पानीको व्यवस्थापनबिना दिगो विकास असम्भव

Read Time = 6 mins

काठमाडौं । ‘परिवर्तनलाई गति देऊ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व पानी दिवस मनाइएको छ । सन् १९९३ देखि मार्च २२ तारिखलाई विश्वभर पानी दिवसका रूपमा मनाउन थालिएको हो । नेपालका सन्दर्भमा समेत यसपटकको नारा निकै सान्दर्भिक रहेको भन्दै जलवायु परिवर्तनको असर न्यूनीकरण गर्दै खानेपानीको संरक्षण, संवद्र्धन र प्रभावकारी वितरणमा जोड दिनुपर्ने विज्ञहरूले बताएका छन् ।

सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स नेपाल (सोफेन) आयोजना र खानेपानी मन्त्रालय र खानेपानी तथा ढल व्यवस्थापन विभागको सहआयोजनामा बुधबार भएको कार्यशालामा दिगो विकास लक्ष्य प्राप्तिका लागि खानेपानी तथा सरसफाइ क्षेत्रमा लगानी बढाउनुपर्ने विज्ञहरूले बताएका छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले खानेपानी र सरसफाइ अन्य क्षेत्रजस्तै विकास निर्माणमा पनि जोडिएकाले दिगो विकास लक्ष्यमा पुग्न खानेपानी र सरसफाइको क्षेत्रलाई पनि सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । सरकारको एक्लो प्रयासले मात्रै दिगो विकास लक्ष्यमा पुग्न नसकिने भन्दै निजी क्षेत्रले लगानी बढाउनुपर्ने उहाँले बताउनुभयो । खानेपानी र सरसफाइको क्षेत्रमा १५ वर्षसम्म वार्षिक २० अर्ब रुपैयाँ खर्च गर्नुपर्ने उहाँको भनाइ थियो । डा. वाग्लेले भन्नुभयो, ‘एसडिजीका लागि राज्यले मात्रै लगानी गर्ने होइन, निजी क्षेत्र र समाजले पनि लगानी गर्नुपर्ने हुन्छ । एसडिजीका लागि डिजिपीको ५० प्रतिशत लगानी आवश्यक हुन्छ ।’

पूर्वमन्त्री साहले एडिजीमा एसटिआई (साइन्स, टेक्नोलोजी र इन्नोभेसन) लाई पनि जोड्नुपर्ने बताउनुभएको छ ।

खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले खानेपानीभन्दा पनि सरसफाइ व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै सामूहिक पहल र प्रयासले मात्रै खानेपानी र सरसफाइ क्षेत्रले गति लिन सक्ने बताउनुभयो । पूर्वमन्त्री तथा सोफेनका ब्राण्ड एम्बेसडर गणेश साहले एडिजीमा एसटिआइ (साइन्स, टेक्नोलोजी र इन्नोभेसन) लाई पनि जोड्नुपर्ने बताउनुभयो । तथापि नेपालमा इन्नोभेसनको अवस्था दयनीय रहेको भन्दै उहाँले इन्नोभेसनमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । पूर्वमन्त्री साहले खानेपानी तथा सरसफाइ क्षेत्रको विकासका लागि अन्य सरोकारवाला निकायका साथै राष्ट्रपतिको समेत ध्यानाकर्षण गराउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘खानेपानी र सरसफाइ क्षेत्रमा गरिएको लगानीले समृद्धि ल्याउँछ, त्यसैले यसमा सबै सरोकारवाला निकायको ध्यान जानुपर्छ, वास अभियानलाई सातवटै प्रदेशमा लैजानुपर्छ ।’ सो अवसरमा एसएनभी प्रतिनिधि नदिरा, सोफेन अध्यक्ष अनिलभद्र खनाल, महासचिव राजीव जोशीलगायतले पनि खानेपानी तथा सरसफाइ क्षेत्रका समस्या र चुनौतीबारेमा चर्चा गर्नुभएको थियो ।

पानी दिवसकै अवसरमा खानेपानी मन्त्रालयको समन्वयमा स्मार्ट वास सोलुसन्स र वाटर एड नेपालले वर्षातको पानी संकलन, पानी सुरक्षण र जलवायु परिवर्तनका असरको सम्बोधन विषयक राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । दिगो विकास लक्ष्यले सबैका लागि स्वच्छ पानी र सफाइको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिश्चित गर्ने उल्लेख गरेको छ । २०३० सम्म विश्वका सबै जनसंख्यालाई स्वच्छ खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराउने उद्देश्यले संयुक्त राष्ट्रसंघले दिगो विकास लक्ष्य प्रतिपादन गरेको हो । सन् २०१६ जनवरी १ देखि सुरु भएको दिगो विकास एजेण्डा सन् २०३० सम्म रहनेछ । दिगो विकास लक्ष्यका कार्यक्रमअन्तर्गतको छैटौँ लक्ष्य हासिल गर्न नेपालले १५औँ पञ्चवर्षीया योजना (२०७६/०७७-२०८०/०८१) मा पानीका उपलब्ध स्रोतको संरक्षण, संवद्र्धन र किफायती उपयोग गर्ने नीति, रणनीति तय गरेको छ । जसअन्तर्गत सतहको पानी संरक्षण, वर्षातको आकाशे पानी संकलन, भूमिगत पानीको पुनर्भरण गरी उच्चतम उपयोग गर्ने नीति लिइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?