ओलीले संसद् विघटन ठिक भनेपछि विकल्प सोच्न बाध्य भयौँ : प्रचण्ड

‘हेर्दै जानुहोला अहिलेको गठबन्धन पाँच वर्षसम्म टिक्छ’

हिमालय टाइम्स
Read Time = 12 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ दलीय गठबन्धन पाँच वर्ष टिक्ने दाबी गर्नुभएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई अभिमुखीकरण दिन काठमाडौंको तीनकुनेमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धन दीर्घकालीन हुने पनि बताउनुभयो । ‘हेर्दै जानुहोला यो गठबन्धन पाँच वर्ष टिक्छ,’ उहाँले भन्नुभयोे, ‘मन्त्रिपरिषद् विस्तार प्रक्रिया आजैदेखि सुरु गर्छु ।’ उहाँले गत पुस १० मा बनेको गठबन्धन यसबीचमा कताकता रुमल्लिएको पनि बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचन र उपराष्ट्रपति निर्वाचन सकिएलगत्तै विश्वासको मत लिने पनि बताउनुभयो । यही फागुन २५ गते राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति निर्वाचनका लागि मतदान हुँदै छ । आठ दलको समर्थनमा राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल उम्मेदवार हुनुहुन्छ भने एमालेबाट सुवास नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुने पनि बताउनुभयो । ‘चुनावका बेला म रामचन्द्रजीको निर्वाचन क्षेत्रमा गएर उहाँ प्रधानमन्त्री हुने नेता हो भनेको थिएँ । उहाँ राष्ट्रपति हुनुहुने भयो,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘उहाँले संविधानको रक्षा गर्न सक्नुहुन्छ ।’ आठ दलीय गठबन्धनले संघीय सांसदलाई राष्ट्रपति निर्वाचनबारे प्रशिक्षण दिन सुरु गरेको छ । शुक्रबार सातै प्रदेशमा प्रदेशसभा सदस्यसँग अन्तरक्रिया गर्ने आठ दलको तयारी छ ।

‘प्रचण्ड’ ले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा संसद् विघटन ठिक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ विकल्प खोजेको बताउनुभयो । बिहीबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन आठ दलका सांसदको संयुक्त भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस २६ गतेको प्रतिनिधिसभामा एमाले अध्यक्षद्वारा व्यक्त विचारले आफूहरूलाई सोच्न बाध्य बनाएको बताउनुभयो । उहाँले नेपाली राजनीति उतारचढावपूर्ण परिस्थितिमा रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले १६ मन्त्रालयको जिम्मेवारी लिइरहनु भएको छ । सरकारबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा बाहिरिएका थिए । राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्न सात दल सहमत भए पनि यी दल सबै सरकारमा भने सहभागी भइसकेका छैनन् ।

रामचन्द्रजी राष्ट्रपति हुँदा संविधानमाथि खतरा हुँदैन : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आँट र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चौडा छाती बनाएकाले चुनावअघिको गठबन्धन ब्युँतिन सम्भव भएको बताउनुभएको छ । बिहीबार राष्ट्रपति चुनावका लागि संघीय सांसदहरूलाई आठ दलले दिएको प्रशिक्षणमा बोल्दै देउवाले प्रधानमन्त्री प्रचण्ड र नेपालको प्रशंसा गर्नुभएको हो । प्रशिक्षणमा बोल्दै देउवाले पौडेल आफ्ना पुराना साथी भए पनि केही दिएन भन्ने गुनासो सुनिने गरेको बताउनुभयो । ‘रामचन्द्रलाई केही दिएन, केही दिएन भन्ने गुनासो सुनिन्थ्यो,’ देउवाले भन्नुभयोे, ‘अब उहाँलाई हामीले राष्ट्रपति बनाउँदै छौँ ।’ सभापति देउवाले विगतमा राष्ट्रपतिबाट संविधानको रक्षकको भूमिका नमिठो अनुभूति दिलाएको भन्दै अब पौडेल राष्ट्रपति भएपछि त्यस्तो जोखिम नहुने दाबी गर्नुभयो । ‘रामचन्द्रजी अहिले राष्ट्रपति पदको लागि सबैभन्दा योग्य व्यक्ति हो । उहाँ प्रजातन्त्रको स्थायित्वका लागि जिन्दगीभर संघर्ष गरेको व्यक्ति हो । प्रजातन्त्र, लोकतन्त्र र अहिलेको संविधानको रक्षाका लागि उहाँले भूमिका खेल्नुहुने छ भन्नेमा म पूर्ण विश्वस्त छु,’ उहाँले भन्नुभयो, ‘विगतमा हामीले राष्ट्रपतिको विषयमा निकै नमिठो अनुभव संगाल्यौँ । तर, अब रामचन्द्रजीलाई राष्ट्रपति बनाएपछि त्यस्तो जोखिम रहँदैन ।’

राष्ट्रको उन्नतिका लागि अहिलेको प्रणाली जोगाउनुपर्छ : पौडेल
राष्ट्रपतिका उम्मेदवार एवं नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सही र स्वच्छ ढंगले अर्थनीति, विकासनीति सञ्चालन गर्न सकेमा नेपालले आउँदो १० वर्षभित्रमा फड्को मार्न सक्ने सम्भावना रहेको बताउनुभएको छ । आठ दलीय गठबन्धनका सांसदहरूका लागि बिहीबार आयोजित अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै नेता पौडेलले आ–आफ्नो लागि तोकिएको दायित्व पूरा गर्ने, जिम्मेवार हुने र समयमा योजना सम्पन्न गर्न सक्यौँ भने देशले आउँदो १० वर्षमा राम्रो उन्नतिमा फड्को मार्न सक्ने बताउनुभएको हो । उहाँले देशमा सुशासन र राजनीतिक स्थायित्व चाहिएको भन्दै सबै मिलेर देशको सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो । ‘राष्ट्रलाई राजनीतिक स्थायित्व चाहिएको छ ।

सुशासन चाहिएको छ । यसका लागि हामी सबैले आ-आफ्नो मर्यादाभित्र, दायित्वभित्र रहेर इमानदारीपूर्वक मातृभूमिको सेवा गरौँ,’ उहाँको आग्रह थियो । पौडेलले राष्ट्रवादलाई लोकतन्त्रविरुद्ध प्रयोग हुनु दुर्भाग्यपूर्ण भन्दै राष्ट्रियता र प्रजातन्त्रलाई सँगसँगै लिएर जानु नै देशभक्ति हुने बताउनुभयो । समानुपातिक समावेशी सिद्धान्तको आधारमा देशका दलित, महिला, आदिवासी जनजाति, अल्पसंख्यक, मुसलमान, मधेसीलगायत सम्पूर्ण जनताका अधिकार संविधानले संरक्षण गरेको भन्दै पौडेलले यसको विकल्प सोच्न नसकिने बताउनुभयो । उहाँले राष्ट्रको उन्नतिका लागि अहिलेको प्रणाली जोगाउनुपर्ने पनि बताउनुभयो

राष्ट्रपतिले राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राख्नुपर्छ : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिले राष्ट्रिय हितको प्रवद्र्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रविन्दुमा राख्नुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित आठ दलीय गठबन्धनमा आबद्ध दलका सांसदहरूको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रष्टताको आवश्यकता रहेको बताउनुभयो । उहाँले संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्ने कुरालाई केन्द्रविन्दुमा राखेर निर्वाचित राष्ट्रपति अघि बढ्नुपर्ने बताउनुभयो ।

‘राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीहरूको बारेमा प्रष्टताको आवश्यकता छ । राष्ट्रिय हितको प्रवद्र्धन गर्ने कुरा, देशभक्तिको रक्षा गर्ने कुरा, राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने कुरा, राष्ट्रिय हितको प्रवद्र्धन गर्ने कुरालाई केन्द्रविन्दुमा राख्नुपर्छ’ उहाँले भन्नुभयो, ‘संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्ने कुरालाई केन्द्रविन्दुमा राख्नुपर्छ ।’

पुस १० गतेको राजनीतिक कोर्स करेक्सन भइसक्यो : बस्नेत
नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पुस १० गतेको राजनीतिक कोर्स करेक्सन भइसकेकाले अब नयाँ समझदारीका साथ दलहरू अघि बढ्ने बताउनुभएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका बस्नेतले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितको आठ दलीय गठबन्धनबीचको राजनीतिक समझदारीले देशलाई निकास दिने बताउनुभयो ।

उहाँले राष्ट्रिय राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएको बताउँदै सम्हालिएर अघि बढ्नका लागि उत्साह राख्नुपर्ने र राजनीतिक निकासका लागि उच्च सुझबुझ राख्नुपर्ने बेला आएको धारणा राख्नुभयो । राप्रपा र रास्वपालाई राम्रा मन्त्रालय जिम्मा लगाउने र अस्थिरतामार्फत फेरि कुनै पनि बेला चुनाव हुने अवस्था आउन सक्ने वातावरण बन्दै गएपछि कांग्रेसले चुनावी गठबन्धन ब्युँत्याउन प्रयास थालेको उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?