स्पोर्ट्स अवार्डका चार विधाको खेलाडी मनोनयन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्ने खेलाडी, प्रशिक्षक एवं खेलकर्मीलाई सम्मान गर्ने पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत विभिन्न चार विधाको मनोनयन मंगलबार सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने उक्त अवार्डअन्तर्गत वर्षको सर्वश्रेष्ठ पुरुष खेलाडी, वर्षको सर्वश्रेष्ठ महिला खेलाडी, वर्षकोे सर्वश्रेष्ठ युवा खेलाडी र वर्षको सर्वश्रेष्ठ प्रशिक्षकको मनोनयन सार्वजनिक गरिएको हो ।

वर्षको सर्वश्रेष्ठ पुरुष खेलाडीमा क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी, फुटबलका अञ्जन विष्ट र किरण चेम्जोङ तथा ब्याडमिन्टनका प्रिन्स दाहाल मनोनयनमा परेको मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

त्यसैगरी महिलातर्फ क्रिकेटकी सीता रानामगर र रुविना क्षेत्री, भलिबलकी अरुणा शाही, बक्सिङकी पुनम रावल र एथ्लेटिक्सकी पुष्पा भण्डारी मनोनयनमा पर्नुभएको छ । युवा खेलाडीको मनोनयनमा फुटबलका मनिष डाँगी र प्रीति राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, भलिबलकी उषा भण्डारी र ब्याडमिन्टनकी रसिला महर्जन हुनुहुन्छ ।

प्रशिक्षकतर्फ फुटबलका अब्दुल्ला अल्मुताइरी, क्रिकेटका डेभ हृवाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनयनमा पर्नुभएको छ । यही फागुन २३ गते हुने १९औँ संस्करणको उक्त अवार्डमा विभिन्न नौ विधामा खेलाडी र खेलकर्मीलाई सम्मान गरिनेछ ।

पल्सर स्पोटर््स अवार्डअन्तर्गत लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेशल र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड भने कार्यक्रमकै दिन घोषणा गरिने आयोजक मञ्चका कार्यबाहक अध्यक्ष निराजन अधिकारीले जानकारी दिनुभयो । अवार्डमा वर्ष पुरुष, महिला, पिपल्स च्वाइस, युवा र वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल पाउनेछन् भने अन्य विधा विजेता खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?