१४ दुर्घटनामा ६ को मृत्यु, १३ गम्भीर घाइते

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म बागलुङमा १४ वटा दुर्घटना भएकाछन् । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १३ जना गम्भीर घाइते भएकाछन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको तथ्याङ्कअनुसार घाइते हुनेमा ११ पुरुष छन् भने एक नाबालिकासहित दुई महिला छन् । बढ्दो दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले नियममा कडाई गर्नुका साथै सचेतना मुलक कार्यक्रमलाई जोड दिइराखे पनि दुर्घटना रोकिएको छैन ।

जिल्ला सदरमुकाम आसपास भन्दा बढी दुर्गम गाउँ र भर्खर बजार बिस्तार भइरहेका ठाउँहरुमा दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख प्रहरी वरिस्ठ नायव निरीक्षक मिनबहादुर खड्काले बताउनुभयो । उहाँले ग्रामीण सडकहरु साँघुरो, धेरै कच्ची रहेको र त्यस्ता सडकमा तीव्र गतिमा यातायातका साधनहरु चलाउँदा दुर्घटना हुने गरेको बताउनुभयो ।

जिल्लाका अधिकांश बस्तीमा सडक पुगेका छन् । ती सडकहरुमा चालकले मादकपर्दाथ सेवन गरेर गाडी चलाउने गर्दा दुर्घटना बढ्ने गरेको खड्काले बताउनुहुन्छ । उहाँभन्नुहुन्छ- “साउन यताको दुर्घटना हेर्दा धेरैनै हो, दुर्घटना न्यूनिकरणका लागि गाउँ-गाउँसम्म पुगेर चालक, सहचालक र यात्रुलाई सचेत गराउनु पर्ने देखिन्छ, त्यो हामीहरुले गरि पनि राखेका छौँ ।”

जिल्लामा गाडीहरुले क्षमताभन्दा बढी बोक्ने हुँदा दुर्घटनाको जोखिम बढि रहेको बताउनुभयो । उहाँले आठ महिनाको अवधीमा ट्राफिक नियमको अवज्ञा गर्ने सातहजार आठ सय सवारी साधनलाई कारवाही गरेर ५२ लाख ५० हजार ५०० रुपैयाँ राजश्व समेत संकलन गरेको बताउनुहुन्छ । कारवाही गरेर मात्रै दुर्घटना नरोकिने खड्काको भनाई छ ।

साउनदेखि हालसम्म सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम ट्रिपर कारबाहीमा परेका छन् । यस अवधीमा दुई हजार नौ सय ४९ मोटरसाइकल र आठ सय दुई वटा ट्रिपर कारबाहीमा परेकाछन् । ट्राफिक बागलुङको तथ्याङ्क हेर्दा मोटरसाइकलबाट १९ लाख ५७ हजार रुपैयाँ र ट्रिपरबाट पाँचलाख ४६ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ ।

तथ्याङ्क हेर्दा आठ सय ७० बस, दुई हजार तीन जीप, एक हजार एक सय ४३ ट्याक्टर र ३३ वटा अन्य सवारी साधानहरु कारबाहीमा परेकाछन् । हालसम्म ट्राफिक नियमको उल्लङ्घन गर्ने ट्याक्टरबाट सातलाख ८५ हजार, जीपबाट १३ लाख ५७ हजार पाँच सय, बसबाट पाँचलाख ८४ हजार ५०० रुपैयाँर अन्य सवारी साधनबाट २० हजार रुपैयाँ संकलन भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?