ढोरपाटन आन्तरिक पर्यटकको आकर्षण बढ्दो

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 9 mins

बागलुङ । यस वर्ष नौ हजार पर्यटक ढोरपाटन पुगिसकेका छन् । चर्चित पर्यटकीय गन्तव्य ढोरपाटन घुम्न आउने पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्षको फागुन अन्तिम सातासम्म नौ हजारभन्दा बढी आन्तरिक तथा बाहृय पर्यटकहरू ढोरपाटन भ्रमणमा आइसकेको ढोरपाटन शिकार आरक्षको तथ्यांकले देखाएको छ ।

नेपालकै एक मात्र शिकार आरक्ष क्षेत्र अवलोकनका लागि आउने विदेशी तथा स्वदेशी पर्यटकहरूको संख्यामा बर्सेनि वृद्धि हुँदै आएको छ । ढोरपाटन क्षेत्रमा बर्सेनि पर्यटकहरूको संख्यामा वृद्धि हुँदा शिकार आरक्ष कार्यालयको राजस्वमा समेत उल्लेख्य वृद्धि भएको हो । ढोरपाटन शिकार आरक्षले विदेशी तथा नेपाली पर्यटकहरूको आगमनको तथ्यांकलाई व्यवस्थित गराउँदै लगेको छ । गत आर्थिक वर्षमा ६ हजार बढीले ढोरपाटनको अवलोकन गरेकोमा चालु आर्थिक वर्षको अन्त्यसम्म त्यो संख्या बढेर दोब्बर पुग्ने देखिएको छ ।

ढोरपाटन शिकार आरक्षको तथ्यांकलाई हेर्ने हो भने आरक्ष अवलोकनका लागि आउने पर्यटकहरूको संख्यामा वृद्धि भएको पाइएको छ । कुनै दिन ढोरपाटनमा शिकार खेल्न मात्रै पर्यटक आउने गरेकोमा पछिल्लो समय शिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोर वराम मन्दिर अवलोकनका लागिसमेत पर्यटकहरू आउने गरेका छन् ।

विदशी शिकारीहरू शिकार खेल्नका लागि हेलिकप्टरमार्फत सोझै आरक्ष क्षेत्रमा पुग्ने गरे पनि सडकको पहुँच, होटल सुविधा तथा प्रचारप्रसारसँगै आन्तरिक तथा बाह्य पर्यटकहरू घुम्नका लागिसमेत त्यहाँ पुग्न थालेका छन् । वैधानिक रुपमा नाउर र झारलको शिकार खेल्न पाइने आरक्ष क्षेत्र प्रवेशमा नेपाली र बाह्य पर्यटकहरूले प्रवेश शुल्क बुझाउनुपर्ने आरक्षको नियमअनुसार पछिल्लो समय ढोरपाटन घुम्न आउने पर्यटकहरूको संख्यामा क्रमशः उकालो लागेको ढोरपाटन शिकार आरक्षका सूचना अधिकारी मन्दीप पंगेनीले बताउनुभयो ।

पंगेनीका अनुसार आरक्षमा पुग्ने विदेशी पर्यटकहरूको मात्रै रेकर्ड राख्दै आएकोमा दुई वर्षदेखि स्वदेशी र विदेशी दुवैको रेकर्ड राख्दै आएको बताउनुभयो । उहाँले विदेशी पर्यटकहरूलाई प्रवेश शुल्क नियमअनुसार छ भने नेपालीलाई प्रतिव्यक्ति एक सय रहेको बताउनुभयो ।

‘पछिल्लो समय आन्तरिक र बाह्य दुबै पर्यटकहरूको संख्यामा वृद्धि भएको छ, खासमा आर्थिक वर्ष २०७७/७८ देखि नेपाली पर्यटकहरूको संख्याको समेत रेकर्ड राखिएको छ, उक्त आर्थिक वर्षमा ६ हजार ७०३ स्वदेशी र विदेशी पर्यटकहरू आरक्ष क्षेत्रमा आएका थिए भने चालु आर्थिक वर्ष २०७८/७९ मा नौ हजार ९१९ जना पर्यटकहरू शिकार आरक्ष क्षेत्रमा आइसकेका छन्’ पंगेनीले भन्नुभयो, ‘चालु आर्थिक वर्षको अन्तिम तीन महिनामा पर्यटकहरूको संख्यामा वृद्धि भएर यो वर्ष १२ हजारको हाराहारीमा पुग्ने अनुमान गरेका छौँ ।’

ढोरपाटन प्रवेशस्थल देउरालीमा यसअघि बाह्य पर्यटकहरूले शुल्क तिरेर प्रवेश पाउने गरेकोमा आर्थिक वर्ष २०७७/०७८ आन्तरिक पर्यटकहरूले समेत १०० प्रवेश शुल्क तिर्ने प्रावधान ढोरपाटन शिकार आरक्षले बनाएको छ । शिकार आरक्षको अनुसार आर्थिक वर्ष २०७६/०७७ सम्म विदेशी पर्यटकको मात्रै रेकर्ड राख्दै आएको आरक्षणले दुई वर्ष अघिदेखि स्वदेशी पर्यटकरूको समेत रेकर्ड राख्दै आएको छ ।
आर्थिक वर्ष ०७२/०७३ मा ९१ विदेशी पर्यटक भ्रमणका लागि आएको आरक्षमा, ०७३/०७४ मा १३९ विदेशी पर्यटक, ०७४/०७५ मा ११९ विदेशी पर्यटक, ०७५/०७६ मा ४८० विदेशी पर्यटक र २०७६/०७७ मा ३२० विदेशी पर्यटक आएकोमा २०७७/०७८ मा विदेशी र स्वदेशी गरी ६ हजार ७०३ पर्यटक आएको र चालु आर्थिक वर्षको फागुन अन्तिम सातासम्म नौ हजार ९१९ स्वदेशी तथा विदेशी पर्यटकहरू आरक्षको अवलोकनका लागि आएको ढोरपाटन शिकार आरक्षको तथ्यांकमा उल्लेख गरिएको छ ।

यस्तै, ढोरपाटन आउने पर्यटकहरूको संख्यामा वृद्धि भएसँगै राजस्वमा समेत उल्लेख्य वृद्धि भएको छ । आरक्षको तथ्यांकअनुसार आर्थिक वर्ष २०७०÷७१ मा चार लाख १० हजार राजस्व पर्यटकहरूबाट संकलन गरिएकोमा चालु आर्थिक वर्षमा आइसक्दा राजस्व रकममा उल्लेख्य वृद्धि भएको पाइएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ६ लाख ६८ हजार राजस्व संकलन गरेको आरक्षले आर्थिक वर्ष २०७७/७८ मा २० लाख २२ हजार राजस्व संकलन गरेको थियो । यस्तै, चालु आर्थिक वर्षको फागुन अन्तिम सातासम्म आरक्षले पर्यापर्यटकहरूबाट २२ लाख १९ हजार ८८० राजस्व संकलन गरिसकेको छ ।

शिकार खेल्नका लागि बुझाएको राजस्व भने सिधै वन्यजन्तु विभागमा जम्मा हुने आरक्ष कार्यालयले जनाएको छ । ढोपाटनमा शिकार खेल्न, ढोरपाटन उपत्यका भ्रमण गर्न, प्रसिद्ध ढोरबारही मन्दिर दर्शन गर्न र शिकार आरक्ष कार्यालयको अवलोकनका लागि पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन् ।

नाउर र झारलको वैधानिक शिकार खेल्न पाइने उक्त क्षेत्रमा विदेशी पर्यटकहरूले लाखौँ खर्च गरेर शिकार खेल्न त्यहाँ पुग्ने गरेका छन् भने आन्तरिक तथा अन्य पर्यटकहरूले शिकार आरक्ष क्षेत्रको भ्रमण तथा अवलोकन गर्ने गरेका छन् । हरीयाली ढोरपाटन उपत्यकाले त्यहाँ पुगेका पर्यटकहरूलाई नलोभ्याउने कुरै छैन । अहिले ढोरपाटनमा वर्षमा दुई याममा आन्तरिक तथा बाह्य पर्यटकहरू बढी मात्रमा पुग्ने गरेको छ । तर पुस माघको बाक्लो हिमपात र साउन भदौमा भारी वर्षा हुँदाबाहेक अघिपछि पर्यटकहरूको अभाव भने ढोरपाटनलाई पर्दैन । तर यसपटक भने ढोरपाटनमा हिमपात नहुँदा पर्यटकहरूको आगमनमा कमी आएकोे ढोरपाटन सामुदायिक घरबासका सञ्चालक रामबहादुर घर्तीमगरले बताउनुभयो । उहाँले यस वर्ष ढोरपाटनमा हिमपात नभएको बताउँदै हिमपातका कारण रोकिने पर्यटकहरूलाई भने सहज बनाएको बताउनुभयो । २०४४ सालबाटै विदेशी पर्यटक आउने ढोरपाटनमा पछिल्लो एक दशकयता मात्रै सडा सञ्जालको विस्तारसँगै आन्तरिक पर्यटकहरू आउन थालेका हुन् ।

बागलुङ, म्याग्दी र पूर्वी रुकुमसम्म फैलिएको आरक्षको मुख्य कार्यालय बागलुङको ढोरपाटन उपत्यकामा पर्दछ । ढोरपाटन उपत्यकामा ढोरपाटन भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लक्षित गरी २१ वटा साना ठूला होटल तथा घरबासहरू सञ्चालनमा आएका छन् । शिकार खेल्न विदेशी पर्यटक सोझै हेलिकप्टरमार्फत हिमाली क्षेत्रमा पुग्ने भए पनि अन्य विदेशी र आन्तरिक पर्यटक शिकार आरक्ष कार्यालय क्षेत्र रहेको उपत्यका घुम्न आउने गरेका छन् । पर्यटकको आगमन बढेसँगै ढोरपाटनमा पछिल्लो समय घोडा सफारी र होटल व्यवसायसमेत फस्टाउँदै गएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?