वीरबलको कढी र उपबुज्रुकहरू

Read Time = 13 mins

✍️ स्वयम्भुनाथ कार्की

उपबुज्रुक नेपालीको चेतनस्तर यति धेरै उकालिएको छ कि तिनीहरू राजनीतिक, आर्थिक, सामाजिक आदि विषयमा विश्वका कसैलाई पनि निर्देशन गर्न सक्छन् । यो कुरा व्यंग्य होइन तर केवल एक दिनमात्र प्रत्यक्ष/अप्रत्यक्ष रूपमा, सिधै, सञ्चारमाध्यमले तेस्र्याएको माइकमा, छापामा आउने प्रतिक्रिया, सामाजिक सञ्जालमा व्यक्त हुने धारणाहरूलाई यो आयामले हेर्ने हो भने कुरो व्यंग्यको होइन कटु यथार्थ हो भन्ने प्रष्ट हुन्छ । हुन त यो विशेषज्ञता राजनीतिकर्मीमा पहिले नै पाइने गर्दथ्यो, मन्त्री पद प्राप्त हुने बित्तिकै एकाएक सर्वज्ञता प्राप्त हुने गर्दथ्यो । अर्थशास्त्रीलाई अर्थतन्त्र, चिकित्सकलाई शल्यक्रिया, इन्जिनियरलाई इन्जिनियरिङ पढाएका भाषण त जनताले पचाइसकेका छन् ।

अहिले यही गुण सर्लक्क बहस वीर उपबुज्रुकहरूमा सरेको छ, ज्ञान जतिसुकै होस्, क्षमता जस्तो होस् र स्तर जे होस् हरेक कुरामा अर्ती दिनसक्ने विशेषज्ञता छताछुल्ल देखिन्छ । हुन त जीवनको अनुभवले धेरै कुरा सिकाएको हुन्छ, कठोर भोगाइको पाठ्यक्रममा कुनै पनि विश्वविद्यालयको उपाधिभन्दा ज्यादा ज्ञान हुन्छ । कति कुराहरू त्यसै काममा विशेष प्रशिक्षण हासिल गरेकाको मस्तिष्कमा नआएको पनि सर्वसाधारणको मस्तिष्कमा आउन सक्छ । यसै विषयमा पृथ्वीनारायण शाह सम्बन्धित दुई घटना उल्लेख्य छन् । पहिलो बिसे नगर्चीको सल्लाह र दोस्रो एक बुढी आमैको पहिले छेउ कब्जा गर्नुपर्छ भन्ने अर्ती ।

कति कुराहरू त्यसै काममा विशेष प्रशिक्षण हासिल गरेकाको मस्तिष्कमा नआएको पनि सर्वसाधारणको मस्तिष्कमा आउन सक्छन् । यसै विषयमा पृथ्वीनारायण शाह सम्बन्धित दुई घटना उल्लेख्य छन् । पहिलो बिसे नगर्चीको सल्लाह र दोस्रो एक बुढी आमैको पहिले छेउ कब्जा गर्नुपर्छ भन्ने अर्ती ।

यस्ता अर्तीहरू अरू विभिन्न पात्रहरूले पाए होलान् विभिन्न पात्रहरूले दिए होलान् तर कि अर्ती बेअसर भयो होला कि ∕ लिनेले लिइदिएन होला । पृथ्वीनारायण शाहले लिइदिनाले अर्ती अमर भयो । जतिसुकै भए पनि जेसुकै भने पनि हरेक व्यक्ति हरेक विधाको विशेषज्ञ भने हुन सक्दैन । कसैकसैलाई भने सबैजसो कुराको सामान्य जानकारी भने हुने सक्छ । त्यस्तो व्यक्तिले समाजमा अलग्गै स्थान बनाएको हुन्छ । आफ्नो यो ज्ञानको कारणले छेलोखेलो त होइन सामान्य जीवनयापन गर्न उसलाई कुनै कठिनाइ भएको हुँदैन । अनि यस्तो व्यक्ति अज्ञात पनि रहन सक्दैन । यहाँ चर्चा गर्न खोजिएका सबै कुराको ज्ञाता उपबुज्रुकहरू यी श्रेणीमा पर्दैनन् । पढेलेखेर विद्वानमा दर्ता भएकादेखि सर्वसाधारणसम्म यस्ता उपबबुज्रक बहस वीर पाइन्छन् । उनीहरू तर्कको पर्रा छुटाउन सक्छन् । तर्कमा जसरी भए पनि नहार्नु अर्थात् जिद्दी गरेर भए पनि हार स्वीकार नगर्नु र आफूले प्रस्तुत गरेको तथ्य झुटो सावित हुँदा पनि त्यो झुटो सावित गर्ने तथ्यको स्रोत नै गलत भनेर जित्न खोज्नु यस्ताका निमित्त सामान्य हो । तर, योग्यता क्षमताको कुरामा भने कोही कोही त सामान्य सहज ज्ञानले हुने काम गर्न नसक्ने हुन्छन् ।

त्यसैले जीवनयापनमा धौ-धौ परेको पाइन्छ । तैपनि यिनका तर्कलाई मान्ने हो भने मुलुकको त के कुरा विश्वकै बागडोर हातमा दिने हो भने अहिलेको भन्दा सैयौं गुणा राम्रो विश्व दिने छन् कि भन्ने लाग्छ । यस्ता बहस वीरहरूसँग बहस गरेर कसैले पार पाउँदैन । आफ्नो धारणा वा ज्ञानको स्रोतबाट आएको कुरा कति प्रामाणिक हो ? त्यो कुरा निरपेक्ष सत्य हो वा अरू कुनै कुराको सापेक्ष हो भन्ने विवेचन नै गर्ने जमर्को नै नगरी धारणा थोपर्ने र समस्याको हल पस्कने व्यक्ति यस्तै उपबुज्रकको श्रेणीमा पर्छ । उदाहरणको निमित्त किसानको जीवनस्तर सुधार्न विभिन्न हचुवा सुझाव दिइने गरिएको हुन्छ । आफ्ना हचुवा अनि क्रान्तिकारी लाग्ने सुझावको समर्थनमा जनमत बनाउन लाग्ने गर्दछन् । यस्ता सुझावसँग प्रभावित भएर बनाइने कृषि कार्यक्रम, कृषि नीति आदिले किसानलाई त्राणको साटो थप पीडा दिने गरेका छन् । यस्ता सल्लाहमा भारतीय कृषि उत्पादहरूमा भन्सार बढाउनेदेखि लिएर बिचौलिया उन्मूलनसम्मका कुरा पर्दछन् । यस्तै कृषि अनुदान आदिका कुरा पर्दछन् तर किन भारतीय उत्पादहरू त्यत्रो खर्च गरेर आउँदा नेपाली उत्पादनभन्दा यति सस्तो हुन्छ ?

किन बाहिरबाट आउने उत्पादको सामुन्ने स्वदेशी उत्पाद यत्तिको महँगो हुन्छ कि नबिकेर फाल्नुपर्ने अवस्थामा पुग्छ ? जस्ता प्रश्नको उत्तर खोज्ने जमर्को गरिँदैन । अर्थात् वीरबलको कढीको किस्सा जस्तो अवस्थामा पुगिन्छ । जुन कढीको नाम लिँदा वीरबलले अकबरबाट मोतीमाला पुरष्कार पाए त्यही कढी पेश गर्दा अन्य दरबारियाले खप्की खानु पर्‍यो । सन्दर्भ दिन खोजिएको अकबर वीरबलको किस्सा संक्षेपमा उल्लेख विषयान्तर हुँदैन । सो किस्साअनुसार एकपटक वीरबल कुनै आफन्तको पारिवारिक समारोहमा गएका थिए । सो समारोहमा आयोजकले गरेको भोजमा सामेल भएका थिए । सो कार्यक्रबाट फर्केर आएका वीरबलसँग केही समयपछि मात्र कामको व्यस्तता नभएको समय जुर्‍यो । फुर्सदमा भएको अकबर वीरबलको गफगाफको नै ज्यादाजसो किस्सामा उल्लेख हुने गरेका कुरा हुन् । यस्तै एक क्रममा अकबरले सो समारोहको बारेमा वीरवलसँग सोधे । समारोहको कस्तो आयोजन थियो ? कस्ता-कस्ता पाहुना थिए ? कुन किसिमको भोज गरिएको थियो ? सो भोजमा के के खानेकुरा थिए ? यी यावत् कुरा हुँदै जाँदा अकबरले पकवानहरूको नाम पनि सोध्न थाले ।

किसानको जीवनस्तर सुधार्न विभिन्न हचुवा सुझाव दिइने गरिएको हुन्छ । आफ्ना हचुवा अनि क्रान्तिकारी लाग्ने सुझावको समर्थनमा जनमत बनाउन पनि लाग्ने गर्दछन् । यस्ता सुझावसँग प्रभावित भएर बनाइने कृषि कार्यक्रम, कृषि नीति आदिले किसानलाई त्राणको साटो थप पीडा दिने गरेका छन् ।

एक-एक पकवानको नामपछि उनले रुचि लिएर ‘अनि ?’ भन्दै सोध्ने र वीरबलले एक अर्को पकावनको नाम लिने क्रम चल्दै थियो । अकबरले अनि भनेर सोध्ने अनि वीरबलले एक पकवानको नाम लिने गरेर रमाइलो गर्दे थिए । यस्तैमा कुनै आवश्यक काम आइपर्‍यो र उनीहरूको त्यो रमाइलो गफगाफ अधुरो रहृयो । यस घटनाको निकै दिनपछि दरबारमा बसेका अकबरलाई सो अधुरो गफगाफको सम्झना भयो । अनि वीरबलले कत्तिको सम्झेका रहेछन् भनेर त्यसबेलाको जस्तै शैलीमा वीरबलतर्फ फर्केर सोधे, ‘वीरबल अनि ?’ । वीरबलले तुरुन्त जवाफ दिए ‘कढी, सरकार’ । वीरबलको यो सम्झना शक्ति र प्रत्युत्पन्नमति देखेर अकबर प्रसन्न भए अनि आफ्नो गलाको मोतीमाला खोलेर वीरबललाई लगाइदिए । उपस्थित दरबारीहरूलाई सो घटनाको प्रसंग थाहा थिएन । स्वाभाविक रूपले सोच्न पुगे, जुन कढीको नाम लिँदा नै बादशाह यति प्रसन्न भए कि मोती माला उपहार दिए । यदि त्यो कढी बादशाहलाई पेश गर्न पाए झन् कति इनाम पाइने हो । यसै सोचले प्रेरित भएर भोलिपल्ट सबै दरबारीयाहरूले एक से एक उत्तम कढी बनाएर अ–आफ्ना सेवकलाई बोकाएर दरबार हाजिर भए ।

यस्तो दृश्य देखेर अकबरले यो के हो भनेर सोधे । दरबारीयाहरूले सरकारको निमित्त कढी भन्ने जवाफ दिए । अनौठो कुरा के रहेछ भने कढी अबवरलाई एकदमै मन नपर्ने खानेकुरा रहेछ । त्यसैले आफ्नो निमित्त कढी ल्याउने सबैलाई फटकार लगाए । फटकारमात्र लगाएनन् दरबारीयाको यस्तो सतही र हचुवा व्यवहारले गर्दा दण्ड दिन उद्धत्त भए । अकबरको यो रिस शान्त पार्न पुनः वीरबलले कुशलता प्रदर्शन गर्नु प¥यो । कृषिको मात्र होइन करिब करिब सबै कुरालाई अकबरका हचुवामा बुझ्ने र आफ्नो उपबुज्रुक्याइँ देखाउनेहरूको कमी छैन । तर, वर्तमानमा किस्सामा भएका अकबर जस्तो यस्ता कुरा गर्नेलाई दण्ड गर्न तम्सने ल्याकत र क्षमता दुवैको अभाव नियामक तथा नियन्त्रकको स्थानमा बसेकाहरूमा सर्वथा अभाव देखिएको छ । बरू यस्ता उपबुज्रुक्याइँलाई विशेषज्ञता मानेर त्यसअनुरूप नीति निर्माण गर्ने गरिएको भेटिन्छ । यस्तै कुरामा, ज्ञानमा आधारित भएर नीति बन्ने गर्नाले मुलुक हरेक क्षेत्रमा पछाडि पर्न लागेको छ भनियो भने त्यो अतिशयोक्ति नहोला ।

यस्ता हचुवा उपबुज्रुकहरूको प्रभावले बन्ने गरेको नीतिहरूले अब नागरिकहरूको जीवन कष्टकर हुँदै गएको छ । कसैकसैले त जीवनभन्दा मृत्युलाई ज्यादा सहुलियतपूर्ण देख्न थालेका छन् । त्यसैले अब फाट्टफुट्ट आत्महत्याका समाचार पनि आउन थालेका छन् । यस्ता आत्महत्यामा गएका ज्यानको नैतिक जिम्मेवारी गलत नीति बनाउनेहरूको हुन्छ भने त्यस्तो नीति बनाउन उत्प्रेरित गर्ने उपबुज्रुकहरूमा बराबर नैतिक जिम्मेवारी हुन्छ, हुनुपर्दछ र जिम्मेवार बनाउनु पर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?