एलायन्सद्वारा सहुलियत कर्जा उपलब्ध गराउन माग

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मिडिया एलायन्स नेपालले मिडिया उद्योगलाई पुनर्जीवित गर्न प्रभावकारी कदम चाल्न माग गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई ज्ञापनपत्र बुझाएको छ । बुधबार मन्त्रालयमा पुगेर एलायन्सले सञ्चारमन्त्री शर्मालाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझेपछि सञ्चारमन्त्री शर्माले आमसञ्चार मिडियालाई व्यवस्थित गर्न सरकारको तर्फबाट आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाउनुभयो ।

मिडिया एलायन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले नेपाली मिडिया उद्योग कोरोना महामारीपछि रुग्ण रहेकाले पुनर्जीवन दिनका लागि सरकारले तत्काल प्रभावकारी कदम चाल्नु अनिवार्य भएको जनाउनुभयोे । उहाँले मिडियालाई सहुलियत दरमा कर्जा उपलब्ध गराउन आवश्यक भएको बताउनुभयो । उहाँले सफ्ट लोनका विधि, प्रक्रिया र सर्तहरू आपसी समझदारीमा निर्धारण गर्न मिडिया अलाइन्स तयार रहेको बताउनुभयो ।

उहाँले रेडियो, टेलिभिजन, छापा जोखिमपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै आर्थिकोपार्जनका लागि विज्ञापन नै एउटा मात्रै स्रोत भए पनि अहिले मूलधारका सञ्चारमाध्यममा विज्ञापनहरू ५० प्रतिशतभन्दा बढी घटेको उल्लेख गर्नुभयो ।

अध्यक्ष राजकर्णिकारले सरकारी विज्ञापनको प्रवाहमा एकद्वार प्रणाली कायम गरी विज्ञापन बोर्डमार्फत मिडियाहरूलाई विज्ञापन दिने व्यवस्था मिलाउन मन्त्री शर्मासँग आग्रह गर्नुभयो । उहाँले सरकारी विज्ञापनको प्रवाह विज्ञापन बोर्डबाट हुनुपर्ने भए पनि व्यवहारमा हुन नसकेको गुनसो गर्नुभयो ।

उहाँले नेपाली मिडियाले सरकारलाई नियमपूर्वक मूल्य अभिवृद्धि कर बुझाउँदै आएको तर कोरोना महामारी र अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिका कारण बजारबाट समयमै पैसा उठ्न नसकेकाले त्यसमा लाग्ने जरिवाना हालका लागि मिनाहा गर्न आग्रह गर्नुभयो ।
एलायन्सले पछिल्लो प्रतिकूल अवस्थालाई मध्यनजर गरी पत्रपत्रिकाको न्यूज प्रिन्ट खरिदमा सरकारले लिने एक प्रतिशत भन्सार मिनाह गर्न आग्रह गरेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?