हिटा विशेष : सुराही छाता र गीताभित्र लुकेको मानिस

Read Time = 13 mins

✍️ प्रा. पुरुषोत्तम दाहाल

आज १२ वर्ष पुगेछन् किसुनजीको पार्थिव अवशानका । किसुनजी मात्रै होइन नेपाली साहित्यको एक अमर प्रतिभा, सशक्त हस्ताक्षर डायमन शमशेरको देहमुक्त भएको दिन पनि यौटै हो । किसुनजी अर्थात् कृष्णप्रसाद भट्टराई अर्थात् कालो छातामुनि सुराही च्यापेर गीताका श्लोकमा रमाइरहने अनुहार । उहाँ न कुनै दार्शनिक हो, न कुनै धनधान्यपूर्ण मानिस हो, न कुनै जोगी वा सन्त महन्त हो । मलाई लाग्छ यी सबैभन्दा माथिल्लो चिन्तनचेत भएको साधारण मानिस हो किसुनजी ।

मैले किसुनजीलाई चिनेको ०३४/०३५ साल तिरबाट हो । नाम त पहिले नै सुनेको थिएं । तर संगत त्यसपछिका दिनमा भइरह्यो । आजको असाध्य दुर्गन्धपूर्ण राजनीतिक माहोलमा किसुनजीलाई स्मरण गर्नु पनि सफा नियत नमानिन सक्छ । तर, के गर्नु स्मरण गर्न मन लागिरहन्छ । म आज केही मेरो स्मृतिमा रहेका किसुनजीका खास कर्महरूको बारेमा उल्लेख गर्न चाहन्छु । केही त मेरो पाँच छ वर्ष पहिले नै प्रकाशित भएको कृति मेरो पत्रकारितामा उल्लेख गरेको छु । बाँकी केही यसै छरपष्ट छन् र स्मृतिको गह्वरमा यसै पसारा परेका छन् ।

(क) किसुनजीको रक्सी र चुरोट परित्याग :
किसुनजी असाध्य लापरबाह मानिस हो भन्ने सबैलाई लाग्छ । उहाँ सदा कर्मण्येवाधिकारस्ते माफलेषु कदाचनको सिद्धान्तमा रमाइरहनु हुन्थ्यो । प्रसंग ०४२ सालको सत्याग्रहको समयको हो । नेपाली कांग्रेसमा ०४० पछि सैद्धान्तिक व्यावहारिक रूपमा दुईधार रहेको थियो । यद्यपि, ०१७ पछि सुवर्ण शमशेरले सञ्चालन गर्नुभएको सशस्त्र आन्दोलनदेखि नै पक्ष र विपक्ष थियो । पछि पात्र परिवर्तन भए । सशस्त्र आन्दोलनका पक्षमा बिपीहरू रहनुभयो तर मेलमिलापका पक्षमा सुवर्ण र सूर्यप्रसाद उपाध्यायहरू । तर, किसनुजीको पक्ष सदा यौटै रह्यो । उहाँको पक्ष ०१८ मा अहिंसात्मक जसरी थियो, ०२६ पछि पनि त्यही पक्ष रह्यो । उहाँका पक्षमा महेन्द्रनारायण निधि हुनुहुन्थ्यो ।

किसुनजी जनपरिचालन र अहिंसात्मक मार्गको कठोर पक्षधर हुनुहुन्थ्यो । उहाँ त्यसैकारण ०२५ मा बिपी, गणेशमानले गरेजस्तो कुनै हस्ताक्षरका पक्षमा हुनुभएन र अरू दुई वर्ष जेल बस्नुभयो । ०३३ पछि बिपी पनि अहिंसात्मक जनपरिचालनको बाटोमा उभिनु भएपछि कांग्रेसका दुईधार समाप्त भएका थिए वैचारिक रूपमा । तर, ०३९ मा बिपीको पार्थिव अवशानपश्चात् पुनः दुईधारको जन्म भयो । ०४० सालमा राजाले विकल्प खोज्न महामन्त्री गिरिजाप्रसाद कोइरालामार्फत सन्देश प्रवाह गर्नुभयो र उहाँ राष्ट्रिय एकता तथा मेलमिलापको नीतिको नयाँ भाष्य गर्दै विकल्प खोज्नतिर लाग्नुभयो । तर, गणेशमानजी, किसुनजी निधिजीहरू भने सत्याग्रहका पक्षमा उभिनुभयो ।

सत्याग्रहका लागि आचारसंहिता प्रकाशित भयो ०४१ सालमा । त्यसमा सत्याग्रहीहरूले रक्सी वा मादक पदार्थ खान नहुने, चुरोट खान नहुने, आदि अनेक सर्तहरू थिए । सत्याग्रहविरुद्ध विकल्प खोज्नेहरू मध्येका एकजना सदस्यले एकदिन बानेश्वर लक्ष्मी दिदीको शनिबारे भेटमा किसुनजीलाई असाध्य चर्को स्वरमा भनेछन् : तपाईं आफैँ तीन घ्याम्पो रक्सी र दश बट्टा चुरोट तान्नुहुन्छ दिनमा । अनि अरूलाई आचारसंहिताको पाठ पढाउने सोच्नुहुन्छ । कसरी हुन्छ सत्याग्रह ?

अर्को दिन किसुनजी जमल पार्टी कार्यालयमा बडो शान्त मुद्रामा वसनु भएको थियो । वासु रिसाल ध्रुवराम भण्डारीहरू पनि थिए । म पनि पुगेँ । मलाई दोख्नासाथ भन्नुभयो : पुरुषोत्तमजी पर्सि पुस १६ गतेदेखि म रक्सी र चुरोट छाड्दै छु । कृष्णप्रसादले रक्सी र चुरोट त्याग गर्दै छन् भनेर अखबारमा छापिदिनु होला ।

किसुनजीको यो भनाइमा वासु दाइसहित सबै हाँसे । मलाई पनि विश्वास लागेन । उहाँले नै भन्नुभएअनुसार ००७ को सफल क्रान्तिपश्चात् पिउन सुरु गरेको रक्सी अनि त्योभन्दा पहिलेदेखि नै बानी परेको चुरोट एकैदिन कसरी छाड्न सम्भव छ ?

तर, उहाँले भन्नुभयो : शरीरले खाने होइन । शरीर त माध्यम मात्रै हो । हेर्नुहोला म नेपालमा प्रजातन्त्र पुनःस्थापना नभएसम्म पुस १६ देखि नै यी दुवै चिज एकैदिन परित्याग गर्नेछु । पत्यार लाग्दैन भने मेरो परीक्षण दिनहुँ गरे हुन्छ । ०४१ पुस १६ को मेलमिलाप दिवसका दिनबाट उहाँले दुवै चिज छाड्नुभयो र प्रजातन्त्र पुनःस्थापनापछि मात्रै सायद ग्रहण गर्नुभयो । करिब ३५ वर्षको बानीलाई कसैले एकैदिन परित्याग गर्नसक्छ आज ? पत्याउनुहुन्छ ? तर किसनुजीले सजिलै छाड्नुभयो ।

(ख) जय-पराजयभन्दा माथि :
०४८ साल वैशाखमा आमचुनाव भयो । किसुनजी अन्तरिम प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँका नजिक हुनेहरू कोही पन्ध्र हजार बढीले किसुनजीले जित्ने भन्थे त कोही अरू सबैको जमानत जफत हुन्छ भनेर किसुनजीलाई सुनाउँथे । तर, मैले किसुनजीको पराजय हुने सम्भावनासहित सात बुँदे सुझाव दिएको थिएँ । म त्यसबेला पार्टीको केन्द्रीय चुनाव प्रचार समतिको पहिले सदस्य तर काम भने सदस्य सचिव र संयोजकको समेत गर्थें । कसैले पनि पत्याएनन् । तर, दिनभरि किसुनजीसँग हिँड्ने तर रात पर्नासाथ किसुनजीलाई हराउन सक्रिय हुने कांग्रेसीहरूको ठूलो जमात भित्रभित्रै सशक्त थियो । किसुनजीले जित्नुभएमा गिरिजाप्रसाद चाँडै प्रधानमन्त्री हुन नसक्ने तर्क थियो । यसैकारण कोइरालाका नातेदारहरू, निकटस्थहरू, आफन्त भारदारहरू सबै नै किसुनजीको पराजयका लागि वातावरण बनाइरहेका थिए । रातभर किसुनजीविरुद्ध सौगातका पोकाहरू अनेक घरमा पुगेको सूचना मसँग थियो ।

चुनाव भयो । गणना सुरु भयो र किसुनजी हार्ने स्पष्ट लक्षण देखियो । गृहमा चुनावी अवस्थाबारे सूचना संयोजन गर्दै गरेका एक अग्रज अधिकृतले राति भन्नुभयो : किसुनजी हार्ने निश्चित भयो । सुरक्षामा रहेका भाइहरू अहिले नै बाकस फाल्ने र अर्को चुनावको वातावरण बनाउन आदेश मागिरहेका छन् । के गरौँ भाइ ?

मैले किसुनजीसँग सम्पर्क गर्ने प्रयास गरेँ । बेलुकाको नौ बजिसकेको थियो । ढिलो हुँदै थियो । तुरुन्त वासु रिसालसँग सम्पर्क गरेँ । उहाँले पनि किसुनजीसँग सम्पर्क गरेपछि मात्रै केही भन्न सकिने जानकारी दिनुभयो । अनि केही छिनमा नै उहाँको फोन आयो र भन्नुभयो : किसुनजीले भन्नुभएको छ : सबै ती हितचिन्तकहरूलाई धन्यवाद दिनुहोला । तर, म त्यसरी चुनाव जित्ने पक्षमा छैन । कसैले उपद्रव गरे कारबाही गर्नेछु । म चुनावमा सबैले प्रतिस्पर्धा गर्न पाउने व्यवस्थाका लागि जेल बसेको हुँ । आफू मात्रै चुनाव जितेर सत्तामा पुग्न होइन । त्यस्तो पद्धति आइसकेको छ, अर्थात् मेरो विजय भइसकेको छ ।

वासु दाइको यो सन्देश मैले गृहका ती अधिकृतलाई सुनाएपछि स्तब्ध हुँदै किसुनजीप्रति गौरवबोध भएको उहाँले बताउनुभयो । आज जसरी पनि सत्तामा पुग्नै पर्नेहरूका लागि यो उदाहरण कति उचित होला म भन्न सक्तिनँ ।
चुनावमा किसुनजीको पराजय भएको दोस्रो दिन म बालुवाटार पुगेँ । किसुनजी प्रसन्न मुद्रामा दुवै खुट्टा दोब्राएर बस्नुभएको थियो । मैले असाध्य चिन्तित हुँदै भनेँ : किसुनजी तपाईंको पराजयले हामी धेरैको मन रोएको छ ।

(ग) किसुनजीको मन चसक्क भएको क्षण :
तर, किसुनजीको प्रतिक्रिया अनपेक्षित थियो । उहाँले भन्नुभयो : मलाई पनि एक सेकेण्ड जति हारेकोमा चसक्क मन गर्‍यो । तर, तत्काल मेरो मनले भन्यो ईश्वरको जस्तो कृपा हुन्छ त्यही हुन्छ । मैले कर्म गरेँ जनताले अलि कम मत दिए मलाई । मभन्दा योग्य सम्झिए होलान् अर्को विजयी उम्मेदवारलाई ।

म त्यसबेला रेडियो नेपालको असाध्य चर्चित कार्यक्रम घटना र विचारको संस्थापक सञ्चालक भएर काम गर्दै थिएँ । मैले भनेँ किसुनजी त्यसो हो भने किसुनजीका विचार रेडियोमा राखौँ न त ? उहाँले स्वीकृति दिनासाथ मैले रेडियोका सहयोगी मित्र कृष्ण केसीलाई रेकर्डर लिएर आउन भनेँ । नभन्दै कृष्ण तुरुन्तै आए । संवाद रेकर्ड भयो र प्रसारण ग¥यौँ ।

यस्ता अनेक प्रसंगहरू छन् किसुनजीसँगका । मसँग मात्रै होइन अनेक चरणमा अनेक साथीहरूका होलान् यस्ता प्रसंगहरू । ०५० मा किसुनजीलाई हराउन प्रायोजित कोइराला वक्तव्य, ०५६ को निर्वाचनमा किसुनजी नेतृत्वका लागि कोइरालाकै प्रस्ताव र प्रचार, लगत्तै सत्ता विस्थापनको घिनलाग्दो खेल अनेक सन्दर्भहरू छन् । समय समयमा स्मरण गर्न सकिन्छ । आज भने किसुनजी र साहित्यका शीर्ष हस्ताक्षर डायमन शमशेरप्रति श्रद्धासुमन ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
कुलप्रसाद काेइराला
कुलप्रसाद काेइराला
2023-03-04 12:36 pm

किसुनजीका क्म गर फलकाे अास नगर,गर्ने नगर्ने मनले दिलले हाे मान्छेले ( शरीरले )हाेईन ।याे संसार जीत हार तथा प्राप्तिअप्राप्तिलाई लएर नै हिंसात्मक भएकाे हाे अतः समाजमा अहिंसात्मक मार्ग पनि छ भनेर बाटाे बिर्सेकालाई ठीक ठाउमा ल्याउन उनले अवलम्बन गरेकाे हस्याैलाे कूटवाणाी,परिहास,सादाजीवन र ऋषिकाे साधना निश्चय नै वरेण्य थिए । अाजका रिसाए रिसाउन म त दिनकाे तिनपल्ट किसुन्जीलाई संझन्छु । जय किसुनजी ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?