एक सय चालीस वर्षपछि बेइजिङमा भीषण वर्षा, १३ करोड नागरिक प्रभावित

Read Time = 4 mins

बेइजिङ । चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा १४० वर्षपछि भएको मौसमविज्ञान विभागका अधिकारीले बताएका छन् । बेइजिङ मौसमविज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो ।

राजधानी र आसपासका क्षेत्रमा शनिबारदेखिको मूसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् । वर्षाको यो अभिलेख विगत ४० घण्टाको हो । राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा नौ लाख ७४ हजार चार सय जना विस्थापित भएका छन् । वर्षामा कमी आएसँगै नदीमा जलस्तर पनि घट्दै गएको छ । अधिकारीहरूले जोखिमसूचक तहबाट पानीको सतह तल झरेको बताएका छन् । साथै उनीहरूले सर्वसाधारणलाई सचेत गराउने चेतावनीका सूचना पनि हटाएका छन् ।

बाढीपहिरोमा परी कम्तीमा २० जनाले ज्यान गुमाएका छन् भने कैयौं घाइते भएका छन् । राजधानीका एक लाख बाढीपीडितको उद्धार गरिएको छ भने रेलमा अलपत्र परेका यात्रीलाई हेलिकप्टरबाट खानेकुरा खसाएर सहयोग गरिएको थियो । साथै उनीहरूलाई सैनिक जवानले उद्धार गरेका थिए । उद्धारका क्रममा मंगलबार दुईजनाले बेइजिङमा ज्यान गुमाएको बताइएको छ ।

बाढीबाट उत्पन्न समस्या समाधान गर्न एकसठ्ठी करोड डलर
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको संगठन विभागले बेइजिङ, हेबेई, टियानजिनमा बाढीबाट उत्पन्न समस्या समाधान गर्न ६१ करोड ७० लाख अमेरिकी डलर विनियोजन गरेको छ । उक्त चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका सदस्यबाट सदस्यता शुल्कबापत संकलन गरिएको हो । केन्द्रीय समितिको संगठन विभागले सदस्यता रकम व्यवस्थापनका साथै कोष सञ्चालन गर्दै आएको छ ।

विभागले बाढी नियन्त्रण तथा विपद् व्यवस्थापन, पीडित परिवारलाई सहयोग, सर्वसाधारणको जीवन र सम्पत्तिको सुरक्षा, समग्र सामाजिक स्थायित्वको सुनिश्चितताका निम्ति सहायता रकम प्रदान गरेको हो ।

विभागले पार्टीका सबै तहका कार्यकर्तालाई नागरिक सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ । केन्द्रीय समितिको संगठन विभागले अग्रपंक्तिमा काममा खटिएका तथा बाढीबाट गम्भीर समस्यामा परेकालाई तत्काल सहयोग हुनेगरी कोष विनियोजन गर्नुपर्नेमा जोड दिएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?