सात अङ्क र सङ्ख्याको महिमा

Read Time = 16 mins

✍️ डा. नारायणप्रसाद निरौला

संसारी जीवनचक्रलाई परिगणित गर्न अङ्कको भूमिका रहने गर्दछ । नौवटा अङ्कबाट नै अनन्त गणना हुन्छ । यी सम्पूर्ण अङ्कव्यवस्था र शून्यको परिकल्पना वेदमा गएिको छ । यसरी अङ्कसँग हाम्रा यावत् विषयवस्तु पनि अन्तर्निहित रहेका छन् । सातको अङ्क सङ्ख्यालाई विशेष रूपमा लिइएको पाइन्छ । यावत् कुरा सात अङ्क सङ्ख्यामा अन्तर्निहित रहेका पाइन्छन् । किनकि सातको अङ्कलाई शुभसूचक पनि मानिन्छ । सात अङ्क र यसको महिमाका बारेमा यहाँ विशेष चर्चा गरिन्छ ।

सप्तर्षि : आकाशमा उत्तरी ध्रुवताराको वरिपरि घुम्ने प्रसिद्ध सात ताराहरूलाई सप्तर्षि भनिन्छ । पौराणिक मान्यताअनुसार यी ताराले ऋषिगुणलाई प्रतिनिधित्व गर्दछन् । यस्ता ऋषिहरूमा दीर्घायु रहने, मन्त्र बनाउने, ऐश्वर्यशाली, दिव्यदृष्टि भएका, गुण, विद्या र आयुमा सबैभन्दा माथिका, धर्मलाई प्रत्यक्ष देख्ने र गोत्र चलाउने सात-सात गुण रहेको हुन्छ भनी पुराणमा बताइएको छ । मूलतः ऋषि भनेका वैदिक मन्त्र देख्ने वा देखाउने पुरुष हुन् । हाम्रा अग्रज मार्गदर्शकका रूपमा पनि ऋषिको विशेष पूजाअर्चना हुने गर्दछ । ऋषि पनि सात थरिका हुन्छन् ऋषि, महर्षि, परमर्षि, देवर्षि, ब्रहृमर्षि, काण्डर्षि र श्रुतर्षि । ऋष् धातुको गमन, ज्ञान, श्रवण, सत्य र तप अर्थमा प्रयोग हुन्छ । यी सबै गुण जसमा एकैसाथ निश्चित् रूपले रहन्छ त्यस्ता पुरुषलाई ऋषि भनिन्छ ।
‘ऋषाीत्येषगतौ धातुःश्रुतौ सत्ये तपस्य च ।
एतत्संनियतं यस्मिन् ब्राहृमणः स ऋषिः स्मृतः ।।
गत्यर्थादृषतेर्धातोर्नाम निवृत्तिरादितः ।
यस्मादेष स्वयम्भूतस्तस्माच्चऋषिता स्मृता ।।’ (वायुपुराण, ५९/७९-८१)

मन्वन्तर अनुसार सप्तर्षि पनि छुट्टाछुट्टै हुने गर्दछन् । वर्तमानमा वैवश्वतमन्वन्तर चलिरहेका छन् । जुन १४ मनुमध्येका सातौं हुन् । यसैले यो समयमा सात अङ्को विशेष महिमा रहेको पाइन्छ । यस मन्वन्तरका सप्तर्षिमा कश्यप, अत्रि, वशिष्ठ, गौतम, भरद्वाज, विश्वामित्र र जमदग्नि पर्दछन् । मनुअनुसार सप्तर्षि भिन्न भिन्न हुने गर्दछन् । ऋषितर्पणी एवं ऋषिपञ्चमी सप्तर्षिको सवशेष पूजाआराधना हुने गर्दछ । १४ मनुअन्तर्गतको सप्तर्षि निम्नानुसार रहने कुरा मार्कण्डेय पुराणमा वर्णन गरिएको छ : स्वायम्भुवमनुका सप्तर्षिहरू-मरीचि, अङ्गिरा, अत्रि, पुलस्त्य, पुलह, क्रतु र वसिष्ठ ।

ऋषि सात थरिका हुन्छन् ऋषि, महर्षि, परमर्षि, देवर्षि, ब्रहृमर्षि, काण्डर्षि र श्रुतर्षि । ऋष् धातुको गमन, ज्ञान, श्रवण, सत्य र तप अर्थमा प्रयोग हुन्छ । यी सबै गुण जसमा एकैसाथ निश्चित् रूपले रहन्छ त्यस्ता पुरुषलाई ऋषि भनिन्छ ।

स्वारोचिषमनुका सप्तर्षि-ऊर्ज, स्तम्ब, प्राण, दत्तौली, ऋषभ, निश्वर र अबंवीर । उत्तम मनुका सप्तर्षि-रज, मात्र, ऊर्धवबाहु, सबल अनघ, सुतपा र शुक्ल । तामस मनुका सप्तर्षि-ज्योतिर्धामा, पृथु, काव्य, चैत्र, अग्नि, बलक र पीवर । रैवत मनुका सप्तर्षि-हिरण्यलोमा, वेदप्री, ऊर्धवबाहु, वेदबाहु, सुधामा, पर्जन्य र वसिष्ठ । चाक्षुष मनुका सप्तर्षि- सुमेधा, वीरजा, हविष्मान्, उन्नत, मधु, अतिनामा र सहिष्णु । वैवस्वतमनुका सप्तर्षि-कश्यप, अत्रि, वसिष्ठ, गौतम, भरद्वाज, विश्वामित्र र जमदग्नि । सावर्णिमनुका सप्तर्षि- अश्वत्थामा, कृपाचार्य, राम, व्यास, कौशिक, गालव र रूरू । दक्षपुत्रसावर्णि मनुका सप्तर्षि- मेघातिथि, वसु, द्युतिमान्, सबल, हव्यवाहन, सत्य र ज्योतिष्मान् ।
ब्रहृमपुत्रसावर्णिमनुका सप्तर्षि-आपोमूतर्तित, हविष्मान्, सुकृति, सत्य, नाभाग, अप्रतिम र वाशिष्ठ । धर्मपुत्रसावर्णि मनुका सप्तर्षि- हविष्मान्, वरिष्ठ, ऋष्टि, आरुणि, निश्वर, अनघ र विष्टि अग्नितेजा । रुद्रसावर्णि मनुका सप्तर्षि- द्युति, तपस्वी, सुतपा, तपोमूर्ति, तपोनिधि, तपोरति र तपोधृति । रौच्यमनुका सप्तर्षि– धृतिमान्, अव्यय, तत्वदर्शी, निरुत्सक, निमेहि, सुतपा र निष्प्रकम्प । भौत्यमनुका सप्तर्षि-आग्निध्र, अग्निबाहु, सूची, मुक्त, माधव, शुक्र र अजित । (मार्कण्डेयपुराण) ।

छन्दशास्त्रमा सातः छन्दशास्त्रमा सातछन्दको विशेष महिमा रहेको छ । सात छन्दमा गायत्री, वृहत्ती, उष्ठिक, जगती, त्रिष्टुप, अनुष्टुप र पंक्ति पर्दछन् ।

सप्तवायु : यसैगरी सातमरुद्गणको चर्चा शास्त्रमा गरिएको छ । यिनै सातमरुद्गणबाट उनन्चास वायुको उत्पत्ति भएको कथा श्रीमद्भागवत पुराणमा उल्लेख छ । आवहादि सात वायुको पूजा हाम्रा हरेक धार्मिक कार्यमा हुने गर्दछ । सात वायुमा प्रवह, आवह, उद्वह, संवह, विवाह, परिवह, परावह पर्दछन् । वायव्य कोणका अधिष्ठाता देवताको रूपमा पनि वायुलाई लिइन्छ । आकाशको तेस्रो तहमा रहने वायु आवह हो । अन्तरिक्षमा चल्ने वायु मातरिश्व हो । वायुका अधिष्ठाता देवता मरुत् हुन् । प्रवहवायु धुवाँ र गर्मीबाट उत्पन्न बादल समूह र असिनालाई यताबाट उता पुर्‍याउँदै बहन्छ । यसरी प्रत्येक वायुका आआफ्ना कार्य रहेका छन् ।

सातद्वीप : पुराणमा सातद्वीपको चर्चा गरिएको छ । सातद्वीपमा जम्बू्द्वीप, प्लक्षद्वीप, कुशद्वीप, शाल्मलीद्वीप, क्रौंचद्वीप, शंकरद्वीप र पुष्करद्वीप पर्दछन् । यसैगरी सात पर्वतमा सुमेरु, कैलास, मलय, हिमालय, उदयाचल, अस्ताचल र सापेल पर्दछन् । यसैगरी सात पुण्य पुरीमा अयोेध्य, मथुरा, माया (हरिद्वार), काशी, काँची, अवंतिका र द्वारका पर्दछन् ।

विवाहमा वर र बधू सात पाइला साथै हिँड्ने व्यवस्था छ । जसलाई सप्तपदी भनिन्छ । वरबधूले आचलगाँठो आपसमा बाँधेर सात फेरा अग्निको प्रदक्षिणा गर्दै लाजाहोम गर्ने कर्म हुन्छ । सात पाइला साथै हिँडेपछि मित्रता रहन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।

सातलोक : पृथ्वीदेखि माथि सातलोक (भूलोक, भूवलोक, स्वलोक, महलोक, जनलोक, तपोलोक सत्यलोक) र पृथ्वीमुनि सातलोक (अतल, वितल, सुतल, तलातल, महातल, पाताल र रसातल) छन् । माथिका लोक उत्तम र तलका लोक अधम मानिन्छन् ।

ज्योतिषमा सातको महिमा : ज्योतिष शास्त्रमा मुख्य पिण्डीय अस्तित्व भएका सात ग्रह छन् । यिनै ग्रहको अध्ययन ज्योतिषमा हुने गर्दछ । ग्रहले आफू रहेको स्थानबाट सातौं स्थानमा पूर्णदृष्टिले देख्ने गर्दछन् । पिण्डीय अस्तित्व भएका ग्रहमा सूर्य, चन्द्र, मङ्गल, बुध, शुक्र, बृहस्पति र शनि पर्दछन् । राहु र केतु पातवा सम्पात स्थान हुन् । सूर्य र चन्द्रमा हिँड्ने बाटोका दुई सम्पात बिन्दुमात्र हुन् ।

संगीतका सात सुर : संगीतका पनि सातै सुर छन् । यी स्वरहरूका मूल सात शब्दहरू-षड्जबाट-सा, ऋषभबाट-रे, गान्धारबाट-ग, मध्यमबाट-म, पञ्चमबाट-प, धैवतबाट-ध, निषादबाट-नि यी हुन् ।
“निषादर्षभगान्धारषड्जमध्यमधैवताः ।।
पञ्चमश्चेत्यमी सप्त तन्त्रीकण्ठोत्थिताः स्वराः ।।” (अमरकोश)

नदी सात : सात (गङ्गा) नदीमा भागीरथी, वृद्धगङ्गा, कालिन्दी, सरस्वती, कावेरी, नर्मदा र वेणी पर्दछन् । यसैगरी सप्तकोशी, सप्तगण्डकी आदि पनि प्रसिद्ध छन् ।

धार्मिक कार्यसम्पादनमा सात :
सातव्याहृति : सातव्याहृतिमा भूः, भुवः, स्वः, महः, जनः, तपः, सत्यम् पर्दछन् । जसको प्रयोग वैदिक प्राणायाममा गरिन्छ । ‘भूः-भूवः-स्वः’ को प्रयोग देवपूजा, भूरादिहोम, गायत्री मन्त्र जप आदिमा हुन्छ । मन्त्रको उल्लेख भएको ठाउँमा मत्र र मन्त्रको उल्लेख नभएको ठाउँमा व्याहतिको प्रयोग गर्नुपर्छ । व्याहतिको अगाडि प्रणव लगाउनुपर्छ । व्याहति ब्रहृमाको मुखबाट उत्पन्न भएका हुन् । यसैगरी सात योगको चर्चा शास्त्रमा पाइन्छ : ज्ञान, कर्म, भक्ति, ध्यान, राज, हठ, सहज । सातजना नातेदारका बारेमा निर्णय सिन्धुमा उल्लेख गरिएको छ जसमा पिता-माता, पत्नी, दिदी-बहिनी, छोरी, फुपू र सानीआमा वा ठूलीआमा पर्दछन् :
‘पितामाता च भार्या चभगिनीदुहितातथा ।।
पितृमातृस्वसा चैव सप्तगोत्राणि वै विदुः ।।’ (निर्णयसिन्धु) ।
विवाहमा वर र बधू सात पाइला साथै हिँड्ने व्यवस्था छ । जसलाई सप्तपदी भनिन्छ । वरबधूले आचलगाँठो आपसमा बाँधेर सात फेरा अग्निको प्रदक्षिणा गर्दै लाजाहोम गर्ने कर्म हुन्छ । सात पाइला साथै हिँडेपछि मित्रता रहन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।

सप्तधान्य : अष्टमहादानमा सात थरि अन्न पर्दछन् जसलाई सप्तधान्य भनिन्छ । सप्तधान्यमा धान, जौ, गहुँ, मुग, मास, प्रियङ्गु (दयाँलो) र चना पर्दछन् ।
‘व्रीहयो, यवगोधूमामुद्गामाषाःप्रियङ्गवः ।।
चणकाः सप्तमा ज्ञेयाः सप्तधान्यमुदाहृतम् ।।’ (गरुडपुराण ८/४८) ।
पूजामा सप्तमृत्तिका अनिवार्य मानिन्छ । हात्तिसार, तबेला, रथखाना, देवल (कमिला वा धमिराको माटोको थुप्रो), दोभान (दुई नदी मिसिएको ठाउँ), रह (पानी भएको ठूलो र गहिरो ठाउँ) र गोठको माटोलाई सप्तमृत्तिका भनिन्छ ।
‘गजाश्वरथवल्मीकसङ्गमाद्ध्रदगोकुलात् ।।
मृदमानीयकुम्भेषु प्रक्षिपेच्चत्वरात्तथा ।।’
मातृका पूजमा सप्तद्वार मातृकाको पूजा हुने गर्दछ । यसैगरी दुर्गासप्तशतीको पनि विशेष अवसरमा पाठ हुने गर्दछ । जसमा पनि सात सय मन्त्र छन् । सूर्यभगवान्को उपासना पनि आइतबार सप्तमी तिथि परेका दिन विशेष हुने गर्दछ । भगवान् सूर्यका रथमा पनि सातवटा घोडा रहेको कुरा पुराणमा वर्णन पाइन्छ । श्रीमद्भागवत पुराण पनि सप्ताह विधिले सात दिनमा सुन्ने विधान छ ।

संसारका अधिकतम धर्ममा सातको अङ्कलाई विशेष रूपमा लिइएको पाइन्छ । इस्लाम धर्ममा ७ जमिन र ७ आकाशको परिकल्पना गरिएको छ । ब्रेस्लोभ परम्परामा ‘द ७ क्याण्डिल’ को संकल्पना छ, जसमा अनुहारका सात अंग, २ आँखा, २ नख, २ कान र १ मुख राखिएको छ । प्रत्येक सात वर्षमा सातपटक हृयाप्पी डे आउँछ भने रोमका सात पहाडको विशेष महिमा छ ।

यसैगरी खानीबाट निस्कने सात थरि धातुहरू- सुन, चाँदी, तामो, पित्तल, फलाम, राङ र सिसा हुन् । शरीरमा हुने सात थरि धातुहरू– रगत, पित्त, मासु, बोसो, मज्जा, वीर्य र हाड हुन् । यसरी सात अङ्कका वस्तुसँगको धार्मिक अन्तरसम्बन्ध रहेको पाइन्छ । जो शुभसूचक पनि मानिन्छन् । वर्तमानको समय सातौं मन्वन्तर (वैवश्वत) रहेकाले पनि सात अङ्क र सङ्ख्याको विशेष महिमा रहेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?