँका उपभोक्ता ज्यादै मर्कामा परेका र नगरपालिकाहरूले नगर विकास कोषमा ऋण रकम कसरी फिर्ता गर्ने साथै गुणस्तरीय पानीको सेवा आफ्ना जनतालाई कसरी प्रदान गर्ने भन्ने चिन्ताको विषय भएको छ ।

संयुक्त राष्ट्रसंघले विश्व पानी दिवस २०२३ को नारा ‘विश्व पानी दिवस परिर्वतनलाई तीव्रता प्रदान गरौं’ राखेको छ । यसको अर्थ दिगो विकासको लक्ष नं ६ ले परिलक्षित गरेका उद्देश्यहरू परिपूर्ति गर्न खानेपानी, ढल निकास तथा सरसफाइ सेवाका पूर्वाधार निर्माणमा गति दिनुपर्नेमा सन् २०१३ मा कार्यान्वयन सुरु गरिएको एकीकृत काभ्रे उपत्यका खानेपानी आयोजना करिब ७३ करोड रुपैयाँ खर्च भएर पनि कार्यान्वयन गर्ने केन्द्रीय सरकारी निकायहरूको अकर्मण्यता तथा उदासिनताका कारण निर्माण अपूरै छ ।

विश्व पानी दिवस २०२३ को नारा ‘परिवर्तनमा गति’ लाई मार्ग दर्शन मानेर यस्ता अलपत्र खानेपानी तथा सरसफाइका आयोजनामा शीघ्र ध्यान पुयाई निर्माणको गति बढाई सम्पन्न गरी सेवा प्रदानमा सम्बन्धित निकायको ध्यान जाओस् भन्ने कामना गर्दछु । विश्व पानी दिवसको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?