दिक्तेलको चिल्ड्रेन पार्कका फलामे संरचनामा खिया लाग्यो, पार्क भयो घाँसे मैदानमा परिणत

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलबजारमा निर्माण गरेको चिल्ड्रेन पार्कको संरचनामा खिया लागेको छ । सपिङ कम्प्लेक्ससहित २०७८ फाल्गुण ३ गते निर्माण सम्पन्न भएको चिल्ड्रेन पार्क नगरपालिकाले संञ्चालन गर्न नसक्दा फलामे संरचनाहरुमा खिया लागेको छ । पार्कको जमिनमा झार पलाएको छ ।

चिल्ड्रेन पार्कको विधुतीय पीङ, सामान्य पीङ, घोडा सवार, कोलम्बसमा खिया लागेको छ । स्वीमिङ पुलमा कालो पानी जमेको छ । त्यही पानीमाथि खाली बोतल, प्लाष्टिक र कार्टुनहरु तैरिएका छन् ।

चिल्ड्रेन पार्कभित्रको संरचना वरपर विभिन्न किसिमका झारहरु पलाएर पार्क घाँसे मैदानमा परिणत हुंदै गएको छ । उजाड बनेको छ । पार्कभरी यत्रतत्र पानीका खाली बोतल, सिसाहरु छरिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको २ करोड ५७ लाख र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १ करोड ८० लाख ८४ हजार ७५१ रुपैयाँ गरी ४ करोड ३७ लाख ८४ हजार ७५१ रुपैयाँमा चिल्ड्रेन पार्क र पहिलो तलामा १४ वटा सटर, माथिल्लो तलामा छ वटा सटर बराबरको एकवटा रेष्टुरेन्ट हल र स्टलका लागि पाँचवटा कोठा भएको सपिङ कम्प्लेक्स निर्माण गरिएको थियो ।

भाडामा लागेन चिल्ड्रेन र्पाक,रेष्टुरेण्ट हल र स्टल

सपिङ कम्प्लेक्सको पहिलो तलाको १४ वटा सटर केही समय अघिबाट भाडा लागे पनि चिल्ड्रेन पार्क, रेष्टुरेन्ट हल र पाँच वटा स्टल नगरपालिकाले भाडामा लगाउन सकेको छैन । भाडामा नलाग्दा नगरको संरचना त्यतिकै थन्किएको छ ।

नगरपालिकाले चिल्ड्रेन पार्कको एकवटा रेष्टुरेन्ट हललाई न्यूनतम मासिक २५ हजार, पाँचवटा स्टलहरु प्याकेजमा २५ हजार र चिल्ड्रेन पार्कको ३० हजारमा बहाल भाडामा लगाउने भनि माघ २९ गतेदेखि फाल्गुण ८ गतेसम्म नौ दिने सूचना आव्हान गरेको थियो । तर, इच्छुक व्यक्ति, इजाजत प्राप्त फर्म, संस्था र कम्पनी कसैले ठेक्का नहालेको नगरपालिकाले जनाएको छ ।

प्रथम पटक प्रकाशित सिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना अनुसार कसैले ठेक्का नहालेपछि नगरपालिकाले पुनः चैत ३ गतेदेखि १२ गतेसम्म ठेक्का आव्हानको अर्को सूचना निकालेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?