सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वास मत पाउनेमा भएन ग्यारेन्टी

हिमालय टाइम्स
Read Time = 3 mins

धनगढी । नेकपा माओवादीको सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ ।

शनिबार बसेको संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको हो ।

बैठकले यसबारेमा केन्द्रीय कार्यालयलाई लेखि पठाउने निर्णय गरेको माओवादीका सांसद अक्कल रावलले जानकारी दिनुभयो ।

बैठकपछि माओवादी संसदीय दलका नेता खगराज भट्टले मुख्यमन्त्रीसँग छलफल पनि गर्नुभएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

यसैगरि नागरिक उन्मुक्ति पार्टीले पनि कांग्रेस नेतृतत्वको सरकारलाई विश्वासको मत दिने विषयमा विभिन्न सर्त अघि सारेको छ ।


नागरिक उन्मुक्ति र माओवादी दुवैले विश्वासको मत नदिए एमालेको साथ लिनु पर्ने देखिन्छ त्यो तत्काल सम्भव नहुनसक्छ । यतिबेला सरकार नै संकटमा पर्छ ।

सुदूरपश्चिममा मुख्यमन्त्रीलाई नेपाली काग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत समाजबादी पार्टीसँग ३४ प्रदेशसभा सदस्य छन् । तर, माओवादीले विश्वासको मत नदिएको खण्डमा मुख्यमन्त्री शाहको सरकार ढल्नसक्छ ।

प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत पाउनका लागि २७ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने छ । प्रदेश सभामा ५३ सदस्य छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?