कुशलले अन्तिम खेल गुमाउने

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले आइसिसी विश्वकप लिग २ अन्तर्गत सोमबार हुने युनाइटेड अरब इमिरेट्स (युएई) सँगको खेल गुमाउने हुनुभएको छ । बायाँ खुट्टाको ग्रोइनको समस्या पुनः बल्झिएपछि कुशलले अन्तिम खेल गुमाउनुहुने भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उहाँको स्थान सन्दीप जोराले लिनुहुनेछ । सन्दीप नेपाली टोलीसँगै युएईमा हुनुहुन्छ । ग्रोइन समस्याका कारण कुशलले टोलीमा अभ्याससमेत गर्न सक्नुभएको थिएन । कुशल बिहीबार युएईसँग पाँच र पपुवा न्युगिनीसँग डकआउट हुनुभएको थियो । त्यसअघि सिरिजको पहिलो खेलमा भने उहाँले पपुवा न्युगिनीविरुद्ध ५५ रनको इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिनुभएको थियो ।

कुशल टोलीमा नभएपछि आसिफ सेख र ज्ञानेन्द्र मल्लले नेपालका लागि ओपनिङ गर्ने सम्भावना छ । यसअघि पनि ज्ञानेन्द्रले थुप्रै खेलहरूमा ओपनिङ गरिसक्नुभएको छ ।

नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका साथ छैटौँ स्थानमा छ । यस सिरिजपछि नेपालले ९ मार्चदेखि घरेलु मैदानमा युएई र पपुवा न्युगिनीसँग सिरिज खेल्नेछ । शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता जोगाउन नेपालले बाँकी पाँचमध्ये तीन खेल जित्नुपर्ने बाध्यता छ ।

नेपालले अब युएईसँग तीन र पपुवा न्युगिनीसँग दुई खेल खेल्न बाँकी छ । युएईसँग नेपालले सोमबार खेल्नेछ । त्यसपछि बाँकी समान दुई खेल भने नेपालले घरेलु मैदान टियुमा खेल्नेछ ।

नेपालले बाँकी सबै खेल जितेको खण्डमा ४० अंकका साथ सोझै विश्वकप छनोट खेल्नेछ । नेपालले सबै खेल जित्दा ३९ अंकका साथ तेस्रो स्थानमा रहेको नामिबियालाई पछि पार्नेछ । तर, नेपालले अब एक खेल हारेको खण्डमा शीर्ष तीनमा नपर्ने पक्का हुनेछ । एक खेल हार्दा र बाँकी सबै खेल जित्दा ३८ अंक हुनेछ । नामिबियाको ३९ अंक पहिला नै हुँदा शीर्ष तीनमा पर्न सक्दैन ।

घरेलु मैदानमा नेपालले ९ मार्चमा पपुवा न्युगिनी, १२ मार्चमा युएई, १३ मार्चमा पपुवा न्युगिनी र १६ मार्चमा युएईसँग खेल्नेछ ।

युएई पराजित
यस्तै, जारी सिरिजअन्तर्गत आइतबार भएको खेलमा युएई पुनः पराजित भएको छ । पिएनजीले युएईलाई ५ विकेटले पराजित गरेको हो । युएईलाई ९७ रनमा रोकेको पिएनजीले २६ ओभर ५ बलमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । पिएनजीको जितमा टोनी उराले ६३ बलमा ३५, सेसे बाउले १८ रन तथा हिरि हिरिले १४ रन बनाउनुभयो । युएईका लागि रोहन मुस्ताफाले २ तथा जाहोर खान, आयान खान र जुनेद सिद्धिकिले समान एक-एक विकेट लिनुभयो ।

त्यसअघि पहिले ब्याटिङ गरेको युएईले २६ ओभर दुई बलमा अलआउट हुँदै ९७ रनमात्र बनायो । उसका वृत्य अरबिन्दले २६, मोहम्मद वासिमले १९ तथा आसिफ खानले ११ बाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । पिएनजीका लागि राइलि हिरूकेले पाँच तथा चाड सोपारले तीन विकेट लिनुभयो ।

जितसँगै पिएनजी ३२ खेलमा चारमा जित र २८ मा हारसहित नौ अंकका साथ पुछारमा रहेको छ । युएईको ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंक रहेको छ । युएई अंक तालिकाको पाँचौँ स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?