कालोमसो दस्ताका संयोजकलाई पक्रेर सरकारले संविधानप्रदत्त अधिकारमाथि हनन् गर्‍योः दुर्गा प्रसाईं

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्नो अभियानको युवा दस्ता कालोमसो दस्ताका संयोजकलाई पक्रेर सरकारले संविधानप्रदत्त अधिकारमाथि हनन् गरेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक प्रसाईंले सरकारले आफ्नो अभियानको युवा दस्ता कालोमसो दस्ताका संयोजक शम्भु थापालाई पक्रेर सरकारले अराजकता देखाएको बताउनु भयो । यद्यपी संयोजक थापा पक्राउबाट छुटीसकेका छन् । उहाँले अन्य राजनीतिक दलका युवा संगठनहरु भएजस्तै आफूहरुको युवा संगठनको रुपमा कालोमोसो दस्ता बनाएको भएपनि दस्ताले हालसम्म कसैलाई कालोमसो नदलेको भएपनि सरकारले पक्राउ गरेर व्यक्तिको संविधानप्रदत्त अधिकारमाथि हनन् गरेको बताउनु भयो ।

उहाँले बैंक, वित्तीय संस्था, लघुवित्त, सहकारीको चर्को ब्याजका बिरुद्ध आफूहरुले आवाज उठाइरहेको र आन्दोलन गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले बैंक र लघुवित्तका कारण लाखौँ नेपाली सुकुम्वासी हुने अवस्था आएको भन्दै बैंक र लघुवित्तका विरुद्धमा गाउँ गाउँबाट आन्दोलनमा उत्रिन आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो-‘बैंक, वित्तिय संस्था, लघुवित्त, सहकारीको चर्को ब्याजबिरुद्ध जुन झुन्डिएर मर्नुपर्ने, विष खाएर आत्महत्या गर्नुपर्ने, शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्नुपर्ने स्थितिको अन्त्य गर्नको लागि हामीले गरिब, सर्वहारा वर्ग, भुइँमान्छेको लागि यो आवाज उठाएको हो हामीले । हिजो यही सर्वहारा वर्ग र भुँइमान्छेको नाम गरेर नेताहरु ठाउँमा पुँगे । नेताहरुले पैसा कमाएर लगेर विदेशका बैंकहरुमा राखे । ५५ जना व्यापारी र १० जना नेताहरुले यो देशमा भाँडभैलो मच्चाएर आज हामी तीन करोड नेपालीहरुमा एक करोड बाहिर बस्नुपर्ने, दुई करोड नेपालीहरु प्रेसर, सुगर, डिप्रेशनको शिकार भएर कतिदिने बाँच्ने भनेर काल पर्खेर बसेको स्थिति । त्यो सबै कुराहरुलाई मध्यनजर गर्दै हामीले अभियान चलाएको । शम्भु थापाको नेतृत्वमा चितवनमा कालोमसो दस्ता भनेर शुरु भएको थियो । तर उहाँहरुले कालोमसो दल्नु भएको थिएन । एउटा दस्ता मात्रै बनाउनुभएको थियो । जस्तो नेकपा(एमाले)को युवा संघ, माओवादी केन्द्रको वाईसिएल र नेपाली काँग्रेसको तरुण दल जस्तै हाम्रो अभियानको कालोमसो दस्ता बनाएको थियो । त्यो बनाएकै भरमा केही नगरीकन उहाँलाई पक्रेर लगेर थुनियो । कति अराजक रहेछ मुलुक । संविधान प्रदत्त अधिकारमाथि हनन् गर्‍यो राज्यले । उहाँले सर्वहारा वर्ग र भुइँमान्छेको कुरा गरिराख्दाखेरी प्रचण्ड सरकारले पक्रेको । मलाई पनि खेदिराखेको छ । तर म भाग्नेवाला छैन । अब स्वतः स्फुर्तः रुपमा देश, गाउँ, हरेक ठाउँबाट यि सामन्तहरुलाई ठेगान लगाउने काम गर्नुपर्छ र यि बैंक र लघुवित्तहरु यही तरिकाले छाडा छोड्यो भनेदेखि हाम्रो घर, जग्गा, जमिन लिलाम हुँदैछन् । हामी सुकुम्वासी हुँदैछौँ ।’

उहाँले आफूहरु सर्वहारा वर्गको बिरुद्धमा आन्दोलनमा उत्रिएको स्पष्ट पार्नुभयो । उहाँले आफूले ऋण तिर्नु पर्दैन भनेर नभनेको भन्दै चर्को ब्याजदरमा ऋण तिर्न सक्नेहरुलाई तिर्न पनि आग्रह गर्नुभयो । तिर्न नसक्नेहरुका लागि सरकारले ऋण मिनाहा गरिदिनुपर्ने बताउनु भयो । उहाँले लघुवित्त र सहकारीलाई राज्यले जिम्मा लिनुपर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो- ‘मान्छेहरुको कुरो के आइरहेको छ भने दुर्गा प्रसाईंले २० लाखदेखि मुनिको ऋण मिनाहा गर्छु भनेको छ भनेर चितवनमा पनि हाम्रो आन्दोलनबिरुद्धमा लघुवित्तका सिइओहरु घुमेको देखेँ । त्यसमा म के भन्छु भने जो मान्छेले तिर्नसक्छ, तिर्नुस् । तिर्नु पर्दैन भनेको होइन । शक्ति हुने मान्छे, पैसा हुने मान्छेले तिर्दा हुन्छ । यो आन्दोलन भनेको सर्वहारा वर्गको लागि हो । जसले तिर्न सक्दैन त्यसको लागि पो मिनाहा गरिदिउँ भनेको त । त्यो मिनाहा पनि मैले के भनेको भने वचतकर्ताहरुको जो व्यक्तिहरुले निक्षेप राखेको छ, त्यो पैसाबाट होइन, लघुवित्त र सहकारीलाई राज्यले जिम्मा लिएर राज्यले व्यहोर्नुपर्‍यो पो भनेको त । मान्छेहरुले गलत बुझेका छन् । जो मान्छेले तिर्नसक्छन् तिरुन् । ४० प्रतिशत नै तिर्छन् । हुनेले तिर्दा भयो । यो त नहुनेसँगको कुरा हो । हामीले नहुने मान्छेका लागि कुरो उठाएको हो । उहाँहरुले बुझ्दा हुन्छ ।’

प्रसाईंले बैंक तथा लघुवित्त बिरुद्धको आफूहरुको आन्दोलन जारी रहेको बताउनु भयो । उहाँले निरन्तर रुपमा देशभर विभिन्न आन्दोलनको कार्यक्रमहरु गरिने जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?