‘विकासका लागि पूर्वाधार क्षेत्रमा लगानी बढाउनुपर्छ’

Read Time = 4 mins

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकासका लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताउनुभएको छ । एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको अन्तर्राष्ट्रिय संगठन (इफाप्का) र नेपाल निर्माण व्यवसायी महासंघले संयुक्तरूपमा बिहीबार राजधानीमा गरेको अन्तरक्रियामा उहाँले यस्तो बताउनुभएको हो ।

पर्याप्त लगानीबाहेक निर्माण उद्योगमा गुणस्तर अभाव तथा समयमा परियोजना नसकिने परिपाटी देखिएको मन्त्री श्रेष्ठको भनाइ छ । पूर्वाधारमा लगानी विषयक अन्तरक्रियामा उहाँले परम्परागत शैलीमा काम गरेका कारण पनि नेपालको निर्माण उद्योगमा चुनौती थपिएकाले अब नयाँ शैलीमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

निर्माणमैत्री ऐन कानुन नहुँदा निर्माण उद्योगमा समस्या देखिएको स्वीकार गर्दै समयसापेक्ष ऐन कानुन बनाउन निर्माण व्यवसायी महासंघ जस्ता संस्थाको महत्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायातको क्षेत्रमा विकास गर्न आफूले विभिन्न कार्यदल गठन गरी काम थालिसकेको जानकारी गराउँदै मन्त्री श्रेष्ठले आफू सबैसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

इफाप्काका समेत अध्यक्ष रहनुभएका महासंघ अध्यक्ष रवि सिंहले नेपालमात्र नभई विश्वभरि नै दिगो पूर्वाधार विकासको आवश्यकता बढ्दै गएको बताउनुभयो । तर, कमजोर वित्तीय अवस्था तथा प्रविधिका कारण नेपालजस्ता मुलुकलाई दिगो विकासको लक्ष्य हासिल गर्न कठिन भएको उहाँको भनाइ छ । इफाप्काका महासचिवसमेत रहनुभएका महासंघका सल्लाहकार वीरेन्द्रराज पाण्डेले ४६औँ इफाप्का सम्मेलन आगामी मंसिर ४ देखि ८ सम्म काठमाडौंमा आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

इफाप्काका कार्यकारी निर्देशक लेभी भी एसपिरितुले पूर्वाधारको क्षेत्रमा आ-आफ्नो अनुभव आदानप्रदान गर्न यस्ता कार्यक्रम निकै उपयोगी हुने बताउनुभयो । विश्व वन्यजन्तु कोष नेपालका डा. घनश्याम गुरुङले नेपालमा द्रुतगतिमा पूर्वाधार निर्माण भइरहेकाले दिगो तथा गुणस्तरीय निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रमका मुख्य वक्ता एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष डा. बिन्दुनाथ लोहनीले ठूलो आर्थिक वृद्धि चाहने हो भने पूर्वाधारमा गरिने लगानीमा पनि वृद्धि गर्नुपर्ने बताउनुभयो । आगामी दिनमा शहरी विकासलाई प्राथमिकता दिँदा हरित पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । नेपालका वाणिज्य बैंकले दीर्घकालसम्म लगानी गर्न नसक्ने भन्दै उहाँले विश्व बैंक, एसियाली विकास बैंक, पूर्वाधार विकास बैंकमार्फत् लगानी ल्याउँदा फाइदाजनक हुने सुझाव दिनुभयो । सम्मेलनमा विज्ञबीच सार्वजनिक निजी साझेदारीका विविध आयाम, खरिद कानुन, इपिसी कन्ट्र्याक्ट, दिगो पूर्वाधारका सम्भावना र चुनौतीलगायतका विषयमा छलफल भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?