रचनात्मक कार्यमा बगरफाँटका युवा : खेलकुदमार्फत् चिनाउँदै गाउँ समाज

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । राजनीतिक आस्था र आर्थिक अवस्थाका कारण विभाजित छ समाज । समाज विभाजित हुँदा विकृति र विसंगतिहरू पनि मौलाउँदै गएका छन् । तर, म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका युवाहरूले विभाजित समाजमा मौलाउँदै गएका विकृति र विसंगतिहरूलाई रोक्दै विभिन्न रचनात्मक कार्यहरूमार्फत् समाजलाई जोड्ने र गाउँलाई चिनाउने कार्यहरू गर्दै आएका छन् ।

म्याग्दीको सदरमुकाम बेनीबजारदेखि १५ मिनेटको दूरीमा रहेको बगरफाँट गाउँका युवाहरूले खेलकुदको माध्यमद्वारा गाउँलाई चिनाउने र समाजलाई संगठित बनाउने अभियान थालेका हुन् ।
युवाहरूकै अगुवाइ र पहलमा बगरफाँटमा ५५ मिटर चौडाइ र १ सय मिटर लम्बाइको विशाल खेलमैदान निर्माण भएको छ । करिब १० लाख रुपैयाँको लागतमा निर्माण भएको सो खेलमैदानमा आगामी चैत २८ गतेदेखि एक लाख रुपैयाँ पुरस्कार राशिको प्रथम रिभरसाइड सेभेन ए साइड फुटबल प्रतियोगिता २०७९ आयोजना गरिएको रिभरसाइड युवा क्लब बगरफाँटका अध्यक्ष सुनिल थापाले जानकारी दिनुभयो ।

फुटबल प्रतियोगिताका लागि यहाँका युवाहरू एक महिनाअघिदेखि नै तयारीमा जुटेका छन् । फुटबल प्रतियोगितामा करिब आठ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको क्लबका अध्यक्ष थापाको भनाइ रहेको छ । ‘अहिले हामी खेलमैदानको स्तरोन्नति गर्ने र आर्थिक स्रोत जुटाउने अभियानमा छौँ, सबैतिरबाट हामीलाई राम्रो सहयोग प्राप्त भइरहेको छ,’ अध्यक्ष थापाले भन्नुभयो, ‘खेलकुदको माध्यमद्वारा हामीले समाजलाई संगठित बनाउने र देश विदेशमा चिनाउने लक्ष्य लिएका छौँ ।’
गाउँका भाइहरूको उत्साह र उनीहरूको क्रियाकलाप देखेर÷सुनेर आफूलाई निकै खुसी लागेको र उनीहरूले आयोजना गरेको प्रथम रिभरसाइड सेभेन ए साइड फुटबल प्रतियोगिताको सफलताका लागि आफूले सक्दो सहयोग गर्ने हाल जापानमा रहनुभएका बगरफाँटका युवा सागर कार्कीले बताउनुभयो ।

‘हामीलाई विदेशमा रहनुभएका अग्रज दाइहरू र साथीहरूबाट आवश्यक सहयोग र मार्गदर्शन प्राप्त भइरहेको छ, उहाँहरूको साथ र सहयोगले नै हामीमा केही गरौँ भन्ने भावना विकसित भएको हो,’ रिभरसाइड युवा क्लबका सल्लाहकार एवं बगरफाँटका सक्रिय युवा नारायण थापाले बताउनुभयो ।
बगरफाँट खेलाडीहरूको गाउँ पनि हो । यहाँका युवाहरू जिल्ला र प्रदेशस्तरका विभिन्न खेलकुद प्रतियोगितामा पुरस्कृत र सम्मानित हँुदै आएका छन् । गत माघ दोस्रोे साता पोखरामा सम्पन्न दुईवटा फुटसल प्रतियोगितामा यहाँको रिभरसाइड क्लबले प्रथम र द्वितीय स्थान प्राप्त गर्दै एक लाख ५० हजार रुपैयाँ पुरस्कार जितेको थियो ।

अविनास तामाङ प्रसिडेन्ट दोस्रो केआइसी पोखरा फुटसल टुर्नामेण्टमा रिभरसाइड बगरफाँट युवा क्लबले प्रथम स्थान प्राप्त गर्न सफल भएको थियो । पोखरा र पोखराबाहिरका गरी २२ टिम सहभागी प्रतियोगितामा रिभरसाइड बगरफाँट युवा क्लब प्रथम हुँदै एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको सचिन कार्कीले जानकारी दिनुभयो ।

त्यसैगरी पोखरास्थित भद्रकाली एफसी पोखराले आयोजना गरेको पहिलो भद्रकाली ओपन फुटसल प्रतियोगितामा द्वितीय स्थान प्राप्त गर्न सफल भएको थियो । विभिन्न २४ टिम सहभागी उक्त प्रतियोगितामा दोस्रो भएको क्लबले ५० हजार रुपैयाँ नगदसहित पुरस्कार प्राप्त गरेको हो ।
त्यसैगरी जिल्लास्तरमा हुने कुनै पनि प्रतियोगिताहरूबाट कहिल्यै पनि रित्तो हात फर्किन नपरेको क्लबका सचिव कार्कीले बताउनुभयो ।

पछिल्लो समय बगरफाँटका युवाहरू संगठित भई खेलकुदका साथै अन्य सामाजिक र जनचेतनामूलक कामहरूमा लागेका छन् । यहाँका युवाहरूले कोरोना कालमा घर-घरमा पुगेर औषधि, मास्क, स्यानिटाइजरलगायतका सामग्रीहरू वितरण गर्नेदेखि लिएर अस्पतालसम्म लगेर उपचार गराएर ल्याउने समेत गरेको स्थानीयले बताएका छन् ।

समाजमा कुनै अप्रिय घटना घट्दा होओस् वा कसैलाई सहयोगको आवश्यकता पर्दा, विवाह व्रतबन्धजस्ता मांगलिक कार्यहरू गर्दा होओस् वा दैवीविपत्ति र प्राकृतिक प्रकोपजस्ता घटनाहरू आइपर्दा यहाँका युवाहरूले नै अगुवाइ गर्ने गरेको स्थानीय पाका व्यक्तिहरूको भनाइ रहेको छ ।
चैत अन्तिम साता आयोजना हुन लागेको प्रथम रिभरसाइड फुटबल प्रतियोगिता गाउँको प्रतिष्ठासँग जोडिएको प्रतियोगिता पनि भएकाले समाजका हरेक व्यक्तिहरूलाई आवश्यक सहयोग र सरसल्लाहका लागि यहाँका युवाहरूले आग्रह गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?