योजना निर्माण र कार्यान्वयन गर्न सिक्दै पाल्पाका स्थानीय सरकार

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 9 mins

पाल्पा । हचुवाका भरमा पहिलो कार्यकाल विताएका पाल्पाका स्थानीय सरकार अहिले बल्ल कार्यक्रम, योजना निर्माण र कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा चासो देखाउन थालेका छन् । जनप्रतिनिधि र कर्मचारीहरुमा अज्ञानताका कारण कार्यक्रम,योजना निर्माण र कार्यान्वयन पक्ष अत्यन्त फितलो भएको भन्ने आरोप लाग्ने गरेका बेला यहाँका स्थानीय सरकारहरुले सिक्न चासो देखाएका हुन् ।

मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको पाल्पा विकास केन्द्रले आयोजना गरेको योजना तथा कार्यक्रम निर्माण र कार्यान्वयन सम्बन्धी कार्यशालामा यहाँका १० वटै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुले कार्यक्रम, योजना निर्माण र कार्यान्वयन गर्न सिकेका छन् । ज्ञान, सीपको अभावमा कार्यक्रम,योजना निर्माण र कार्यान्वयन प्रभावकारी बन्न नसिकरहेका बेला केन्द्रले भने योजना तथा कार्यक्रम निर्माणका क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुबाट ज्ञान हासिल गराउन जनप्रतिनिधि र कर्मचारीलाई सिकाएको हो । केन्द्रले यहाँका स्थानीय सरकारलाई प्रभावकारी बनाउने उद्देश्यले योजना , कार्यक्रम निर्माणमा प्रत्यक्ष संलग्न रहने जनप्रतिनिधि र कर्मचारीहरुलाई सिक्ने अवसर प्रदान गरेको छ ।

कार्यशालामा जिल्लाका १० वटै स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, योजना अधिकृतहरुले पालिकामा निर्माण गर्ने कार्यक्रम,योजना र कार्यान्वयनका बारेमा जानकारी लिएका छन् । उनीहरुलाई लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव रामप्रसाद पाण्डे, उपसचिव भविश्वर घिमिरे, पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता भीमार्जुन पाण्डेलगायतले योजना निर्माण, योजना तर्जुमाका चरण, बजेट निर्माण, सुशासन, अुगमन,वित्तिय संघीय र व्यवस्थापनलगायतका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिव रामप्रसाद पाण्डेले स्थानीय, प्रदेश र संघीय सरकारबिच विकास निर्माण र योजनाका विषयमा समन्वय आवश्यक रहेको बताउनुभयो ।

उहाँले सहकारिता, सहअस्तित्व र समन्वयका साथ तीनै तहका सरकारले काम गर्न सकेमा योजना, कार्यक्रमहरु प्रभावकारी बन्नेमा जोड दिनुभयो । सचिव पाण्डेले आमनागरिकलाई केन्द्रमा राखेर योजना तर्जुमाका मापदण्डहरुलाई आत्मसाथ गर्दै योजना तथा कार्यक्रम बनाउन जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्नुभयो । लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता भीमार्जुन पाण्डेले पूर्वधार विकास अन्तरनिहित सवाल, दिगोपनामा स्थानीय तहको भूमिकाका विषयमा प्रष्ट पार्नुभयो । उहाँले दक्ष जनशक्ति स्वदेशमै रोक्ने खालका कार्यक्रम र योजना ल्याउने विषयमा स्थानीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समय ठूलो जशक्ति विदेश पलायन भएको छ, यो अवस्थालाई रोक्न सकिएन भने देशमा विकराल समस्या आउन्छ । त्यसतर्फ तीनै तहका सरकारको ध्यान जानुुपर्छ ।’ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले सार्वजनिक, जवाफदेहीता र यसका औजारका विषयमा जानकारी गराउनुभएको थियो । उहाँले स्थानीय सरकार जनताप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिनुभयो ।

प्रशिक्षकहरुबाट योजना र कार्यक्रमका बारेमा जानकारी लिएपछि जनप्रतिनिधिहरुले अहिलेसम्म आफुहरुले गलत ढंगबाट कार्यक्रम र योजना बनाउने गरेको स्वीकार गरेका छन् । उनीहरुले मापदण्ड अनुसार आफुहरुले योजना निर्माण गर्न नसकेको बताए । आगामी दिनमा मापदण्ड अनुसार काम गर्ने उनीहरुले प्रतिवद्धता जनाएका छन् । माथागढी गाउँपालिकाका अध्यक्ष यम चिदीले आफुहरुले धेरै कुरा सिक्न बाँकी नै रहेको र कार्यशालाबाट आगामी दिनमा कार्यक्रम , योजना र बजेट तर्जुमा गर्न ठूलो टेवा पुग्ने बताउनुभयो । योजना निर्माण गर्दा धेरै कुराहरुमा ध्यान दिनुपर्ने भए पनि आफुहरुले त्यस्ता विषयमा खासै ध्यान नदिएको जनप्रतिनिधि तथा कर्मचारीहरुको भनाई छ ।

अहिले यहाँका स्थानीय सरकारले कार्यक्रम, योजना तथा बजेट निर्माण गरेर कार्यान्वयन गरिरहे पनि अधिकांस योजना, कार्यक्रम जनमैत्री बन्न सकेका छैनन् । केही ठाउँमा जनप्रतिनिधिले अनेकखाले निर्णय गरेका समाचारहरु पनि आइरहेका छन् । कतिपय निर्णय जनताको आवश्यकता, प्राथमिकता, स्रोत-साधनको उपलब्धता, प्राविधिक सम्भाव्यता, सामाजिक-आर्थिक प्रभाव र वातावरणीय असरजस्ता आधार नहेरी हचुवाका भरमा सस्तो लोकप्रियताले ग्रसित भएर गरिएका छन् ।

यसले योजना तर्जुमालाई स्थानीय सरकारले गम्भीरतापूर्वक आत्मसात् गरेको पाइँदैन । केही सीमित जनप्रतिनिधि र कर्मचारीको समूहबाट औपचारिकता पूरा गर्ने गरी मनोमानीमा योजना तथा बजेटको बाँडफाँड गर्ने प्रवृत्ति हाबी हुने गरेको छ । योजना तर्जुमा र कार्यक्रम निर्माणका लागि आवश्यक मापदण्डको अज्ञानताका कारण यस्तो भएको जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले बताउनुभयो । उहाँले भन्नुभयो‘ स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीहरुलाई पर्याप्त तालिम आवश्यक छ ।’ यो कार्यशालाले केही हदसम्म भए पनि योजना निर्माण र कार्यान्वयन गर्न मद्धत पुग्ने उहाँले बताउनुभयो ।

केन्द्रका अध्यक्ष कृष्ण पोखरेले योजना तर्जुमादेखि कार्यान्वयन, व्यवस्थापन र अनुगमन-मूल्यांकनको कामलाई एकीकृत ढंगले लागू गरी विकास र सेवाप्रवाहलाई नतिजामूलक र प्रभावकारी बनाउनुको साथै स्थानीय सरकारलाई पारदर्शी, सहभागितामूलक र जवाफदेही बनाउन कार्यशालाले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नु । स्थानीय तहमा कार्यक्रम, योजना निर्माण र कार्यान्वयन प्रभावकारीसँगै आमनागरिकले अनूभूत गर्न सकुन भन्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको केन्द्रका कार्यक्रम संयोजक किरण कौशलले बताउनुभयो । उहाँले हिजोका दिनमा जसरी योजना र कार्यक्रम बनाए पनि त्यसलाई थप परिस्कृत गरेर अगाडि बढ्न कार्यशालाले मार्गदर्शन गर्ने अपेक्षा लिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?