कर्णालीमा औद्योगिक ग्राम निर्माण सुस्त

Read Time = 5 mins

सुर्खेत । कर्णालीमा औद्योगिक ग्राम निर्माण कार्यमा अलमल देखिएको छ । संघीय सरकारले अघि सारेको एक स्थानीय तह एक औद्योगिक ग्राम निर्माण कार्यक्रमअन्तर्गत छनोट भएका स्थानीय तहमा निर्माणले गति लिन नसकेको हो । सुर्खेतका चार तथा कालिकोट र जाजरकोटका एक–एक पालिकामा औद्योगिक ग्राम निर्माणको घोषणा गरिएको थियो । सुर्खेतको पञ्चपुरी नगरपालिकामा २०७६, भेरीगंगा, चौकुने र गुर्भाकोट नगरपालिका, जाजरकोटको शिवालय गाउँपालिकामा २०७७ सालमा तथा कालिकोटको शुभकालिका गाउँपालिकामा औद्योगिक ग्राम निर्माणका लागि २०७८ सालमा घोषणा गरिएको थियो ।

भेरीगंगाको रामघाटस्थित २० बिगाह क्षेत्रमा औद्योगिक ग्राम निर्माणका लागि स्थान तोकिएको छ । उक्त क्षेत्रमा हालसम्म घेराबाराको काममात्रै भएको छ । गत आर्थिक वर्षमा संघीय सरकारबाट आएको रकमले घेराबारा गरिएको र यस वर्ष संघीय सरकारसँग बजेट माग गरे पनि आइनसकेको नगरप्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिनुभयो ।

यस्तै, पञ्चपुरी नगरपालिकाका वडा नं. ६ र ८ को बीचमा पर्ने दुलालथाईमा औद्योगिक ग्राम निर्माणका लागि पाँच सय रोपनी जग्गा छुट्याइएको छ । उक्त क्षेत्रमा हालसम्म कार्यालयका लागि चारकोठे भवन, चमेना गृह, शौचालय निर्माण भएको पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले जानकारी दिनुभयो । सडक, घेराबारालगायतका काम बाँकी रहेको नगरप्रमुख भण्डारीको भनाइ छ ।

चौकुने गाउँपालिकाको वडा नं. ५ स्थित मायाताल औद्योगिक ग्राम निर्माण थालिएको छ । १० बिघा जग्गा छुट्याएर औद्योगिक ग्राम निर्माण थालिए पनि हालसम्म घेराबारा, शौचालय र एउटा कार्यालय भवनमात्रै निर्माण भएको छ । अघिल्लो वर्ष आएको बजेटले भवन र शौचालय निर्माणको काम भए पनि रकम अभावमा अन्य काम अघि बढ्न नसकेको गाउँपालिकाका अध्यक्ष खड्क विकले बताउनुभयो ।
पर्याप्त बजेट नहुँदा औद्योगिक ग्राम निर्माणमा समस्या भएको अध्यक्ष विकको भनाइ छ । उद्योग सञ्चालनका लागि पानी, विद्युत्जस्ता पूर्वाधारको तत्काल आवश्यकता रहेको उहाँले बताउनुभयो । जाजरकोटको शिवालय गाउँपालिकाले वडा नं. ४ मा औद्योगिक ग्रामका लागि ४८ रोपनी जग्गा छुट्याएको छ । औद्योगिक ग्राम निर्माण कार्य भने सुस्त छ ।

चालु आर्थिक वर्षका लागि बजेट आएको छैन । बजेट नआउँदा समयमै निर्माण हुन नसकेको गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाही बताउनुहुन्छ । कालिकोटको शुभकालिका गाउँपालिकाले पनि वडा नं. ४ राराकाटियाँ भन्ने ठाउँमा जग्गा छनोट गरेको छ । गत आर्थिक वर्षमा पूर्वाधार निर्माणका लागि ठेक्का सम्झौता भए पनि काम भने सुरु हुन सकेको छैन ।

निर्माण सुरु गर्नका लागि ठेकेदार कम्पनीसँंग छलफल गरेको र चाँडै सुरु हुने शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताउनुभयो । ‘गत वर्ष आएको बजेटले पूर्वाधार निर्माण गर्नका लागि ठेक्का सम्झौता भएको छ,’ उहाँले भन्नुभयो, ‘ठेकेदारले निर्माण सुरु नगर्दा ढिलो भएको छ, हामीले पटक-पटक काम सुरु गर्न भनेका छौँ, अब चाँडै सुरु हुन्छ ।’

कर्णाली प्रदेश सरकारले पनि औद्योगिक ग्राम निर्माणमा साझेदारीका लागि बजेट छुट्याउने गरेको छ । कार्यान्वयन नहुँदा बर्सेनि बजेट फ्रिज हुने गरेको छ । चालु आर्थिक वर्षमा पनि औद्योगिक ग्राम निर्माणका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ । मन्त्रिपरिषद्को निर्णयका आधारमा उक्त रकम खर्च हुने मन्त्रालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?