चेल्सीले लेस्टरलाई हरायो

Read Time = 3 mins

लण्डन । इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब चेल्सीले लेस्टर सिटीलाई तीन-एक गोलअन्तरले पराजित गरेको छ । चेल्सीको जितमा बेन चिलवेल, काई हाभर्टज र माटियो कोभासिसले एक-एक गोल गर्नुभयो । लेस्टरका पास्टन डाकाले एक गोल फर्काउनुभयो । खेलको ११औँ मिनेटमा बेन चिलवेलको गोलबाट चेल्सीले एक-शून्यको अग्रता लियो । ३९औँ मिनेटमा पास्टन डाकाले रिकार्डाे पेरेइराको पासमा गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो । पहिलो हाफको इन्जुरी समयमा काई हाभर्टजले गोल गर्दै खेलमा दुई-एकको अग्रता दिलाउनुभयो ।

७८औँ मिनेटमा माटियो कोभासिसले मिखाइलो मुड्रिकको पासमा गोल गरेपछि चेल्सीले जित हात पा¥यो । प्रिमियर लिगमा चेल्सीको यो लगातार दोस्रो जित हो । यसअघि चेल्सीले लिड्सलाई एक-शून्य ले पराजित गरेको थियो । यस जितसँगै चेल्सी २६ खेलबाट ३७ अंक जोडेर १०औँ स्थानमा छ । पराजित लेस्टर २४ अंक जोडेर १६औँ स्थानमा छ ।

यस्तै, म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि एक-शून्यको झिनो जित निकाल्यो । ७८औँ मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई एक-शून्यको जित दिलाउनुभएको हो । यस जितबाट सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दूरी दुईमा छोट्याएको छ । दोस्रो स्थानमा रहेको सिटीको २६ खेलमा ६१ अंक पुगेको छ । एक खेल कम खेलेको आर्सनलको ६३ अंक छ । पराजित क्रिस्टल प्यालेस २७ अंक जोडेर १२औँ स्थानमा छ ।

यता, पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा ब्रेस्टमाथि दुई-एकको जित हात पारेको छ । खेलको ३७औँ मिनेटमा कार्लाेस सोलेरको गोलबाट पिएसजीले अग्रता बनायो । ४३औँ मिनेटमा फ्रान्क होनोरटले बराबरी गोल गर्नुभयो । खेलको अन्त्यतिर केलियन एमबाप्पेले लियोनल मेस्सीको पासमा गोल गर्दै पिएसजीलाई जित दिलाउनुभयो ।

यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २७ खेलबाट ६६ अंक पुगेको छ । पिएसजीले दोस्रो स्थानमा रहेको मार्सेमाथि ११ अंकको अग्रता कायम गरेको छ । मार्सेले एक खेल कम खेलेको छ । पराजित ब्रेस्ट २३ अंक जोडेर १५औँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?