क्षणिक संसार र जिजीविषा

Read Time = 12 mins

✍️ डा.नारायणप्रसाद निरौला

संसारी सागरमा क्षणभर भए पनि बाँच्ने इच्छा हुनु मानवीय वृत्ति हो । जीवनको अनन्त आकाशमा निरन्तर तैरिँदै गर्दा अनेकौँ सुख दुःखका भेल आइरहन्छन् । सुखमा खुशी र दुःखमा आँशु जीवनका पर्याय बनिरहन्छन् । सुुखमा हाँसे पनि अनि दुःखमा रोए पनि जीवन जे छ त्यो त्यही रहन्छ । दुःख पनि सधैँ मनमा छाइरहँदैन अनि सुख पनि सधैँ बसिरहँदैन । किनकि सुख दुःख जीवनका पर्याय हुन् :
‘सुखस्यान्नन्तरं दुःखं दुःखस्यानन्तरं सुखम्
सुखं दुःखं मनुष्याणां चक्रवत् परिवर्तते ।।’ (हितोपदेश)
सुखपछि दुःख र दुःखपछि सुख मनुष्यहरूमा चक्र जसरी परिवर्तन भइरहन्छ । इतिहासका हरेक घटनाले यही करा पुष्टि गरेको पाइन्छ । चाहे रामयायणका कथा हुन् चाहे महाभारतका सबैले यही सुखदुःखात्मक जीवन चक्रलाई नै बुझाएको पाइन्छ । जीवन चक्र यही सुखदुःखको चक्रमा निरन्तर परिभ्रमण गरिरहन्छ । यसैले मानवलाई समदर्शी बन्न सक्नु पर्दछ भनिएको छ :
‘मातृवत् परदारेषु परद्रव्येषु लोष्टवत् ।
आत्मवत् सर्वभूतेषुयःपश्यति स पण्डितः।।’ (पञ्चतन्त्र)
जसले अर्काकी पत्नीलाई आमा समान देख्छ र व्यवहार गर्छ, जसले अर्काको सम्पत्तिलाई माटाको डल्लो जस्तै ठान्दछ र जसले सम्पूर्ण प्राणीहरूलाई आफूलाई झैँ देख्दछ, त्यो नै पण्डित (विवेकी व्यक्ति) हो । यही विवेकले मानव जीवनलाई सार्थक तुल्याउँछ । जबसम्म हामी सुखदुःखलाई समदृष्टिले हेर्न सक्दैनौँ तबसम्म हाम्रो कल्याण असम्भव छ । आफूलाई चोट पर्दा दुख्छ भने अरूलाई चोट पुर्‍याउँदा पनि दुख्छ नै । फरक आफू र अर्कामा मात्र हो । दुःखाइ समान हो । यसैले आफूलाई दुख्छ भने अरूलाई पनि दुख्छ भन्ने ज्ञान नै सार्थक जीवनको आधार हो ।

दुःखमा आत्तिनु मानवीय प्रवृत्त हो । सुखमा पनि मान्छे अस्थिर वृत्तिमा नै चलिरहेको हुन्छ । मानव जिजीविषा अनौठो छ । सर्पले भ्यागुतालाई आधा निलिसक्दा पनि भ्यागुताले फट्याङ्ग्रा खान तम्सिए जस्तै मानव जिजीविषा पनि हो ।

केही समय पहिले काठमाडौंको लोत्से मलमा मोबाइल लुटिए । किन लुटिएभन्दा ज्ञान र चेतनाको कमीले नै लुटिएका हुन् । समभाव ती लुट्ने व्यक्तिमा रहन सकेन । अरूको पनि जीवन छ । बालबच्चा छन् । कमाउने स्रोत त्यही हो । यसरी अरूको जीवनलाई नै कष्ट दिने कार्य गर्नु अरूलाई दुःख दिनु गलत हो भन्ने भावना रहेको भए यस्ता कार्य हुन सक्ने थिएनन् । अरूको सम्पत्ति लुटेर आफू रमाउनु निकृष्ट कार्य हो भन्ने चेतनाको अभाव नै हो ।

यसरी सत्यं वद, धर्मं चरको मार्गबाट विमुख हुँदा नै यस्ता परिघटना हुने गर्दछन् । नैतिक चेतनका पाठमा हामी अभ्यस्त हुन सकेका छैनौँ । हाम्रै पूर्वजले दिएका ज्ञानका राशिलाई पल्टाउन सकेका छैनौँ । पुरातनवादीको संज्ञा दिएर अर्काको शिक्षा प्रणालीमा गौरव गर्नु हाम्रो बाध्यता भएको छ फलस्वरूप परपीडक घटना समाजमा घटिरहन्छन् ।

दुःखमा आत्तिनु मानवीय प्रवृत्त हो । सुखमा पनि मान्छे अस्थिर वृत्तिमा नै चलिरहेको हुन्छ । मानव जिजीविषा अनौठो छ । सर्पले भ्यागुतालाई आधा निलिसक्दा पनि भ्यागुताले फट्याङ्ग्रा खान तम्सिए जस्तै मानव जिजीविषा पनि हो । यसैले त अनेकौं दर्शन आए र जीवन यापनका अनन्त उपाय बताएका छन् । यो जीवनलाई सफल तुल्याउने मार्ग बताएका छन् । संसारमा जति पनि दर्शन जन्मिएका छन् यही बाँच्ने इच्छाबाट नै अघि बढेका छन् । यही जीवनलाई सफल र सार्थक तुल्याउन नै अग्रसर देखिन्छन् । जीवन सर्प कि भ्यागुतोभन्दा भ्यागुताको पनि जीवन हो अनि सर्पको पनि । ‘जीवो जीवस्यजीवनम्’ त्यक्तिकै भनिएको होइन ।

सर्प बाँच्नु छ भने कुनै न कुनै प्राणीको जीवन उसले लिनै पर्छ । यहाँ सर्प पनि बाँच्नुपर्छ र भ्यागुता पनि बाँच्नुपर्छ । सबैले जीवन भोग गर्नुपर्छ । यसमा कर्मको वृत्तिले पनि कार्य गर्ने गर्दछ । यो संसारमा न त केही हाम्रो हातमा थियो र न केही छ नै । न हामी चाहेर जन्मेका छौँ न त मृत्यु नै चाहेको समयमा हुन्छ । अध्यात्म दर्शनका अनुसार केवल हामी हाम्रो कर्मले नै यो धरामा स्थिर छौँ । जन्मन्छौँ, हुर्कन्छौँ अनि जीर्ण भएको वस्तु परित्याग गरेजस्तै यो शरीरलाई पनि त्याग्ने गर्दछौँ । कर्मले जे जस्तो भोग ल्याएका छौँ सोको भोग अनिवर्य रहन्छ । सर्पले भ्यागुतो खाने कर्म ल्याएको छ यसैले भ्यागुताको शिकार गर्दछ ।

कतिपय खोज अनुसन्धानले आत्मको तौलका बारेमा पनि बताएका छन् । आत्माको तौल हुन्छ भन्नु, आत्मालाई भौतिक रूपमा उपस्थित देख्न खोज्नु व्यर्थ हो । आत्मामूत्र्त र दृश्य कुरा होइन । गीतामा आत्माको प्रष्ट परिभाषा गरिएको छ :
‘न जायते मृयते वाकदाचिन्नायं भूत्वाभावितावा न भूयः ।
अजो नित्यःशाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे ।।’ (गीता)
अर्थात् आत्मा न त जन्मन्छ न त मर्छ नै । अदृश्य, अस्पृश्य शाश्वत् आत्मालाई न त जन्माउन नै सकिन्छ न त मार्न नै सकिन्छ । यसैले भौतिक आँखाले आत्मालाई देख्न खोज्नु व्यर्थ हुन्छ । मान्छेको मृत्यु हुँदा केही ग्राम तौल घट्नु आत्माका कारणले होइन । आत्माको तौलको परिकल्पना हुनै सक्दैन । अतुलनीय वस्तुलाई तुलना गर्नु व्यर्थ हो । भौतिक कोणबाट आत्माको व्याख्या असम्भव छ । चाहेर होस् वा नचाहेरै किन नहोस् हामीभित्र आत्मिक तत्त्व विद्यमान नै रहेको हुन्छ । शरीर चलुञ्जेल शरीरमा रहन्छ । मन, बुद्धि, अहंकारसँगै विद्यमान हुन्छ अनि शरीर छुटेपछि विशुद्धात्मा हुन्छ ।

अरूको सुखमा लोभिनुभन्दा आफ्नो कर्ममा अडिक हुनु जीवनको सफलता हो । जे छ त्यो मिल्छ जे छैन त्यो मिल्दैन । कर्म अवश्य गर्नुपर्छ फल मिले ठिकै छ नमिले पनि ठिकै छ भन्ने समदर्शी भावमा चल्न सक्नु नै सच्चा जीवनयापनको सूत्र हो ।

देखिएको वस्तुलाई मात्र पत्याउने भौतिक हो भने अदृष्टलाई पनि मान्नुपर्छ भन्ने दर्शन आध्यात्मिक हो । हामी देखिने वस्तुलाई मात्र मान्दैनौँ । अदृष्टलाई स्वीकार गर्दछौँ यसैले हामी आध्यात्मिक हौँ । वस्तु सत्यमात्र मान्नु भौतिक हुनु हो । त्यसभन्दा पनि पर मान्नु आध्यात्मिक हुनु हो । जसलाई आजको भौतिकले अन्धविश्वासको संज्ञा दिन्छ । हिजो आँखाले नदेखिने वस्तुलाई असत्य मान्ने विज्ञान आज माइक्रोस्कोपबाट देखिएकालाई सम्म सत्य मान्न थालेको छ । परमाणविक शक्तिको सिद्धान्त अध्यात्मले नबताएको होइन । स्वीकार गर्न सक्नु नसक्नु आफ्ना ठाँउमा छ । वास्तविक रहस्यको नयाँ कुरा आविष्कार गर्नेभन्दा पनि पत्ता लगाउनेमात्र हो । यहाँ भएका कुरा खोज्ने र सही उपयोगमा ल्याउनेमात्र हो । संसारमा नयाँ आविष्कार केही पनि छैन ।

यसैले संसार क्षणिक छ । भौतिक पदार्थ सबै नाशवान् छन् । हरेकको आयु छ । थोरै धेरैमात्र हो । ‘पुनरपिजननम् पुनरपि मरणम्’ को चक्र निरन्तर चलि नै रहन्छ । स्वीकार गरे पनि नगरे पनि जे छ त्यो निरन्तर रही नै रहन्छ । जिजीविषा सबैका हुन्छन् र हुनु पनि पर्दछ । आफ्नो कर्मले लिइआएका कुरा भौतिक भए पनि आध्यात्मिक भए पनि भोग्नुको विकल्प रहँदैन । समभावका साथ भोक्ष गर्न सक्नु नै सार्थक जीवन भोगाइ हो । हिरण्य कशिपुले हरेक परिस्थितिलाई बाँधेर मृत्यु जितेँ भन्ने अहंकार फैलाएको थियो । समय आएपछि नरसिंह अवतार भई नष्ट गरेको पुराणका कथाले पनि असम्भव संसारमा केही पनि छैन भन्ने बुझ्न सकिन्छ ।

अरूको सुखमा लोभिनुभन्दा पनि आफ्नो कर्ममा अडिक हुनु जीवनको सफलता हो । जे छ त्यो मिल्छ जे छैन त्यो मिल्दैन । कर्म अवश्य गर्नुपर्छ फल मिले ठिकै छ अनि नमिले पनि ठिकै छ भन्ने समदर्शी भावमा चल्न सक्नु नै सच्चा जीवनयापनको सूत्र हो । समभावको सूत्रमा निरन्तर अगाडि बढ्न सक्नु नै जीवनको सार्थक पक्ष हो । यही कुरा बुझाउन नै उपनिषद्को जन्म भएको हो ।

हामी आफ्नै कर्ममा निरन्तर एक्लै हिँडिरहेका छौँ । जो निरन्तर चलिरहन्छ । चल्नु पर्दछ । केवल सत्मार्गबाट चल्नु पर्दछ र समदर्शी भावबाट चल्न सक्नु पर्दछ । आफूजस्तै अरूलाई पनि देख्न र भोग्न सक्ने भएर चल्न सक्नु पर्दछ । किनकि यो संसार क्षणिक छ र हाम्रा जिजीविषा अनन्त छन् । यसैले हरेक कुरामा सन्तोसको सास फेर्न सक्नु पर्दछ, ‘सन्तोषं परमं सुखम्’ को भावमा चल्न सक्नु पर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?