शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन: मुख्यमन्त्री शर्मा

रासस
Read Time = 4 mins

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताउनुभएको छ ।

गल्लीगल्ली संस्थाद्वारा वीरेन्द्रनगर सुर्खेतमा शनिबार आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) कर्णाली २०७८’ को वार्षिक प्रतिवेदन विमोचन कार्यक्रममा उहाँले शिक्षा समग्र चिजको आर्थिक आधार एवं मूल जग हो भन्नुभयो । पछिल्लो समय शिक्षा श्रमबाट विमुख भएको पनि उहाँले जिकिर गर्नुभयो ।

मुख्यमन्त्री शर्माले भन्नुभयो, “हाम्रो शिक्षा प्रविधिमैत्री बन्न सकेन । यसबाट व्यक्तिको चरित्र निर्माण भएन । यसमा विनियोजित बजेटको समेत परिचालन सही तरिकाले हुन सकेन । तसर्थ व्यवस्थापकीय र सञ्चालन क्षमता बढाउन आवश्यक छ ।” शिक्षाको आमूल परिवर्तनका लागि तीनै तहका सरकारले नीतिगत र व्यवस्थापकीय तहबाट सुधार गर्नुपर्ने उहाँको भनाइ थियो ।

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव डा गोपीकृष्ण खनालले विद्यालयमा बालबालिकाको पहुँच बढे पनि सिकाइस्तर अपेक्षाकृत हुन नसकेको बताउनुभयो । लैङ्गिक समानता र विद्यार्थी सङ्ख्या बढेको छ”, उहाँले भन्नुभयो, “तर गणित र विज्ञानमा अहिले पनि विद्यार्थी कमजोर छन् । प्रमुख सचिव डा खनालले डिजिटल सुशासन र साक्षरताले पनि कर्णालीको विकासमा सहयोग पुग्ने जनाउनुभयो ।

कार्यक्रममा गल्ली गल्ली संस्थाका प्रतिनिधि राजीव तिमिल्सिनाले सिम्ता गाउँपालिका सुर्खेत, सान्नीत्रिवेणी गाउँपालिका कालीकोट, सिद्धकुमाख गाउँपालिका सल्यान, शिवालय गाउँपालिका जाजरकोट र डुङ्गेश्वर गाउँपालिका दैलेखका पाँचदेखि १६ वर्ष उमेरका बालबालिकाको नेपाली, गणित र अंग्रेजी विषयको आधारभूत सिकाइ मापन गरिएको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो ।

डुङ्गेश्वर गाउँपालिका दैलेखका अध्यक्ष सुन्दरकुमार केसी र सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष भरत गिरीले असर नेपालको अनुसन्धानबाट प्राप्त कुराले स्थानीय सरकारलाई आगामी दिनमा शैक्षिक क्षेत्रको सुधारको योजना निर्माणमा सहयोग पुग्ने बताउनुभयो । यद्यपि प्राप्त तथ्याङ्कहरूको प्रमाणीकरण गरेर मात्र अगाडि बढ्ने अध्यक्षद्वयको भनाइ थियो ।

असर नेपाल नामक संस्थाले सन् २०२२ देखि ‘साउथ एसियन, असेसमेन्ट अलायन्सः कम्युनिकेटिङ एन्ड कोल्याबोरेटिङ फर चेन्ज’ नामक कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशका पाँच जिल्लामका एक-एक गाउँपालिकाहरूमा नमूना सर्वेक्षण विधिबाट शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) सञ्चालन गरेको असर नेपालका कर्णाली प्रदेश संयोजक ललितजङ्ग शाहीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?