अध्यक्ष कप खेलकुद प्रतियोगितामा पहिलो पटक गोरु जुधाइ

हिमालय टाइम्स
Read Time = 6 mins

राजकुमार कार्की/हिटा
ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप खेलकुद प्रतियोगितामा पहिलोपटक गोरु जुधाइ प्रतियोगिता गरिएको छ । ओखलढुंगा जिल्लामा पुरस्कार वितरणसहित सरकारी तहबाट आयोजना गरिएको खेलकुद प्रतियोगितामा पहिलोपटक गोरु जुधाइ प्रतियोगिता गरिएको हो । गाउँपालिकाद्वारा निर्माण गरिएको जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान चम्पादेवी गाउँपालिका–९ स्थित द. डल्ली डाँडामा भएको ‘श्रीचम्पादेवी’ खेलमैदानमा फागुन १९ गतेदेखि अध्यक्ष कप खेलकुद प्रतियोगिताको सुरु भएको थियो ।

गोरु जुधाइ प्रतियोगितासँगसँगै जिल्लाकै सर्वाधिक पुरस्कार रहेको अन्तरपालिकास्तरीय खुला भलिबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता, जीवन संगिनी बोकेर दौडिने प्रतियोगिता, घैंटोफोर प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता, तान डोरी प्रतियोगिता, बालन प्रतियोगितालगायतका प्रतियोगिता गरिएको सामाजिक विकास समितिका संयोजक विष्णु पुलामी मगरले जानकारी दिनुभयो ।

खेलमा पाँचवटा गोरुको सहभागिता रहेको थियो । सहभागी गोरुमध्ये चम्पादेवी-८ का बलबहादुर राईको फुर्के गोरु प्रथम, चम्पादेवी-९ का दिपक राईको फुर्के गोरु द्वितीय र चम्पादेवी-९ का छेपाल शेर्पाको फुर्के गोरु तृतीय भएका थिए । प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार १० हजार नगद पुरस्कार वितरण गरिएको थियो । रैथाने खेलहरू र स्थानीय प्रतियोगिताको थप विकास र प्रवद्र्धन गर्नका लागि सरकारी तहबाटै रैथाने खेल प्रतियोगिताको आयोजना गरिएको चम्पादेवी गाउँपालिकाका प्रमुख नवराज केसीले बताउनुभयो ।

अन्तरपालिकास्तरीय खुला भलिबल प्रतियोगितामा चिसंखुगढी गाउँपालिका ओखलढुंगा प्रथम, चम्पादेवी गाउँपालिका ओखलढुंगा द्वितीय, गोकुलगंगा गाउँपालिका रामेछाप तृतीय र लिखु गाउँपालिका ओखलढुंगा (ए) सान्त्वना भएका थिए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरूलाई क्रमशः दुई लाख, एक लाख ५० हजार, एक लाख र ४० हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

खुला घोडा दौड प्रतियोगितामा चम्पादेवी-९ का जितबहादुर चौरेल (माइकल) को घोडा राजा प्रथम, चम्पादेवी-४ का इन्द्रबहादुर खत्रीको घोडा बादल द्वितीय खिजीदेम्बा-५ का पासाङ शेर्पाको घोडा तृतीय र मोलुङ गाउँपालिका-६ की जङ्मु शेर्पा (मंसिरे कान्छी) को घोडा सान्त्वना भएका थिए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरूलाई क्रमशः ३० हजार, २० हजार, १० हजार र पाँच हजार नगदसहित मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

जीवन संगिनी बोकेर दौडिने प्रतियोगितामा चम्पादेवी-८ का गणेश गुरुङ र श्रीमती विनिता गुरुङ प्रथम, चम्पादेवी–६ का कुवेर कार्की र श्रीमती सुशीला बोगटी ( कार्की) द्वितीय र चम्पादेवी-९ का बालकुमार मिश्र र श्रीमती आशा मिश्र तृतीय हुनुभएको थियो । प्रथम, द्वितीय र तृतीय हुने जोडीलाई क्रमशः सात हजार, पाँच हजार तीन हजार नगदसहित मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

तानडोरी प्रतियोगितामा ज्ञानबहादुर खत्रीको टिम प्रथम, तोरण बुढाथोकीको टिम द्वितीय र केशव खड्काको टिम तृतीय भएका थिए । प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई क्रमशः २० हजार, १० हजार र पाँच हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

लोकदोहोरी प्रतियोगितामा अर्जुन घिमिरेको टिम प्रथम, रमिता मगरको टिम द्वितीय र अनिता मगरको टिम तृतीय भएका थिए । प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार नगदसहित मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?