तीन लाख धरौटीमा छुटे क्रिकेटर महबुब र आदिल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । एक महिनादेखि हिरासतमा रहेका क्रिकेटर महबुब आलम र आदिल अन्सारी धरौटीमा छुटेका छन् । दुवैजना जिल्ला अदालतले माग गरेको तीन लाख रुपैयाँका दरले धरौटी बुझाएर रिहा भएका हुन् । अदालतले माग गरेको धरौटी बुझाएसँगै स्पट फिक्सिङको आरोपमा पक्राउ परेका उनीहरूसँगै अर्का एकजना पनि छुटेका छन् ।

बाराको सिम्रौनगढ–३ का मोहमद आदिल आलम, सप्तरीको राजविराजका महबुब आलम र पर्साको वीरगञ्जका नितेश गुप्ता पक्राउ परेका थिए । महबुब र आदिल एक महिना प्रहरी हिरासतमा परे । नितेश पछि पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले बुधबार उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
आदिलले अदालतसामु आफूले स्पट फिक्सिङ नगरेको बताएका थिए । आदिललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत माघ ९ मा पक्राउ गरेको थियो । महबुब आलमले सिनियर टोलीबाट खेलेका दुई खेलाडीलाई प्रस्ताव गरेका थिए । सिआइबीका अनुसार आदिललाई एउटा नो बल र अर्को वाइड फ्याँक्न नै प्रस्ताव आएको थियो । आदिलले त्यसैअनुसार मैदानमा नो र वाइड पनि फ्याँकेका थिए ।

सिआइबीले त्यो आइसिसीको नियमअनुसार एसियुलाई कुनै पनि जानकारी दिएका थिएनन् । आदिल अन्सारीले नेपाल टी–२० लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए । गत पुस १९ मा नेपाल टी-२० लिगमा खेल मिलेमतो (म्याच फिक्सिङ) र स्पट फिक्सिङबारे प्रश्न उठेपछि गृह मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई छानबिनका लागि निर्देशन दिएको थियो । सिआइबीले आशंका लागेका क्रिकेटरसँग अनुसन्धान गरेको थियो ।

आदिलले नेपालबाट ६ ओडिआई र आठ टी-२० आई खेल खेलेका छन् । आदिलले मधेश क्रिकेटबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । आदिल तल्लोक्रममा आक्रामक ब्याटिङसँगै तीव्रगतिमा बलिङ गर्ने गर्दछन् । त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म भएको नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?