क्षयरोगमुक्त अभियान नारामै सीमित

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 7 mins

पाल्पा । पाल्पा तिनाउ गाउँपालिका कचलकी ४८ वर्षीया विष्णुु सारु (नाम परिवर्तन) लाई एक वर्षदेखि सुक्खा खोकी लाग्यो । खोकीले धेरै सताएपछि उहाँले नजिकैको फार्मेसीबाट औषधि किनेर खान थाल्नुुभयो । तर, खोकी घट्नुको साटो झन् बढ्दै गयो । उहाँ सुतेको ठाउँबाट उठ्नै नसक्ने हुनुुभयो । ज्यान सुकेर ३५ किलोको भयो । त्यसपछि उहाँ धामीकहाँ पुग्नुुभयो । घर बिग्रिएर पो यस्तो भयो कि भनेर परिवारको सल्लाहमा देउतालाई भाकल पनि गर्नुभयो । तर, उहाँको अवस्था दिनदिनै बिग्रिन थाल्यो । सुकेको शरीर, बाहिर निस्केलान् जस्ता पिर्लिक्क परेका आँखा, एकोहोरो खोकेको देख्नेबित्तिकै सारुका छिमेकीले उहाँलाई क्षयरोग लागेको शंका गर्दै तुरुन्तै स्वास्थ्य चौकी लैजान सुझाव दिए । नभन्दै सारुलाई स्वास्थ्य चौकी लगेर जाँच गराउँदा सुक्खा क्षयरोग भएको पत्ता लाग्यो । पाँच महिना नियमित औषधि खाएपछि भने उहाँको अवस्थामा धेरै सुधार आयो । ‘खोकी लाग्न थालेपछि प्राण नै निस्केला जस्तो हुन्थ्यो । हिँड्डुल गर्न र ओछ्यानबाट उठेर दिसा-पिसाब गर्न जान पनि सक्दिनथेँ,’ सारु भन्नुुहुुन्छ, ‘जिउ र हात दुखेर राती निद्रा लाग्दैनथ्यो । मेरो हालत र ज्यान देखेर छरछिमेकी कसैले बाँच्छे भनेनन् ।’

यस्तै, रैनादेवी छहराकी मिना कुमाल पनि क्षयरोगबाट ग्रसित हुुनुुहुुन्छ । उहाँलाई पहिलोपटक १८ वर्षअघि क्षयरोग भएको थियो । दुई वर्षअघि फेरि बल्झियो । पहिलोपटक क्षयरोग हुँदा उहाँले ६ महिना औषधि खाँदा निको भएको थियो । तर, बल्झिएपछि पहिले जस्तो छिटो निको भएन । उहाँले नौ महिना औषधि खानुपर्‍यो । खाने औषधिले मात्रै निको भएन, सुई पनि लगाउनुपर्‍यो । त्यसपछि अहिले उहाँको अवस्थामा केही सुुधार आएको छ ।

सारु र कुमाल केही उदाहरणमात्र हुन् । पाल्पामा क्षयरोगले विगतदेखि नै धेरैलाई सताउँदै आएको छ । १० वर्षअघिसम्म त यस जिल्लामा क्षयरोग ठूलै स्वास्थ्य समस्याका रूपमा थियो । अहिले पनि जिल्लामा करिब ६ सय ३५ जना क्षयरोगी रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको तथ्यांकमा छ । बिरामीले समयमा परीक्षण नगराउने, नियमित औषधि नखाने जस्ता कारणले क्षयरोग नियन्त्रण हुन सकेको छैन । क्षयरोग बल्झिने समस्या पनि उस्तै छ ।

जिल्लामा विगत १० वर्षको तथ्यांकलाई हेर्दा अहिले कम देखिए पनि सन्तोषजनक भने नरहेको जिल्ला स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन विश्वनाथ न्यौपानेले बताउनुुभयो । यहाँ १० वर्षअघि ४३१ देखि ४४३ सम्म क्षयरोगका बिरामीहरू हुने गरेको भए पनि आर्थिक वर्ष २०७८/०७९ मा ३४५ जना रहेका छन् । चालुु आर्थिक वर्षको फागुुन १५ सम्मको तथ्यांकअनुसार जिल्लामा १४२ जना क्षयरोगका बिरामी भेटिएका छन् । जिल्लामा आर्थिक वर्ष २०६५/०६६ देखि आर्थिक वर्ष २०७९/८० को चैत ९ गतेसम्म आइपुुग्दा पाँच हजार ५८१ जनामा क्षयरोग लागेको स्वास्थ्य कार्यालय पाल्पाका तथ्यांक अधिकृत विपिन पञ्जियारले बताउनुुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा क्षयरोगबाट १६ र आर्थिक वर्ष २०७८/०७९ मा २१ जनाको मृत्युु भएको छ ।

विगतको तथ्यांकलाई हेर्दा अहिलेको दर कम भए पनि लक्ष्यअनुरूप बिरामी बढी नै रहेको फोकल पर्सन न्यौपानेले बताउनुुभयो । स्वास्थ्य कार्यालयले २०३५ सम्ममा जिल्लालाई नगन्यरूपमा लैजाने लक्ष्य राखे पनि पूरा हुनेमा शंका गर्न थालिएको छ ।

क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने, माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामको सूक्ष्म कीटाणुबाट हुने सरुवा रोग हो । जसको समयमा परीक्षण गराएर औषधि नियमित खानुपर्छ । तर, पाल्पामा क्षयरोगका बिरामीले औषधि नियमित नखाइदिँदा रोगको रोकथाममा चुनौती थपिएको छ । क्षयरोगका बिरामीहरूले लामो अवधिसम्म उपचार केन्द्रमा आई दैनिक औषधि सेवन गर्नुपर्ने हुन्छ तर यसलाई झन्झट मानेर धेरै बिरामी नियमितरूपमा औषधि सेवन गर्दैनन् । अर्कातिर, सिकिस्त बिरामी नपरी स्वास्थ्य परीक्षण नगराउने र रोग लुकाएर राख्ने जस्ता कारणले क्षयरोगीको संख्या घट्न सकेको छैन । एकजना संक्रमित बिरामीबाट २० जनासम्ममा क्षयरोग सर्न सक्ने सम्भावना हुन्छ । क्षयरोगसँग मिल्दोजुल्दो लक्षण देखिनेबित्तिकै परीक्षण गराइहाल्नुपर्नेमा त्यसो नगर्दा क्षयरोग फैलिने गरेको छ । अहिले पाल्पासहित देशैभर क्षयरोग चुनौतीपूर्ण देखिएको छ ।

राजनीतिक दलहरूले क्षयरोगमुक्त नेपाल घोषणा अभियान कार्यक्रमलाई सफल बनाउन प्रतिबद्धतासमेत जनाएका थिए । तर, प्रतिबद्धताअनुरूप दलहरू संवेदनशील देखिँदैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारले क्षयरोग रोकथाममा बजेट खर्च गरे पनि उपलब्धि निराशाजनक देखिन्छ । हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामी पत्ता लाग्ने गरेको पाइन्छ । बर्सेनि करोडौँ बजेट विनियोजन गरिए पनि सो रकम क्षयरोग रोकथाममा भन्दा पनि कार्यक्रम केन्द्रित र औषधिमा मात्रै खर्च हुँदा अभियान प्रभावकारी बन्न सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?