नीलकण्ठ नगरपालिकाको संशोधित बजेट सार्वजनिक

Read Time = 7 mins

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाको दोस्रोे नगरसभा एवं दोस्रो अधिवेशन सम्पन्न भएको छ । नगरसभाले संशोधित बजेट, कानुन, ऐन नियम र कार्यविधिहरू स्वीकृत गर्दै दोस्रोे अधिवेशन सम्पन्न भएको हो । गत असारको नगरसभाबाट वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको नगरपालिकाले हिउँदे अधिवेशनबाट केही योजनाहरू संशोधन गरेको छ । यस्तै, अधिवेशनबाट नीलकण्ठ नगरपालिका धादिङले आर्थिक वर्ष २०७९/०८० का लागि एक अर्ब ४९ करोड ८२ लाख २९ हजार २५५ रुपैयाँ संशोधित बजेट सार्वजनिक गरेको छ ।
आइतबार धादिङको सदरमुकाम धादिङबेंसीमा आयोजित दोस्रो नगरसभाको दोस्रो अधिवेशनले उक्त रकम सार्वजनिक गरेको हो । नगरप्रमुख भीमप्रसाद ढुंगानाले नीति तथा कार्यक्रमको समीक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले आगामी पाँच वर्षभित्र देशकै नमुना पूर्वाधारयुक्त पर्यटकीय नगरका रूपमा नीलकण्ठ नगरपालिकाको विकासको गति अघि बढाइरहेको जानकारी दिनुभयो ।

नगरसभामा नगरप्रमुख ढुंगानाले पारदर्शी, जनउत्तरदायी र समृद्ध नगर निर्माणका लागि प्रतिबद्ध रहेको बताउनुभयो । प्रमुख ढुंगानाले इमान्दारिता र आर्थिक पारदर्शिताका आधारमा काम अघि बढाइएको भन्दै सबै पक्षको सकारात्मक सहयोगको अपेक्षा गरेको बताउनुभयो । उपप्रमुख दिपक विश्वकर्माले संशोधित बजेट चालुतर्फ ८७ करोड ७१ लाख २५ हजार ९९१ र पुँजीगततर्फ ६२ करोड ११ लाख तीन हजार २६४ रुपैयाँ विनियोजन गरेको बताउनुभयो ।

पूर्व स्वीकृत बजेट चालुतर्फ ८५ करोड ६ लाख ५५ हजार ९९१ र पुँजीगततर्फ ६३ करोड दुई लाख तीन हजार २६४ रुपैयाँ गरी कुल एक अर्ब ४८ करोड आठ लाख ५९ हजार २५५ रहेको थियो । चालु आर्थिक वर्षको बजेट एक करोड ७३ हजार ७० लाख रुपैयाँले वृद्धि हुन आउने उपप्रमुख विश्वकर्माले बताउनुभयो ।

चालु आर्थिक वर्षको आर्थिक विकासतर्फ विनियोजित १२ करोड दुई लाख ६४ हजार ४४६ रुपैयाँमध्ये १३.०४ प्रतिशत खर्च भएको उहाँले बताउनुभयो । सामाजिक विकासतर्फ ६१ करोड ७९ लाख ६९ हजार ९४५ रुपैयाँमध्ये ५३.७१ प्रतिशत खर्च र पूर्वाधारतर्फ ५० करोड २१ लाख २६ हजार ७६४ रुपैयाँमध्ये १७.४५ प्रतिशत खर्च भएको उपमेयर विश्वकर्माले बताउनुभयो ।

विगत पाँच वर्षको कार्यकालमा सेवा प्रवाहमा चुस्तता, पारदर्शितासहित जनप्रिय कार्यक्रमहरू सञ्चालन गरेको नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुंगानाले बताउनुभयो । हाल दोस्रो कार्यकालमा देखिने खालको दिगो र समग्र विकासका लागि प्रथम नगर अधिवेशनबाट जनमुखी नीति तथा कार्यक्रम थालिएको छ । ‘सुत्केरीलाई निःशुल्क एम्बुलेन्स, विपन्न परिवारलाई १० हजार अन्तिम संस्कार खर्च, विपद्मा तत्काल राहत उद्धार, कृषि सहकारी, उद्यमीलाई विशेष अनुदानसहितको कार्यक्रम, पशुबीमामा ९० प्रतिशत अनुदान, सातवटा नयाँ स्वास्थ्य संस्था स्थापना गरी निःशुल्क औषधि तथा ल्याब सेवा, शिक्षा क्षेत्रमा विशेष लगानी, सामाजिक संस्था, सहकारी, सामुदायिक, सांस्कृतिक, जातीय र धार्मिक संस्थाहरूलाई मागका आधारमा सहयोग, घुम्ती सेवामार्फत् टोल-टोलमा सेवा प्रवाह गर्नेछ । यस्तै, तीर्खामुक्त नगरका लागि बृहत् खानेपानी योजना, ९५ किलोमिटर नगर चक्रपथ ट्र्याक, धादिङबेंसी बजारको करिडोर डिपिआर गरी निर्माण सुरु गरिएको उहाँले बताउनुभयो । नगरपालिकामा करिब ८५० किलोमिटर सडक निर्माण भएको छ ।

गाउँमा उत्पादनमुखी कार्यक्रम, पर्यटकीय शहरको परिकल्पना, धादिङबेंसीमा अत्याधुनिक पार्किङ प्रणालीसहितको बसपार्क, फोहोर व्यवस्थापन, स्वास्थ्य क्षेत्रमा प्रविधि र पूर्वाधारमा सुधार कार्य, बहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने, शैक्षिक प्रविधि र पूर्वाधार, कृषि तथा पशुपक्षी विकास कार्यक्रम, खेलकुद, कला संस्कृति, लैंगिक तथा सामाजिक समावेशीकरणजस्ता क्षेत्रमा कार्यक्रम सञ्चालन भइरहेका छन् । समृद्ध नीलकण्ठ नगरको आधार, कृषि पर्यटन उद्यमशीलतासहितको पूर्वाधार भन्ने मूल मर्मका साथ दोस्रो नगरसभाको दोस्रो अधिवेशन सम्पन्न भएको हो । नगरसभाकै अवसरमा नीलकण्ठ नगरपालिकाको लोगो बनाउने नीलकण्ठ नगरपालिका-३ का प्रेमकुमार श्रेष्ठ, उत्कृष्ट काम गर्ने कर्मचारी लोकनाथ उपाध्याय र इञ्जिनियर विशाल कँडेललाई सम्मान गरिएको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?