उपाधि जित्ने दुवै टोलीको दाबी

हिमालय टाइम्स
Read Time = 5 mins

विराटनगर । सातौँ संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेलु टिम विराटनगर सिटी (बिसिएफ) उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । शहीद रंगशालामा बिहीबार साँझ हुने फाइनलमा केरलाको लुका सकर पहिलोपटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने घरेलु टोली विराटनगर ६१ वर्षपछि दोस्रोेपटक गोल्डकपको उपाधि हात पार्ने दाउमा छ ।

विराटनगरले पूर्वविजेता टिम नेपाल पुलिस र जावलाखेललाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । विराटनगरले क्वाटरफाइलनमा नेपाल पुलिसलाई एक-शून्य गोलले र सेमिफाइनलमा जावलाखेललाई दुई-एक गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

यस्तै, विराट गोल्डकपमा पहिलोपटक भाग लिएको केरलाले क्वाटरफाइनलमा संकटा क्लबलाई सडनडेथमा आठ-सात गोलले पन्छाउँदै अन्तिम चारको यात्रा गरेको थियो । सेमिफाइनलमा केरलाले साबिक विजेता विभागीय टिम एपिएफलाई टाइब्रेकरमा चार-दुई गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो ।

केरलाको लुका सकर र घरेलु टिम विराटनगरबीच फुटबल मैदानमा पहिलोपल्ट भेट हुँदैछ । साबिक विजेता एपिएफ र लिग खेल्दै आएको ‘ए’ डिभिजन टिम संकटाजस्तो सशक्त टिमलाई पराजित गरेर फाइनल यात्रा तय गरेकाले लुका सकरका खेलाडीमा मनोबल उच्च देखिन्छ ।
घरेलु टोलीले तेस्रोपटक आफूलाई प्रतियोगिताको उपाधि नजिक पु¥याएको हो । विराटनगर ६१ वर्षपछि गोल्डकपको फाइनलमा पुगेको छ । यसअघि २०१८ सालमा तत्कालीन महेन्द्र गोल्डकपमा घरेलु टिम मोरङ ११ फाइनलमा पुगेर उपविजेता भएको थियो । त्यसबेलाको पहिलो उपाधि भारतको कलकत्ताले जितेको थियो ।

२०१९ सालमा मोरङ ११ ले उपाधि हात पारेको थियो । त्यसपछि सातौँ संस्करणसम्म आइपुग्दा घरेलु टिम फाइनलमा पुगेको हो । गत वर्षको लिग विजेता मच्छिन्द्र क्लबको सेटलाई मैदानमा उतारेको आयोजक विराटनगरले सेमिफाइनल खेलबाट विमल घर्तीमगरलाई पनि मैदानमा ओरालेको छ । घरेलु टिमलाई फाइनलमा पुर्‍याउन विमलले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँले निकालेको दुवै क्रस पासमा विराटनगरले संकटालाई दुई-एक गोेलले पराजित गरेको थियो ।

विराटनगरमा बुधबार प्रि-म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनलअघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताउनुभएको छ ।

विराटनगर सिटीका प्रशिक्षक सन्तोष न्यौपानेले घरेलु मैदानमा विराट गोल्डकपमा टिमको लक्ष्य उपाधि जित्नु रहेको बताउनुभयो ।
विराटनगर सिटीका कप्तान विशाल श्रेष्ठले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गर्नुभयो । ‘लुका सकर राम्रो टिम हो । अग्ला कद भएका खेलाडी छन् । त्यही भएर हामी टेक्निकल खेल प्रदर्शन गर्नेछौँ,’ उहाँले भन्नुभयो, ‘केरलाका अग्ला कद भएका खेलाडी भएकाले हामी ग्राउण्ड लेभलबाट खेल खेल्नेछौँ ।’

नेपालमा पहिलो गोल्डकप खेल्न आएको केरलाको लुका सकर क्लब विराट गोल्डकपको फाइनलमा पुगेको हो । केरलाको प्रिमियर लिगको पाँचौँ स्थानमा लुका सकर रहेको छ ।

चैत ९ देखि सुरु भएको रात्रीकालीन गोल्डकपको विजेताले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले सबैलाई जनही २५-२५ हजार रुपैयाँ पुरस्कार रहेको छ । २०१८ सालदेखि महेन्द्र गोल्डकपको नाममा सञ्चालन हुँदै आएको फुटबल प्रतियोगिता २०५७ सालदेखि विराट गोल्डकपका रूपमा परिवर्तन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?