उपाधिका लागि मनाङ र सुदूरपश्चिम–११ भिड्दै

हिमालय टाइम्स
Read Time = 3 mins

बुटवल । बुटवलमा जारी तिलोत्तमा गोल्डकपको उपाधिका लागि मनाङ-मस्र्याङ्दी क्लब र सुदूरपश्चिम-११ भिड्दै छन् । उपाधिका लागि फाइनल खेल शनिबार हुनेछ । अन्तिम सेमिफाइनल खेलमा मनाङ-मस्र्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दै सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो ।

निर्धारित समयमा दुई-दुई गोल बराबरीमा टुंगिएको खेलको ट्राइब्रेकरमा फ्रेन्ड्स क्लबका असिम भुसाल र डोना थापाले प्रहार असफल भएपछि मनाङको जित सुनिश्चित भएको हो । जसमा मनाङ ४-३ गोलले विजयी भयो । खेलको सुरुवाती अग्रता भने फ्रेन्ड्स क्लबले लिएको थियो । पहिलो हाफको सातौं मिनेटमा फ्रेन्ड्सका रफिक अमिनोले गोल गर्नुभएको थियो । खेलको २६औं मिनेटमा लक्ष्मण रुचालको क्रसमा उत्तम राईले गोल गर्दै टिमलाई २-० को अग्रता दिलाउनुभयो ।

पहिलो हाफको इन्जुरी समयमा मनाङका आशिष गुरुङले गोल गर्दै टिमलाई २-१ को स्थितिमा ल्याउनुभयो । पहिलो हाफसम्म २-१ को अग्रता बनाएको फ्रेन्ड्स क्लब दोस्रो हाफको दुई मिनेटमै गोल खान पुग्यो । मनाङका प्रशन्न श्रेष्ठले बराबरी गोल गर्नुभयो । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र नजिता ट्राइबेकरबाट लिइएको थियो ।असिमको प्रहार गोलपोष्टको माथिल्लो भागमा ठोक्किएर बाहिरिएको थियो भने डोनाको प्रहारलाई विपक्षी किपरले फर्काएर असफल बनाइदिनुभयो । पछिल्लोे खेलमा मनाङका क्याप्टेन आशिष गुरुङ म्यान अफ दि म्याच घोषित हुनुभयो ।

मनाङले गोल्डकपको उपाधिका लागि अब सुदूरपश्चिम-११ सँग चैत ११ गते प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका विजेताले ११ लाख ११ हजार १११ र उपविजेताले पाँच लाख ५५ हजार ५५५ नगद पुरस्कार पाउने संघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?