सुनचाँदी व्यवसायीद्वारा राष्ट्रपतिको ध्यानाकर्षण

Read Time = 3 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनचाँदी व्यवसायलाई घरेलु उद्योगका रूपमा विकास गर्न सकिने बताउनुभएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रतिनिधिमण्डलसँग शुक्रबार भएको भेटमा राष्ट्रपति पौडलले सुनचाँदी व्यवसायलाई घरेलु उद्यमका रूपमा विकास गर्न सकिए धेरै लाभ लिन सकिने बताउनुभएको हो ।

महासंघ अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको महासंघसँगको भेटमा राष्ट्रपति पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्थाले आफूलाई चिन्तित बनाएको भन्दै घरेलु श्रम र सीप प्रयोग गरी व्यवसाय सञ्चालन गर्दा राज्य, व्यवसायी र आमउपभोक्ता सबैलाई फाइदा पुग्ने बताउनुभयो । मुलुकको आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ-आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने उहाँको भनाइ छ । राष्ट्रपति पौडेलले भन्नुभयो, ‘सरकारले पूर्णता पाइसकेको छैन । सरकारले पूर्णता पाएलगत्तै अर्थतन्त्रलाई मजबुत र प्रभावकारी बनाउन आवश्यक परामर्श गर्नेछु ।’

वर्तमान संकट समाधानका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने, मुलुकभित्र उत्पादन वृद्धि एवं रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।

महासंघ अध्यक्ष शाक्यले आर्थिक विकास र समृद्धिका लागि सुनचाँदी व्यवसायीतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘कच्चा पदार्थ अभावमा व्यवसायीले समस्या झेल्नुपरेको छ । पर्याप्त कच्चा पदार्थ आयात सुनिश्चित गरी नेपाली गरगहना निर्यात प्रवद्र्धनमा ध्यान दिनुपर्छ । पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवं सर्वसाधारण ऋणीमा गम्भीर असर गरेको भन्दै उहाँले त्यसतर्फ पनि राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?