अपांग तथा ज्येष्ठ नागरिकहरूलाई निःशुल्क प्रवेश

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगका सम्पूर्ण खेलहरूमा अपांग तथा ज्येष्ठ नागरिकहरूले निःशुल्क प्रवेश पाउने भएका छन् । लिग भइरहेका तीनवटै स्टेडियममा अपांगता तथा ज्येष्ठ नागरिकहरूको परिचयपत्र देखाएर निःशुल्क प्रवेश गर्न पाइने व्यवस्था गरिएको लिगको मार्केटिङ कम्पनी एमडिएसी स्पोर्ट्सले जनाएको छ ।
शुक्रबारबाट सुरु भएको ‘ए’ डिभिजन लिगमा दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटो गरी तीनवटा रंगशालामा खेल भइरहेको छ । अन्यहरूको हकमा टिकटको मूल्य सामान्य प्याराफिटतर्फको १०० र भिआइपी प्याराफिटतर्फको ३०० तोकिएको छ ।

संकटालाई यु क्यानको साथ
शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि संकटा क्लबले चाइना ट्रेड लिंक प्रालिको यु क्यान ब्राण्डसँग खेल सामग्री प्रायोजन सम्झौता गरेको छ । क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै यु क्यानसँग एक वर्षका लागि सम्झौता गरेको हो । सम्झौतापत्रमा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर र चाइना ट्रेड लिंक प्रालिका प्रबन्ध निर्देशक राजन महर्जनले हस्ताक्षर गर्दै आदान-प्रदान गर्नुभयो । सम्झौताअनुसार चाइना ट्रेड लिंक प्रालिले क्लबलाई करिब सात लाख बराबरको खेल सामग्री प्रदान गर्नेछ । क्लबले यो सिजनका लागि दुई करोड ४० लाख रुपैयाँ खर्च गर्ने योजना बनाएको अध्यक्ष इन्द्रमान तुलाधरले बताउनुभयो । शुक्रबारबाट सुरु भएको लिगमा संकटाले आइतबार त्रिभुवन आर्मी फुटबल क्लबसँग खेल्दै यसपालिको लिगको सुरुवात गर्दैछ ।

यता, ललितपुरको थ्री स्टार क्लब र युरो प्यासन अमेरिका (स्पोर्ट्स ब्राण्ड)बीच किट्स प्रायोजनका लागि सम्झौता भएको छ । यससँगै थ्री स्टारले यसपालिको सिजनमा युरो प्यासन अमेरिका (स्पोर्ट्स ब्राण्ड) को खेल सामग्री प्रयोग गर्नेछ । युरो प्यासन पाकिस्तानमा निर्मित अन्तर्राष्ट्रियस्तरको स्पोर्ट्स ब्राण्ड हो । शुक्रबार सम्झौतापत्रमा हस्ताक्षरपछि किट्स हस्तान्तरण गर्दै युरो प्यासन युएसएका निर्देशक अविशेष सुवेदीले थ्री स्टारलाई लिगका लागि शुभकामनासहित आगामी दिनमा थ्री स्टार क्लब र नेपाली खेलकुदमा निरन्तर सहयोग गर्दै जाने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?