उपराष्ट्रपति निर्वाचन : मनोनयन दर्ता आज, छलफलमै दलहरू

अनिल क्षेत्री
Read Time = 21 mins

काठमाडौं । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको लागि आज (शनिबार) मनोनयन दर्ता हुँदै छ । निर्वाचन आयोगले बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी पत्र दर्ता गर्ने समय निर्धारण गरेको छ । संघीय संसद् परिसर नयाँ बानेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्ने कार्यक्रम छ । आजै मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने र उम्मेदवारको विरोधमा उजुरी दिन मिल्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार २८ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ भने चैत ३ गते मतदान गर्ने कार्यक्रम रहेको उल्लेख गरिएको छ । मतदानपश्चात् सबै मतपेटिका मतदान अधिकृतबाट निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि निर्वाचन अधिकृतले तोकेको समय र स्थानमा मतगणना कार्य सुरु गरिनेछ । मतगणना कार्य समाप्त भएपछि निर्वाचन घोषणा गरिने आयोगले जनाएको छ । आयोगद्वारा जारी कार्यतालिकामा भनिएको छ, ‘कुनै उम्मेदवारले प्राप्त गरेको मत निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत नभएको कारण राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ५६ को उपदफा (१) वा उपदफा (३) बमोजिम पुनः मतदान गराउनुपर्ने अवस्थामा निर्वाचन अधिकृतले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी नियमावली, २०७४ को नियम ४० बमोजिम मतदानको मिति तोकी पुनः मतदान गराइनेछ ।’

उपराष्ट्रिपतिका लागि मनोनयन दर्ता गर्ने दिन अघिल्लो दिनसम्म पनि दलहरूले उम्मेदवारबारे टुंगो लगाएका छैनन् । सत्ता गठबन्धनमा उपराष्ट्रपति कसले लिने भन्नेबारे सहमति हुन सकेको छैन । गठबन्धनका शीर्ष नेताहरूको बैठकले यसबारे अन्तिम टुंगो लगाउने भएको छ । नेकपा एमालेले पनि उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन बैठक बोलाएको छ ।

आयोगले भन्यो- खसआर्य पुरुष बाहेकका उम्मेदवार बनाउनू
निर्वाचन आयोगले राष्ट्रपतिमा खसआर्य समुदायका पुरुष निर्वाचित भइसकेकाले अब योभन्दा फरक लिंग वा समुदायको व्यक्ति उपराष्ट्रपतिको उम्मेदवार बन्नुपर्ने स्पष्ट पारेको छ । आयोगको शुक्रबार बसेको बैठकले उम्मेदवारको योग्यता क्रममा थप स्पष्ट पार्दै राष्ट्रपतिमा खसआर्य समुदायका पुरुष निर्वाचित भइसकेकाले अब योभन्दा फरक लिंग वा समुदायको व्यक्ति उम्मेदवार हुनुपर्ने व्यवस्थाअनुसार उम्मेदवारी दर्ता गराउन निर्वाचत अधिकृतहरूलाई निर्देशन दिएको हो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६५ को उपदफा २ बमोजिम दिइएको निर्देशनमा नेपालको संविधानको धारा ७० मा ‘यस संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक–फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्नेछ’ भन्ने व्यवस्था छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा ‘यस दफाबमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिंग वा समुदायको हो सो भन्दा फरक लिंग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्नेछ’ भन्ने व्यवस्था छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०७९ साल फागुन २५ गते सम्पन्न भएको राष्ट्रपतिको निर्वाचनमा खसआर्य समावेशी समूहका पुरुष व्यक्ति रामचन्द्र पौडेल निर्वाचित हुनुभएको हुँदा स्वीकृत निर्वाचन कार्यक्रमअनुसार यही फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिंग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिंग (महिला वा अन्य) वा फरक समुदाय दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्ने व्यहोरा उल्लेख गरिएको छ ।’ आयोगले उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्ने संकेत गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपतिमा पुरुषको उम्मेदवारी दर्ता नहुने स्ष्ट पार्दै भन्नुभयो, ‘राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगको हुनुपर्ने भन्ने कुरा संविधानमा लेखिएको छ । आयोगले त्यसैअनुसार निर्देशन दिएको हो । बिहीबार रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भइसकेकाले खसआर्य समुदायका महिलाले पनि उम्मेदवारी दिन पाउनुहुन्न । राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगको नभएमा उम्मेदवारी दर्ता नगर्न निर्देशन दिइसकेका छौँ । उम्मेदवारी नै दर्ता हुँदैन ।’

आयोगको निर्णयप्रति जसपाको आपत्ति
जनता समाजवादी पार्टी (जसपा)ले निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनबारे आफूखुसी व्याख्या गरेको आरोप लगाएको छ । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेपछि आयोगले फरक समुदायको महिला हुनुपर्ने भन्दै विज्ञप्ति जारी गरेपछि जसपाले आयोगको निर्णयप्रति आपत्ति जनाएको हो । जसपाले उपराष्ट्रपतिको उम्मेदवार महिला मात्रै हुन पाउने व्याख्या गलत भएको समेत टिप्पणी गरेको छ । जसपाले पुरुष राष्ट्रपति भएकाले महिला मात्रै उपराष्ट्रपतिको उम्मेदवार हुुनसक्ने आयोगले भन्न नमिल्ने प्रतिक्रिया दिएको हो । जसपाका सांसद प्रदीप यादवले भन्नुभयो, ‘निर्वाचन आयोगलाई आफूखुसी संविधानको व्याख्या गर्ने अधिकार छैन । यदि उपराष्ट्रपतिको उम्मेदवार महिला मात्रै हुन सक्छ भनियो भने त्यो गलत हुन्छ । हामीले संविधानको भावनाअनुसार उम्मेदवार तय गरेका हौँ । यसमा आयोगले गलत तरिकाले व्याख्या गर्न मिल्दैन । संविधानले फरक समुदायको व्यक्ति हुनैपर्ने भनेको हो । तर, फरक लिंग भनेको छैन ।’ जसपाले बारा-२ बाट प्रतिनिधिसभामा निर्वाचित पार्टी संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उठाउने निर्णय नै गरिसकेको छ ।

उपराष्ट्रपतिमा यादवकै उम्मेदवारी दर्ता गर्छौं : अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति उम्मेदवारमा पार्टीका रामसहायप्रसाद यादवको नाम दर्ता गरिने दाबी गर्नुभएको छ । राष्ट्रपति र उपराष्ट्रपति हुन फरक लिंग वा समुदायको व्यवस्था भएकाले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवले नै उम्मेदवारी दिने जानकारी दिँदै अध्यक्ष यादवले भन्नुभयो, ‘निर्वाचन आयोगले महिला अनिवार्य भनेको थाहा छैन । निर्वाचन आयोगको विज्ञप्तिमा पनि छैन । लिंग वा फरक समुदाय भनिएको छ । संविधान र निर्वाचन ऐनमा त्यहीँ छ । फरक लिंग वा समुदाय भनेको रामचन्द्र पौडेल र रामसहायप्रसाद यादव एउटै समुदाय होइनन् ।’

नागरिक उन्मुक्तिबाट रञ्जिताको नाम सिफारिस, उमेर तगारो
नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । नाउपाको शुक्रबार बसेको संसदीय दलको बैठकले अध्यक्ष श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक गंगाराम थारूले जानकारी दिनुभयो । नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच उपराष्ट्रपति जसपालाई दिने सहमति भएको सार्वजनिक भएको छ । तर, गठबन्धनमै रहेको नाउपाले उपराष्ट्रपति उम्मेदवारमा श्रेष्ठलाई उठाउने निर्णय गरेको हो । नाउपाले पार्टी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि योग्यता नपुग्ने देखिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार भने राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार बन्न कम्तीमा ४५ वर्ष पूरा भएको हुनुपर्छ । गत मंसिरमा सम्पन्न निर्वाचनमा कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठ त्यतिबेला ३९ वर्ष मात्र भएकाले उपराष्ट्रपति बन्न उमेर नपुग्ने देखिएको हो । ऐनको दफा ११ मा उम्मेदवारको योग्यतासम्बन्धी प्रावधान रहेको छ । उक्त दफाको उपदफा ‘ख’ मा ‘कम्तीमा ४५ वर्ष उमेर पूरा भएको’ हुनुपर्ने उल्लेख छ । त्यस्तै, नेपालको संविधानको धारा ६५ मा राष्ट्रपति बन्न कम्तीमा ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने उल्लेख छ । तर, उपराष्ट्रपति बन्नका लागि कति उमेर हुनुपर्ने भन्ने उल्लेख नभए पनि ‘राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिने’ उल्लेख छ ।

महिला उपराष्ट्रपति बनाउनुपर्ने पक्षमा माओवादी
नेकपा माओवादी केन्द्र महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने पक्षमा देखिएको छ । निर्वाचन आयोगले राष्ट्रपतिमा पुरुष र खसआर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भएकाले योभन्दा फरक लिंग वा समुदायको व्यक्ति उपराष्ट्रपति पदको उम्मेदवार हुनसक्ने विज्ञप्तिबारे सत्तासाझेदार दलहरूको साझा धारणा आइसकेको छैन । तर, माओवादी केन्द्रले पुरुष राष्ट्रपति भएकाले महिला उपराष्ट्रपति हुँदा राम्रो हुने बताएको छ । उपराष्ट्रपतिमा लैंगिक रूपले फरक र सामुदायिक फरक हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको जानकारी दिँदै माओवादी केन्द्रका महासचिव देव गुरुङले भन्नुभयो, ‘उपराष्ट्रपतिमा जसले सिफारिस गरेको भए पनि संविधानतः राष्ट्रपति र उपराष्ट्रपतिको बीचमा लैंगिक रूपले फरक र सामुदायिक फरक भन्ने छ । अभ्यास हामीले के बसाल्ने प्रक्रियाको सुरु गरियो भने एउटा पुरुष भए अर्को महिला हुनुपर्छ भन्ने मान्यता बसिसकेको छ । नेपालको अहिलेको अवस्था स्थिति सबैतिरबाट हेर्दा फरक समुदायको महिला नै भए बेस हुन्थ्यो । हामीले परामर्श दिनुपर्दा लैंगिक रूपले फरक हुनुपर्छ । महिला दिँदा राम्रो हुन्छ ।’

जसपालाई उपराष्ट्रपति दिने निर्णय भइसकेको छैन : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनता समाजवादी पार्टीलाई उपराष्ट्रपति दिने निर्णय नभइसकेको बताउनुभएको छ । शुक्रबार ललितपुरको बाँडेगाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रम पुग्नुभएका खड्काले अब छिट्टै नै गठबन्धनको बैठक बसेर यसबारे औपचारिक निर्णय गर्ने बताउनुभयो । दलहरूबीच सहमति गरेर उपराष्ट्रपति निर्वाचनमा पनि सकारात्मक परिणाम ल्याउने उहाँले बताउनुभयो । ‘उपराष्ट्रपति निर्वाचनबारे केही समझदारी, सहमति भएका छन् । प्रधानमन्त्रीजीले त्यसको संयोजन गर्नुहुनेछ,’ उहाँले भन्नुभयो, ‘सम्बन्धित दल र नेताहरूको बैठक बोलाएर औपचारिक रूपमा निर्णयमा पुग्छौँ । जसपालाई उपराष्ट्रपति दिने कुरा आठ दलको बीचमा प्रवेश गरिसकेको छैन ।’

जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा उठाउने
जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति उम्मेदवार उठाउने भएको छ । उपराष्ट्रपति आफूले पाउनुपर्ने दाबी गर्दै आएको जनमत पार्टीले झालाई उम्मेदवार बनाउने नेता बिपी साहले जानकारी दिनुभयो । सद्भावना पार्टीबाट राजनीति सुरु गर्नुभएकी झा जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज हुनुहुन्छ । उहाँ गत स्थानीय तह चुनावमा राजविराज नगरपालिकाको मेयरमा समेत उम्मेदवार हुनुहुन्थ्यो ।
उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी नेपालले पनि दाबी गर्दै आएको छ । गठबन्धनमा आबद्ध नागरिक उन्मुक्ति पार्टीले पनि उपराष्ट्रपतिमा दाबी गर्दै अध्यक्ष रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । यद्यपि, श्रेष्ठको योग्यता नपुग्ने देखिएको छ ।

एमालेले आज उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने
उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक शनिबार बिहान नौ बजे बस्ने उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्नेछ । साथै राष्ट्रपति निर्वाचनबारे समेत बैठकमा समीक्षा हुनेछ । उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ताको कार्यतालिका छ । राष्ट्रपतिमा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाएको थियो । उहाँ पराजित हुनुभयो ।

आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचन प्रतिवेदन
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनिर्वाचित राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएको व्यहोराको प्रतिवेदन पेस गर्नुभएको छ । प्रमुख आयुक्त थपलियाले संविधानको धारा ६२ बमोजिम राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम राष्ट्रपतिको निर्वाचनमा पौडेल निर्वाचित भएको प्रतिवेदन पेस गर्नुभएको हो । नेपाली कांग्रेसका नेता पौडेल बिहीबार (फागुन २५ ) राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो ।

फागुन २९ गते शीतलनिवास छोड्दै भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २९ गते शीतलनिवास छाड्ने हुनुभएको छ । नवर्निवाचित राष्ट्रपति रामचन्द्र पौडेलले शपथग्रहण गर्ने दिननै राष्ट्रपति भण्डारीले शीतलनिवास छाड्ने तयारी गरेको बताइएको छ । आगामी कार्यकालका लागि नयाँ राष्ट्रपतिमा पौडेल निर्वाचित भइसक्नु भएको छ । बिहीबार भएको निर्वाचनबाट कांग्रेसका वरिष्ठ नेता पौडेल चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयन हुनुभएको हो । राष्ट्रपति भण्डारीको कार्यकाल आइतबार (फागुन २८ गते) सकिँदै छ ।

राष्ट्रपति चुनावको मतपरिणाम आएकै दिनदेखि कार्यकालको गणना हुने संवैधानिक व्यवस्था छ । त्यसैले पौडेलको राष्ट्रपति कार्यकाल बिहीबारदेखि नै सुरु भइसकेको छ । तर, भण्डारीको कार्यकाल आइतबारसम्म बाँकी छ । यसरी हेर्दा एकैपटक दुई राष्ट्रपति देशमा बहाल रहेको विरोधाभास संविधानले नै पैदा गरेको छ ।

व्यावहारिक हिसाबले भने २८ गतेसम्म भण्डारीले राष्ट्रपतिको रूपमा काम गर्न पाउनुहुनेछ । त्यसपछि उहाँ स्वतः पदमुक्त हुनुहुनेछ । २९ गते उहाँले शीतलनिवास छाड्ने भनिए पनि त्यहाँबाट कहाँ जाने निधो भइसकेको छैन । बूढानीलकण्ठ नगरपालिका–२ मा रहेको उहाँको निजी निवासमा अहिले कन्स्ट्रक्सनको काम चलिरहेको छ । भण्डारीको सुरक्षाका लागि राखिने सैन्य दस्ताका लागि घर कम्पाउण्डमा बासस्थान बनाउने काम भइरहेको स्रोतको भनाइ छ । सेनाले नै आफ्नो आवश्यकताअनुसार त्यहाँको काम गरिरहेको छ । राष्ट्रपति भण्डारीको घर बूढानीलकण्ठ नगरपालिका-२ स्थित माथिल्लो भंगालको नीलबराही टोलमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?