गणतन्त्र नेपालमा पहिचानको अधिकारका लागि लडेकाको हत्या हुनु अत्यन्तै दु:खद : अशोक राई

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद अशोक राईले प्रदेश १ को नाम कोशी राख्ने निर्णयको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिरहेका पदमकुमार लिम्वुको प्रहरीको लाठी प्रहारबाट ज्यान गएकोमा आपत्ति जनाउनु भएको छ ।

आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले आन्दोलनरत लिम्बुको प्रहरीको लाठी प्रहारबाट गम्भिर घाइते भई ज्यान गएको उल्लेख गर्दै त्यस्ता खालको अमानवीय ज्यादति रोक्न सरकारसँग माग समेत गर्नु भयो । गणतन्त्रमा पहिचानको अधिकार स्थापित गर्नका लागि शान्तिपूर्ण आन्दोलन गरिरहेकाहरुमाथि सरकारको दमनबाट ज्यान जानु अत्यन्तै निन्दनीय काम भएको उल्लेख गर्दै उहाँले आईन्दा यस्ता खालका घटना नदोहो¥याउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसद राईले भन्नु भयो, ‘प्रदेश नम्बर १ को नाम कोशी प्रदेश राख्ने निर्णय भएपछि सो नामको विरोधमा प्रचण्ड, तीव्र विरोध र संघर्षको कार्यक्रम चलिरहेको कुरा सर्वविदितै छ । यही विरोध कार्यक्रमको शिलशिलामा गएको चैत्र ५ गते विराटनगरमा आयोजित शान्तिपूर्ण विरोध प्रर्दशनमा बर्बर ढंगले प्रहरीको प्रहार हुने अवस्था देखियो । र, सो दिन प्रर्दशनकारीहरु मध्ये यो संयुक्त संघर्ष समितिका एक जना सक्रिय नेता पदमकुमार लिम्वुको उहाँ संघीय लिम्बुवान मञ्चका नेता पनि हुनुहुन्थ्यो । उहाँको टाउकोमा गम्भिर ढंगले लाठी प्रहार हुन गएको थियो । र, उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चैत्र १० गते २ बजेर ४५ मिनेट जाँदा उहाँले सहादत प्राप्त गर्नु भएको छ । उहाँले देहत्याग गर्नु भएको छ । यो अत्यन्तै दुखद र गम्भिर घटना हुन गएको छ । यसप्रति सभामुखज्युमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । प्रदेश नम्बर १ को सरकारसमेतको ध्यानाकर्षण गराउन चाहन्छु । मृतक सहिद पदमकुमार लिम्वुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । र, परिवारजनमा समवेदना व्यक्त गर्न चाहन्छु । यस किसिमका दुखद घटनाको श्रृखंलाको अन्त कहीँ पनि भईरहेको छैन । संविधान जारी गर्ने शिलशिलामा भएको विरोध कार्यक्रम जसलाई मधेश आन्दोलन भनिन्छ । त्यो शिलशिलामा ५९ जना सहीद भएका थिए । उनीहरुले आफ्नो अधिकारका निम्ति जीवन बलिदान गरेका थिए । त्यो श्रृखला रोकियोस भन्ने हाम्रो चाहना हो । शान्तिपूर्ण ढंगले जनताले आफ्नो अधिकार माग्नु, आफ्नो पहिचान माग्नु उसको नैसर्गिक अधिकार हो । गणतन्त्र नेपालमा पहिचानको अधिकारका लागि लडेका लिम्वुको हत्या हुनु अत्यन्तै दुखद छ । निन्दनीय छ । तसर्थ, यस किसिमको ज्यादति रोक्न, अन्त्यका गर्नका निम्ति सरकारलाई म आग्रह गर्न चाहन्छु ।’

संघीय लिम्बुवान मञ्चका नेता समेत रहनु भएका लिम्बुको विराटनगरमा आन्दोलनको क्रममा प्रहरीको लाठी चार्जबाट टाउकोमा गम्भिर चोट लागेको थियो । उहाँले चैत्र १० गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचारको क्रममा निधन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?