सुकुम्बासी रिक्जनाले जित्नुभएका चार स्वर्ण

हिमालय टाइम्स
Read Time = 4 mins

म्याग्दी । म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो । बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो । बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गर्नुभयो । मंगला गाउँपालिका-५ अमर्नको पोक गाउँकी १४ वर्षीया रिक्जनाले बाआमाको संघर्षलाई सम्झिदै पढाइ र खेलकुदमा सक्दो मिहिनेत गर्दै आउनुभएको छ ।

सुकुम्बासी परिवारकी उहाँले हालै सम्पन्न जिल्लास्तरीय आठौं राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्सतर्फको विभिन्न विधामा चार स्वर्ण पदक जित्नुभयो । उदीयमान रिक्जना प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । अहिले जिल्लाभरी उहाँको चर्चा चुलिएको छ । लगनशील भए जस्तोसुकै दुःख हण्डर खाएर पनि सफलता हात प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण हुन् रिक्जना ।

म्याग्दी नदीको कटानले घरखेत बगाएपछि माझी परिवार टहरा बनाएर बसेको छ । बाआमाले जस्तै रिक्जनाले पनि फुर्सदमा दैनिक मजदुरी गर्दै आउनुभएको छ । बाँकी समय उनले पढाइ र खेलकुदमा खर्चनुभएको छ । रिक्जनाले मिहिनेत र परिश्रमबाट प्राप्त हुने सफलतालाई गरिबीले छेक्न सक्दैन भन्ने उदाहरण बनेर देखाएको मंगला माविका खेल शिक्षक हर्क छन्त्यालले बताउनुभयो ।

रिक्जनाको प्रदर्शनका कारण एथ्लेटिक्सको समूहगत खेलमा रजत र कास्य पदकसमेत प्राप्त गर्न सफल भएको उहाँले बताउनुभयो । ‘रिक्जनाले अभावै अभावमा पालिकालाई पदक दिलाएकी छन्, एथ्लेटिक्सकी भविष्य हुन्, अनुभवी प्रशिक्षकको साथ पाए धेरै प्रगति गर्नसक्छिन,’ खेल शिक्षक छन्त्यालले भन्नुभयो ।

रिक्जनाले म्याग्दी सदरमुकाम बेनीमा यही साता सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा त्रिपलजम्प र रिले दौडमा चार स्वर्ण जित्नुभएको हो । उक्त प्रतियोगितामा व्यक्तिगतरूपमा धेरै पदक जित्ने कीर्तिमान बनाएकी उहाँ कास्कीको पोखरामा हुने गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कपका लागि छनोट हुनुभएको हो । रिक्जनाले गत माघमा सम्पन्न पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डमा छ स्वर्ण पदक जित्नुभएको थियो ।

रिक्जना मंगलामावि बाबियाचौरमा कक्षा ८ मा अध्ययनरत् हुनुहुन्छ । उहाँ एथ्लेटिक्सतर्फ जिल्लाकै उदीयमान खेलाडी हुनुहुन्छ । उहाँकै खेल प्रदर्शनले विद्यालय जिल्लामै तृतीय स्थान प्राप्त गर्न सफल भयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले विपन्न परिवारमा हुर्किएकी उनको खेल जीवन अघि बढाउन आफूले सक्दो सहयोग गर्ने बताउनुहुन्छ । ‘स्थानीय तहले यस्ता प्रतिभालाई मद्धत गर्नुपर्छ,’ उहाँले भन्नुभयो । रिक्जनाले खेलमा राम्रो गर्न सक्ने सम्भावना भए पनि उहाँको आर्थिक अवस्था बाधक बनेको छिमेकी श्याम विक बताउनुहुन्छ । रिक्जनाले गाउँघरमा दौड्दादौड्दै जिल्लास्तरीय खेलकुद प्रतियोगितामा भाग लिएको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?