राष्ट्र र जनताको हित विपरित सरकार चल्न खोजे सैह्य हुँदैन अध्यक्ष ओली

संविधानसभाकै लागि १७ हजार मान्छे मर्नुपर्छ र ?

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 11 mins

काठमाडौं । नेकपा (एमाले) एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार राष्ट्र र जनताको हित विपरित चल्न खोजे सैह्य नहुने चेतावनी दिनु भएको छ ।

अध्यक्ष ओलीले राष्ट्र र जनताको हित विपरित चल्न खोज्ने सरकारका कुनै पनि गतिविधिलाई आफूहरुले सफल हुन नदिने बताउनु भयो । सुखानीका सहीदहरुको स्मृतिमा आईतबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफूले राष्ट्रियताको कुरा गर्दा कसैले चित्त नदुखाए हुने समेत बताउनु भयो । राष्ट्रको स्वाधिनता र स्वाभिमानमाथि अतिक्रमण गरिए वा होच्याउने काम गरिए आफूलाई स्विकार्य नहुने उहाँको भनाई थियो । सत्ता समर्थक दलहरुले सत्ता स्वार्थको राजनीति गरिरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले आफूहरु भने राष्ट्र र जनताको हितका लागि काम गरिरहने बताउनु भयो ।

उहाँले सत्ता स्वार्थको राजनीति गर्दा देश डुब्छ भने, यहाँको भूगोलमाथि अतिक्रमण हुन्छ भने त्यसमा टुलुटुलु हेरेर बस्ने नसकिने बताउनु भयो । हाम्रा पुर्खाले तोपसँग खुकुरीले लडेर, तोपसँग चक्कुले लडेर कायम गरेको भूगोल, स्वाभिमान बहुतै महंगो मूल्यमा हामीले प्राप्त गरेको उल्लेख गर्दै ओलीले त्यसलाई दायाँबायाँ हुन दिन नसकिने बताउनु भयो । उहाँले न्याय र समानताको आधारमा सबै राष्ट्रहरुसँग बराबरीको सम्बन्ध आफूहरुले राख्न चाहेको पनि पटकपटक दोहो¥याउनु भयो ।

ओलीले भन्नु भयो, ‘हामी हाम्रो राष्ट्रियतालाई प्यारो गर्दछौं । हाम्रो राष्ट्रको सार्वभौमसत्तालाई प्यारो गर्दछौं । स्वाधिनता, स्वातन्त्रतालाई प्यारो गर्दछौं । हाम्रो भौगोलिक अखण्डतालाई, हाम्रो भूमिलाई हामी प्यारो गर्छौं । माया गर्छौं । हामी हाम्रो राष्ट्रको स्वाधिनता र स्वाभिमानलाई अत्यन्तै माया गर्छांै । यसमा कसैले पनि अतिक्रमण गर्नु या यसलाईं होच्याउनु उचित हुँदैन । हामी त्यस्तो भयो भने सहदैनौं । स्विकारदैनौं । फेरी म दोहो¥याउनु चाहन्छु–नेपाल राष्ट्रको हित, नेपाली जनताको हितभन्दा विपरित सरकार कुनै पनि कारणले, कुनै पनि हिसावले चल्न चाहन्छ, खोज्छ भने त्यसको हामी विरोध गर्छौंं । र, त्यस्ता कुराहरुलाई सफल हुन दिँदैनौं । यहाँ नेकपा एमाले भन्ने पार्टी छ । यसले राष्ट्रहित विरुद्धका कदमहरुलाई सफल हुन दिँदैन । यसो भन्दा कसैलाई चित्त दुख्छ भने दुखोस् । हामी कसैको चित्त होइन् राष्ट्रिय हितको रक्षा गर्छौं । हाम्रो राष्ट्रिय हितसँग अरुको अहित जोडिएको छैन । अरुको अहितसँग हामी आफ्नो राष्ट्रिय हित खोजिरहेका छैनौं । अरुको अहितबाट हामी राष्ट्रिय हित खोजिरहेका छैनौं । सबैले राष्ट्रिय हितको कुरा गर्दा, चर्चा गर्दा राष्ट्रिय हितसम्बन्धि दृष्टिकोण प्रस्तुत गर्दा जोसुकैले पनि न्याय हेर्नु पर्दछ । कसैले मलाई नराम्रो भन्दा बिझाउँछ भने अरुलाई पनि बिझाउँछ भन्ने ठान्नु पर्दछ । मेरो खेत अर्काले मिच्दा मलाई पीर पर्छ भने मैले अर्काको खेत मिच्दाखेरी पनि पीर पर्छ भन्ने कुरा बुझ्नु पर्छ । यसो भन्नु पनि अन्याय हुन्छ र ? त्यसकारण हामी न्यायको पक्षमा बोलिरहेका छौं । फेरी म दोहो¥याउन चाहन्छु–अहिलेको राजनीति नेकपा (एमाले) बाहेकको राजनीति लगभग, त्यसमा पनि आफूलाई अलि ठूलो भन्ने अहिले सरकारमा हुने पार्टीहरु या सत्ता समर्थक पार्टीहरु तिनीहरु जम्माजम्मी सत्ताको राजनीति गरिरहेका छन । स्वार्थको राजनीति गरिरहेका छन । लाभको राजनीति गरिरहेका छन । हामीलाई धेरै अप्ठ्यारो होइन यो कुरा । किनभने उनीहरुको सत्ताको राजनीति मात्रै गरिरहन्छन भने हामी देश र जनताको विषय उठाएर जनतामा जान सक्छौं, केही छैन । तर उनीहरुले सत्ताको खेल मात्रै गरिरहँदा र सत्ता स्वार्थको राजनीति, फोहोरी राजनीति हुन्छ । त्यो मात्रे गरिरहँदा देशको अर्थतन्त्र डुब्छ । देशको स्वाभिमानमा आँच पुग्छ । देशको स्वाधिनता खण्डित हुन्छ । र, यो स्वाधिनता यत्तिकै प्राप्त भएको होइन । हाम्रा पुर्खाले तोपसँग खुकुरीले लडेर, तोपसँग चक्कुले लडेर कायम गरेको भूगोल हो । स्वाभिमान हो । त्यसकारण यो स्वाभिमान बहुतै महंगो मूल्यमा हामीले प्राप्त गरेका हौं । साम्राज्यबाद दुनियाँमा हावी हुँदा, दुनियाँमा उपनिवेष हावी हुँदा हाम्रा पूर्खाहरुले हाम्रो भूभागमा, हामीमाथि हावी हुन दिनु भएन । ती महान पूर्खाहरुलाई म हामी सबैको तर्फबाट सलाम भन्न चाहन्छु । महान पूर्खाहरुलाई नमन गर्न चाहन्छु । उहाँहरुको प्रशंशा गर्न चाहन्छु । हो, त्यही बाटो, त्यो स्वाभिमानको बाटो हिँडेर हाम्रा सहीदहरु आफ्नो जीवन आहूति दिनु भएको हो । त्यो बलिदान मजाकको विषय होइन । ख्याल ख्याल होइन । हामी त्यसलाई खेर जान दिँदैनौं । त्यस बलिदानलाई हामी कामय राख्छौं । सत्ता स्वार्थका लागि मैले हिजो भनेको थिए–जनताको भान्सामा विष पु¥याउन पाईदैन सत्ता स्वार्थका लागि । सत्ता स्वार्थको लागि राष्ट्रको शान्ति सुव्यवस्था, राष्ट्रिय स्वाधिनता, राष्ट्रको अस्तित्वमा खेलवार्डपूर्ण ढंगले जोखिम पु¥याउन पाईदैन । सत्ता स्वार्थका लागि कुनै हिसावले पाईदैन । तसर्थ, मैले बोलेका कुरामा चित्त दुखाउने होइन । नेपाली जनतामा भ्रम फिँजाउन खोज्छन । म नेपाली जनतालाई आग्रह गर्न चाहन्छु–कृपया, आदरणीय नेपाली दाजुभाई, दिदीबहिनीहरु, हाम्रा पुर्खाले साह्रै ठूलो बलिदानबाट बहादुरी भन्ने चिज आर्जन गरेँ । त्यो बहादुरीले देशको अस्मिता जोगायो । यो भूमि जोगायो । कहिल्यै हामी पराधिन भएनौं । कसैले हाम्रा टाउकोमा टेकेनन् । टेक्न पाएनन् । अव यतिबेला २१ औं शताब्दीमा आएर केही स्वार्थी तत्वहरुको साना स्वार्थको वशमा परेर हामी हाम्रो टाउँकोमा कसैको पैताला पर्न दिन तयार छैनौं । हामी सार्वभौमिक समानताको आधारमा सबैसँग पारस्परिक लाभ र सम्मानका आधारमा सम्बन्ध गर्न चाहन्छौं । यसो भन्नु अर्घेल्याई होइन । कसैको नोक्सानीको मूल्यमा हामीले लाभ लिन खोजेको होइन । हामीले कसैलाई नोक्सान नपारी स्वाभिमानसहित बस्न खोजेका हौं ।’

ओलीले माओवादी जनयुद्धका कारण मुलुकमा राजतन्त्रको अन्त्य नभएको दावी समेत गर्नु भयो । २०६५ सालमा राजतन्त्रको अन्त्य भएको तर माओवादीको हिंसात्मक गतिविधि २०६३ सालमै अन्त्य भएकाले उनीहरुकै कारण नेपालमा राजतन्त्र अन्त्य भएको भन्न नमिल्ने उहाँको तर्क थियो ।

अध्यक्ष ओलीले भन्नु भयो, ‘२०५२ साल पछि त राजनीतिक स्वार्थको लागि १७ हजार मान्छे मारिए । नेपालमा भएको के थियो के प्राप्तिको लागि मारिए ? बहुदलीय व्यवस्था आएकै थियो । के को लागि मारिए त भन्दा अनौठो छ । आज गणतन्त्रका लागि भनिन्छ । ०६३ सालको सुरूमा द्वन्द्व र हिंसा समाप्त भयो । ०६३ सालमा वृहत शान्ति सम्झौता भयो कात्तिकमा । ६५ सालमा गएर राजतन्त्र संविधान सभाले हटायो भने जनयुद्धले त हटाएन होला ? जनयुद्धबाट कब्जा त गरेको होइन होला त ? संविधानसभाकै लागि १७ हजार मान्छे मर्नुपर्छ र’

अध्यक्ष ओलीले आफूहरुले वास्तविक सहीदहरुको मात्रै सम्मान गर्ने पनि बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?