मन्त्री भएपछि मात्र थाहा पाएँ देश जहाँ छोयो त्यहीँ फाटेको रहेछ : मन्त्री किराँती

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देश सोचे भन्दा फरक रहेको बताउनुभएको छ ।
सोमवार काठमाडौंमा आयोजित ६२ औं रंगमञ्च दिवसको अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले देश जहाँ छोयो त्यहीँ नै फाटेको बताउनु भयो ।

उहाँले १० वर्ष सांस्द भइसक्दा आफूले देशको बारेमा सबैकुरा बुझेको जस्तो अनुभव भएपनि मन्त्री बनेर काम गरिरहँदा सोचेभन्दा धेरै फरक पाएको बताउनु भयो । मन्त्री किराँतीले आफू व्यक्तिको परीक्षामा भन्दा युगको परीक्षा चरणमा रहेकाले असफल हुने छुट नरहेको पनि बताउनु भयो । उहाँले आफू फेल भए युग र व्यवस्था नै फेल हुने बताउनु भयो । मन्त्री किराँतीले नेपालमा धेरै विदेशका कुरा हुने तर स्थानीय सोच र उत्पादनहरुको स्थान नहुँदा पछि परिरहेको बताउनु भयो । उहाँले बेरोजगार भएर मात्रै विद्यार्थीहरु विदेश जाने नगरेको भन्दै नेपालको शिक्षामा नै विष हालेको बताउनु भयो । उहाँले विद्यार्थीहरुलाई शिक्षा दिँदा नै स्वदेशी संस्कृति र शिक्षामा स्वदेशी सपनाको मृत्यु हुने विष हालेको उल्लेख गर्नुभयो ।

मन्त्री किराँतीले भन्नुभयो, ‘देश जहाँ छोयो, त्यहीँ फाटेको छ, बनाउन सजिलो छैन । १० वर्ष सांसद भएर जति बुझेका थिएँ, बुझेजस्तो लाग्थ्यो, मन्त्री भएर कुर्सीमा आएर जे देखेँ, जे देख्दैछु, देश अर्कै रहेछ । अझै अर्को रहेछ । म बस्ने कुर्सी आगोको कुर्सी हो, मैले कुदाउने घोडा बाघको घोडा हो हात्तिको होइन । हामी युगको परीक्षा दिँदैछौँ । व्यक्तिको होइन । हामी फेल भयौँ भने युग फेल हुन्छ । व्यवस्था फेल हुन्छ । हामीले बरु विदेशको धेरै कुरा गरेका छौँ, स्वदेशको कुरा गरेनौँ । स्थानीय सोचहरुलाई प्राथमिकता दिएनौँ । १२ कक्षा पढेपछि नेपाली विद्यार्थीहरु विदेश जान्छन्, किनभन्दा रोजगार छैन भनेर होला जस्तो लाग्थ्यो तर होइन रहेछ । हामी त बेरोजगार भएर मात्रै विदेश गएका होइन रहेछौँ, सुखपूर्ण जीवन छोडेर पनि विदेश जानुको कारण हाम्रो शिक्षामा विष परेको छ । स्वदेशको सपना मरिसकेछ हाम्रो शिक्षा र संस्कृतिमा । शिक्षा र संस्कृतिमा हामीले स्वदेशी सपनाको मृत्यु हुने विष हालिसकेका रहेछौँ ।’

मन्त्री किराँतीले नेपालमा स्वदेशी सपनालाई मर्न नदिनेगरी काम हुन जरुरी रहेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?