रद्द हुँदै घोराही–तुलसीपुर चार लेन ठेक्का प्रकृया

विवेक खड्का दाङ, संवाददाता
Read Time = 6 mins

दाङ । दाङको घोराही–तुलसीपुर चार लेन सडक परियोजनाको ठेक्का रद्द गर्ने तयारी भएको छ । चार लेन परियोजना कार्यालय लमहीले सोमबार सूचना प्रकाशित गरी ठेक्का रद्द गर्नका लागि १४ दिने सूचना जारी गरेको छ । उसले ठेक्का रद्द गर्नु नपर्ने कारणसहित सम्बन्धित ठेकेदार कम्पनीलाई १४ दिनभित्र सम्पर्क गर्न सूचना जारी गरेको छ ।

परियोजना प्रमुख अनिश थापा मगरका अनुसार यदि त्यो अवधिमा सम्पर्कमा नआए त्यही दिनदेखि नै ठेक्का रद्द हुने सूचनामा उल्लेख छ । चार लेन ठेक्काको पटक–पटक गरी चौथो पटक म्याद थप गरिएको थियो । त्यो अवधि विसं २०८० असारसम्म थियो । तर, त्यो अवधिमा ठेक्का लिएको कम्पनीले काम गर्न सक्ने सम्भावना कम रहेकाले ठेक्का तोड्ने प्रक्रिया अघि बढेको हो । चार लेनको ठेक्का भारतीय तथ्य इन्जिनियरिङ एन्ड इन्फ्राले लिएको छ । उक्त कम्पनीले पेटी ठेकेदारमार्फत काम गर्दै आएको थियो ।

यो बीचमा आठजना पेटी ठेकेदारलाई काम दिएको भए पनि निर्माण सुरु भएको पाँच वर्षसम्म पनि १० प्रतिशतभन्दा बढी काम हुन सकेको छैन । यसबाट गर्दा यस क्षेत्रका जनप्रतिनिधि, विभिन्न सङ्घसंस्था तथा राजनीतिक दलले समयमा काम गर्न दबाब दिएका थिए । यदि काम गर्न नसके ठेक्का तोड्नुपर्ने माग राख्दै आएका थिए । पटक–पटक जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला समन्वय समितिको पहलमा छलफल भइरहेका थिए । तर पनि सन्तोषजनक काम नगरेपछि ठेक्का तोड्न लागिएको हो । पटक–पटक ठेकेदार कम्पनीलाई तोकिएको अवधिमा काम सक्ने गरी लिखित कार्यतालिका र प्रतिबद्धता पेस गर्न परियोजना कार्यालयले सूचना जारी गरेको थियो । त्यसबीचमा ठेकेदार कम्पनीले लिखित र मौखिक प्रतिबद्धता जनाए पनि काम हुन नसकेको उहाँको भनाइ छ । चार लेन सडक अलपत्र हुँदा अहिले नागरिकले सास्ती खेप्नु परेको छ । सडकमा आवतजावत गर्दा यात्रुहरु, सडक वरपरका बासिन्दा लगायतले निकै सास्ती खेप्नु परेको छ ।

लामो समयदेखि अलपत्र चार लेन

घोराही–तुलसीपुर चार लेनको काम २०७५ माघदेखि सुरु भएको हो । तीस महिनामा काम सक्ने गरी सम्झौता भयो । उक्त सडकमा अहिलेसम्म सातजना पेटी ठेकेदार फेरिएका छन् । चौथो पटक म्याद थप भइसकेको छ ।

विसं २०७८ जेठ ६ गतेभित्र काम सक्नुपर्ने भए पनि त्यसो हुन सकेन । त्यसपछि २०७८ साउन २७ गतेसम्म काम सक्ने गरी पहिलो पटक र २०७८ पुस २८ गते सक्ने गरी दोस्रो पटक म्याद थप भयो । तर, काम अघि बढ्न नसकेपछि तेस्रो पटक २०७९ वैशाख २९ गते सक्ने गरी म्याद थप भएको थियो । त्यो समयमा पनि १० प्रतिशतभन्दा बढी काम हुन सकेन । अहिले खरिद ऐनको १२औँ संशोधनले चौथो पटकका लागि २०८० असारसम्म स्वतः म्याद थप गरेको छ । सुरुमा अष्टभैरव निर्माण सेवाका अनुप पाण्डेले ठेक्का पाए त्यसपछि सुवास श्रेष्ठ, जनक डाँगीले पेटी ठेकेदारका रुपमा जिम्मा पाए । त्यसपछि पुनः अनुप पाण्डे आए । उनले पनि गर्न नसकेपछि एकेन्द्र खड्का, विजय पाठक र रोशन श्रेष्ठले पनि प्रत्येकले पेटी ठेक्का पाए । उनीहरूबाट पनि काम हुन नसकेपछि अहिले सुनिलजङ्ग रायमाझी आएका हुन् । पटक पटक म्याद थप हुने तर, काम नसकिँदा नागरिकस्तरबाट पनि विरोध हुने गरेको छ । केही दिनअघि मात्रै सामाजिक अभियन्ताहरूको पहलमा चार लेनमा परेका खाल्डाखुल्डी पुर्ने काम भएको थियो ।

भारतीय एक्जिम बैंकको सहयोगमा चार लेन सडक एक करोड २१ लाख ८२ हजार तीन सय एक अमेरिकी डलर (रु एक अर्ब २३ करोड) मा निर्माण हुन लागेको हो । भारतीय तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले ठेक्का लिएको हो । पछिल्लो समय पुस १८ देखि बुटवलका सुनलिजङ्ग रायमाझीले पेटी ठेक्का पाएका छन् । तर उनले पनि काम अगाडि बढाउन सकेका छैनन् । तोकिएको समयमा ठेक्काको ३० प्रतिशत काम नसकेकाले अहिले ठेकेदार कम्पनीलाई दैनिक करिब रु तीन लाख २१ हजार नौ सय नेपाली जरिवाना गर्ने गरेको छ । कूल रकमको १० प्रतिशतसम्म जरिवाना हुने व्यवस्थाअनुसार ठेकेदार कम्पनीलाई जरिवाना गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?