कोही धराप थाप्न नआए हुन्छ, यो गठबन्धन पाँचैं बर्षलाई हो : गगन थापा

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कसैले पनि गठबन्धन भत्काउने धराप नथाप्न चेतावनी दिनुभएको छ ।

शुक्रवार गठबन्धन दलहरुले राष्ट्रपति निर्वाचनको सन्दर्भमा बागमती प्रदेशका सांसदहरुलाई केन्द्रित गरेर काठमाडौँमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले वर्तमान गठबन्धन भत्काउने धराप नथाप्न चेतावनी दिनुभएको हो ।

उहाँले आफूहरुका बीचमा भएको सहमति पाँचै वर्ष कार्यान्वयन भएर अगाडी बढ्ने बताउनु भयो । उहाँले राष्ट्रपतिको निर्वाचनपछि गठबन्धन भत्किने र नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भनेर भ्रम फैलाइएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गर्नुभयो ।

महामन्त्री थापाले आफूहरुका बीचमा भएको सहमति कार्यान्वयन नभएमा दलहरु माथिको इमान्दारीता र विश्वसनीयतामा प्रश्न उठ्ने भन्दै त्यसो हुन नदिने बताउनु भयो । उहाँले नेपाली काँग्रेसका कोही पनि नेताहरुलाई भेटेर गठबन्धन भत्काउने चकचक नगर्न चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले भर्खर म समाचार पढ्दै थिएँ । हामी लोसपाको कार्यालयमा गयौँ, लोसपा हामीलाई मत दिन यो त हाम्रो क्याम्पसको चुनावमा पनि हुँदैनथ्यो । त्यहाँपनि हामी अलिकति निर्वाचनको मर्यादा राख्थ्यौँ । नेकपा एसको कार्यालयमा आयो, नेकपा एस हामीलाई चुनावमा मतदान दिन सकारात्मक भएको छ, लोसपाको कार्यालयमा गयो लोसपा सकारात्मक भएको छ । यो तहसम्म साथीहरु आएर निर्वाचनको बेलामा यसलाई अल्मल्याउने कोशिस गरिराख्नुभएको छ । र फागुन २५ गतेपछि नेपाली काँग्रेसको नेतृत्वमा फेरि सरकार बन्छ । यो गठबन्धन टिक्दैन, पाँच वर्ष जे समझदारी भएको छ, यो पटक हामीपनि संलग्न छौँ । नेपाली काँग्रेसको तर्फबाट महामन्त्रीको हैसियतबाट पनि यो कुरा भन्छु, नेपाली काँग्रेस पार्टी यो पटक सबैभन्दा बढी जिम्मेवारीका साथ कुनैपनि पार्टीलाई क्षति होस् । व्यक्तिलाई क्षति होस् । तर यो नेपालको राजनीतिक दलहरुको इमान्दारीतामाथि प्रश्न पनि भयो । पार्टीको प्रतिष्ठा माथिको प्रश्न पनि भयो । विश्वसनीयतामाथि प्रश्न पनि भयो । त्यसैले नेपाली काँग्रेस पार्टीसँग अब कोही चकचक गर्न नआए हुन्छ । कोही चल्न नआए हुन्छ । पाँच वर्ष यो कहीँ कतै जे समझदारी गरेर अस्ति आएका छौँ । कहीँ, कतै, कोही, धराप थाप्न नआए पनि हुन्छ । कसैले यसलाई अल्मल्याउन नखोजेपनि हुन्छ । र कोही नअल्मल्लिए पनि हुन्छ । पार्टीका कोही कसैलाई भेटेर फेरि नेपाली काँग्रेससँग चकचक गर्ने काम बन्द गरे हुन्छ यसबाट केही निस्कनेवाला छैन । तेल निस्कनेवाला छैन यो कुरा राम्रो सँग बुझे हुन्छ ।’

महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाइराख्नका लागि मात्रै यो गठबन्धन नबनेको स्पष्ट पार्नुभयो । दाहाललाई नेकपा(एमाले)ले पाँचै वर्ष प्रधानमन्त्री दिएको भएपनि त्यसलाई त्यागेर नयाँ गठबन्धन बनाइएको उहाँको भनाई छ । त्यस्तै नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई पनि एमालेले राष्ट्रपतिको उम्मेदवार अथवा एमालेको अध्यक्ष नै बनाउन पनि तयार हुने स्थिति रहेको बताउनु भयो । उहाँले गठबन्धनलाई बचाएर लानुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री हुने कुरा नै महत्वको कुरा थियो र त्यो कुरा नै प्रधान कुरा थियो भने यो गठबन्धनमा आइराख्नै पर्दैनथ्यो । यो गठबन्धन बनाउनै पर्दैनथ्यो । माओवादी केन्द्रले उपराष्ट्रपति पनि पाउँथ्यो । माओवादी केन्द्रले नेकपा(एमाले)को समर्थनमा पाँचै वर्ष प्रधानमन्त्री पनि पाउँथ्यो । ल्याप्चे, तमसुक, कालो दलेर जे जे गरिदिनुपर्ने हो उठेर, बसेर सबै गरिदिन्थ्यो । सबै कुरा पाउँथ्यो । बरु प्रधानमन्त्री हुने कुरा तलमाथि भए होस्, तर जुन उद्देश्यका साथ गठबन्धन बनाइयो त्यो गठबन्धन फेरि ब्युतन्छ र फर्कन्छ भने म त्यो जोखिम उठाउन तयार छु भन्ने कुरा माओवादी केन्द्रका अध्यक्षले त्यो कुरालाई नमानेको भए, त्यो कुरा गर्न तयार नभएको भए यो बाटो अगाडी बढ्ने अवस्था बन्दैनथ्यो । माधवकुमार नेपाललाई यतिखेर नेकपा(एमाले)ले मिलाएर राष्ट्रपति बनाउने कुरा मात्रै होइन यो बेलामा अन्तिम अन्तिममा मेरो अनुमान माधवकुमार नेपाललाई नेकपा(एमाले)को अध्यक्ष नै बनाइदिनुपर्छ भनेको भएपनि ल हुन्छ भन्ने अवस्था बन्थ्यो होला । माधवकुमार नेपाल त्यो सबैकुरा छोडेर आउन तयार नभएको भए यो अवस्था बन्दैनथ्यो ।’

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?