चैतमा गोदावरी महोत्सव

Read Time = 3 mins

काठमाडौं । आर्थिक समृद्धिका लागि संस्कृति भन्ने नाराका साथ ललितपुरको गोदावरी नगरपालिकामा प्रथम गोदावरी महोत्सव हुने भएको छ । नगरपालिकाको संरक्षकत्व तथा गोदावरी उद्योग वाणिज्य संघको आयोजना र इभेन्ट सोलुसन प्रालिको व्यवस्थापनमा चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म गोदावरी महोत्सव २०२३ आयोजना हुने भएको हो । महोत्सवले गोदावरी नगरपालिकामा रहेका स्थानीय वस्तु, कला, संस्कृति, नवप्रवर्तक, विद्यमान एवं नवउद्यमीलाई बजारीकरणका साथै पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने आयोजकको अपेक्षा छ ।

महोत्सवका मुख्य आकर्षणका रूपमा संस्थागत खरिदकर्ता र उत्पादकबीच भेटघाट, लगानीकर्ता र उद्यमीबीच छलफल, स्थानीय उत्सव, खेल उत्सव, साहित्य उत्सव, गोदावरी कन्क्लेभ रहेका छन् । बायर सेलर मिटमा देशका मुख्य खरिदकर्ता तथा महोत्सवस्थलमा रहेका स्थानीय उत्पादनकर्तासँग भेटघाट गरी स्थानीय उत्पादनको खरिद र दिगो व्यापारका लागि संयुक्त समझदारीपत्रसमेत गरिने वातावरण निर्माण गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा गोदावरी क्षेत्रका स्थानीय क्षेत्र र जातजाति तथा संस्कृतिको पहिचान दिने गरी स्थानका आधारमा स्थानीय उत्सव पनि आयोजना हुनेछन् । थेचो उत्सव, चम्पापुर उत्सव, ठैव उत्सव, कोड्कु उत्सव, साहित्य उत्सव, खेल उत्सव आदि नामबाट उत्सव आयोजना गरिने बताइएको छ । महोत्सवमा दुई सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टल रहने आयोजकले जनाएको छ ।

काठमाडौं उपत्यका नजिकैको सबैभन्दा लोकप्रिय गन्तव्यमध्ये गोदावरी पनि एक हो । लिच्छविकालीन तथा मल्लकालीन प्राचीन क्षेत्रहरू प्याङगाउँ, लेले, चापागाउँ, मञ्जुश्रीभन्दा पुरानो बाडेगाउँको भगवान् पाउ, समुन्द्री सतहबाट दुई हजार सात सय ६२ मिटर उचाइमा रहेको फुलचोकी डाँडा गोदावरी क्षेत्रको आकर्षण रहेको महोत्सव संयोजक जगन्नाथ महर्जनले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?