चीनको शेनझोउ-१५ अन्तरिक्ष यात्री जुनमा फर्किने

Read Time = 3 mins

बेइजिङ । चीनको शेनझोउ-१५ को चालक दल आगामी जुन महिनामा पृथ्वीमा फर्कने चिनियाँ मानवयुक्त अन्तरिक्ष एजेन्सी (सीएमएसए) ले जनाएको छ । अन्तरिक्ष केन्द्रको संयोजनले निरन्तर काम गरिरहेको र शेन्झोउ-१५ अन्तरिक्ष यात्रीहरू जुनमा फर्किने सिएमएसएले सोमबार जनाएको हो । सबै अन्तरिक्ष यात्रीहरू राम्रो अवस्थामा रहेको केन्द्रले बताएको छ ।

चीनले यस वर्ष अन्तरिक्ष स्टेसन अनुप्रयोग र विकासको लागि तीन अन्तरिक्ष अभियानहरू प्रक्षेपण गर्नेछ, जसमा कार्गो क्राफ्ट तियानझोउ-६ र चालक दलयुक्त अन्तरिक्षयान शेन्झोउ-१६ र शेन्झोउ-१७ समावेश छन् । तियानझोउ-६ लाई दक्षिणी प्रान्त हाइनानको वेनचाङ अन्तरिक्ष यान प्रक्षेपण स्थलमा लगिएको छ र मे महिनामा प्रक्षेपण गरिने बताइएको छ । दुई मानवयुक्त अभियानका लागि चालक दलका सदस्य छानिएका छन् र अहिले प्रशिक्षण लिइरहेका छन् ।

शान्तिपूर्ण प्रयोग, समानता, पारस्परिक लाभ र साझा विकासको सिद्धान्तको पालना गर्दै चीन आफ्नो अन्तरिक्ष स्टेसनलाई वैज्ञानिक र प्राविधिक सहयोग र अन्तर्राष्ट्रिय समुदायका लागि आदानप्रदानका लागि खुला मञ्च बनाउन प्रतिबद्ध छ । सिएमएसए र बाहृय अन्तरिक्ष मामिलाका लागि संयुक्त राष्ट्रसंघीय कार्यालयद्वारा संयुक्त रूपमा छानिएका प्रयोगात्मक परियोजनाहरूको पहिलो ब्याच यस वर्ष अन्तरिक्ष स्टेसनमा सञ्चालन हुने कार्यक्रम छ ।

सिएमएसएका अनुसार चीनले आफ्नो मानवयुक्त चन्द्र अन्वेषणका लागि प्रमुख प्रविधिहरूमा सफलता हासिल गरेको छ र मानवयुक्त चन्द्र अन्वेषण योजनामा बहस पूरा गरेको छ । यसले यसै वर्ष चन्द्रमामा अवतरण परियोजनाका लागि अनुसन्धान र विकास कार्य सुरु गर्नेछ । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?