दाङमा बढ्दै स्ववियु निर्वाचनको सरगर्मी : १९ क्याम्पसमा सर्वसम्मत, बाँकीमा प्रतिस्पर्धा

विवेक खड्का दाङ, संवाददाता
Read Time = 10 mins

दाङ । दाङमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सरगर्मी बढ्न थालेको छ ।

विद्यार्थीहरु स्ववियुको नेतृत्व लिनका लागि निर्वाचन गतिविधिमा व्यस्त भएका छन् । यही चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि उम्मेदवारहरुले प्रचारप्रसारलाई तीब्र पारेका छन् । दाङका स्ववियु निर्वाचन हुने कुल २६ क्याम्पस मध्ये १९ वटा क्याम्पसमा सर्वसम्मत नेतृत्व चुन्न विद्यार्थी संगठनहरु सहमत भएका छन् । यद्यपि सहमतिको औपचारिक घोषणा हुन भने बाँकी छ ।

दाङमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी विप्लव, नेकपा एकीकृत समाजवादी निकट अखिल, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, अनेरास्ववियु विद्यार्थी युनियन (छैठौं), स्वतन्त्र विद्यार्थी समूह, अनेरास्ववियु (क्रान्तिकारी) वैद्य, अनेरास्ववियु (क्रान्तिकारी) संयुक्त र स्वतन्त्र प्रगतिशील विद्यार्थी समूह गरी ११ विद्यार्थी संगठन तथा समूहले चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

१९ वटामा सहमतिमा र बाँकी सातवटा क्याम्पसमा प्रतिस्पर्धा हुँदैछ । १९ मध्ये छवटामा नेविसंघ, पाँचवटामा अनेरास्ववियु, चारवटामा अनेरास्ववियु (क्रान्तिकारी) तीनवटामा अखिल (क्रान्तिकारी) विप्लव र एउटामा राप्रपा निकट विद्यार्थी संघले नेतृत्व पाउने भएका छन् ।

सहमति भएका १९ मध्ये पाँचवटामा मंगलबारसम्म सर्वसम्मतिमै नेतृत्व घोषणा भइसकेको नेविसंघ दाङका अध्यक्ष कुलराज पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार पद्मोदय क्याम्पस र मार्क कलेज घोराहीमा अखिल क्रान्तिकारीको नेतृत्वमा, दाङ भ्याली कलेजमा अनेरास्ववियुको नेतृत्वमा, अम्बिकेश्वरी क्याम्पसमा नेविसंघको नेतृत्वमा र राप्ती शिक्षा क्याम्पस अखिल क्रान्तिकारी विप्लवको नेतृत्वमा स्ववियु नेतृत्व घोषणा भइसकेको छ ।

यसैगरी नेविसंघले नेतृत्व पाउने कलेजहरुमा अम्विकेश्वरी कलेज घोराही, पुरन्धारा क्याम्पस बबई, ज्ञानदीप कलेज तुलसीपुर, मेट्रो कलेज तुलसीपुर, स्वर्णिम कलेज लमही र पृथु टेक्निकल कलेज लमही, अनेरास्ववियुले नेतृत्व पाउने कलेजहरुमा पृथ्वी जनता क्याम्पस दंगीशरण, दाङ भ्याली कलेज घोराही, स्पान कलेज घोराही, कलेज अफ लाइफ साइन्स तुलसीपुर र नोभेक्स कलेज तुलसीपुर छन् । यसैगरी अनेरास्ववियु (क्रान्तिकारी) ले नेतृत्व पाउने कलेजहरुमा पद्मोदय क्याम्पस घोराही, मार्क कलेज घोराही, जनता क्याम्पस गढवा र गोरखा कलेज तुलसीपुर छन् । त्यस्तै अनेरास्ववियु (क्रान्तिकारी) विप्लवले नेतृत्व पाउने कलेजहरुमा राप्ती शिक्षा क्याम्पस घोराही, सिद्धरत्ननाथ क्याम्पस नारायणपुर र ज्ञानसिन्धु कलेज घोराही छन् । त्यसैगरी राप्रपा विद्यार्थी संगठनले दीपशिखा कलेज घोराहीमा नेतृत्व पाउने भएको छ ।

१९ वटामा सहमतिमा नेतृत्व चयन गर्ने मोटामोटी सहमति भए पनि अरु सातवटा क्याम्पसमा भने विद्यार्थी संगठनहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । महेन्द्र बहुमुखी क्याम्पस घोराही, राप्ती बबई क्याम्पस तुलसीपुर, ऐरावती बहुमुखी क्याम्पस भालुबाङ, देउखुरी बहुमुखी क्याम्पस लमही, केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डी, जनता संस्कृत विद्यापीठ विजौरी र नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा भने चुनावी प्रतिस्पर्धा हुने भएको छ । यो प्रतिस्पर्धाका लागि पनि विद्यार्थी संगठनहरुले चुनावी तालमेल गरेका छन् । नेपाल विद्यार्थी संघ र अनेरास्ववियु (एस) र अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच चुनावी तालमेल भएको छ ।

दुईवटा क्याम्पसमा ताला

स्ववियु निर्वाचन नजिकिदै गर्दा महेन्द्र बहुमुखी क्याम्पस घोराही र नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय क्याम्पस बेलझुण्डीमा भने विद्यार्थी संगठनहरुले ताला लगाएका छन् । फर्जी विद्यार्थी बनाएर मतदाता नामावली प्रकाशन गरेको भन्दै अनेरास्ववियुले नेपाल संस्कृत विश्वविद्यालयमा र फर्जी विद्यार्थी कार्ड बनाएको भन्दै अखिल (क्रान्तिकारी) विप्लव र अनेरास्ववियु युनियन(छैठौं) ले महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा ताला लगाएका छन् ।

शैक्षिक क्यालेण्डर कार्यान्वयन मुख्य एजेण्डा

विद्यार्थी संगठनहरुले शैक्षिक क्यालेण्डरको कार्यान्वयनलाई मुख्या एजेण्डा वनाएका छन । खासगरी विश्वविद्यालयमा अनियमित भएको शैक्षिक क्यालेण्डरको कार्यान्वयन, चर्को शैक्षिक शुल्क, भौतिक पूर्वाधार विकास र विद्यार्थीका थुप्रै अधिकारका विषयलाई विद्यार्थी संगठनहरुले चुनावी एजेण्डाका रुपमा अघि सारेका छन् ।

विद्यार्थी संगठनहरुले क्याम्पसमा भइरहेका समस्या, शैक्षिक समस्या, विद्यार्थी आन्दोलनका चुनौती र अवसरलाई आधार मानेर एजेण्डा तय गर्न थालिएको जनाएका छन् । क्याम्पसअनुसार फरक–फरक विषयलाई आधार मानेर एजेण्डाहरु तय गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य सर्जन परियारले बताउनुभयो । ‘क्याम्पस केन्द्रित एजेण्डाहरु बनाएका छौं’– उहाँले भन्नुभयो– ‘क्याम्पसहरुमा विद्यार्थीले भोग्दै आएका समस्या समाधान गर्ने नै हाम्रा मूल एजेण्डा हुन् ।’ त्रिभुवन विश्वविद्यालयले बनाएको शैक्षिक क्यालेण्डर लागु नहुँदा विद्यार्थीको परीक्षा समेत प्रभावित भएको छ । अब आउने स्ववियुको नेतृत्वले क्याम्पसको शैक्षिक क्यालेण्डरलाई समेत सुधार गर्न ध्यान दिने उहाँको भनाइ छ ।

अहिले हँुदै गरेको स्ववियु निर्वाचनमा विद्यार्थीमाथि थोपरिएको शुल्क समायोजन गर्ने एजेण्डा रहेको नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेलले बताउनुभयो । ‘शैक्षिक शुल्क पुनरावलोकन गर्ने हाम्रो एजेण्डा छ । यसमा विज्ञहरुसहितको एउटा अध्ययन टोली बन्छ र त्यसको प्रस्तावको आधारमा निर्णय लिइन्छ’– पोख्रेलले भन्नुभयो– ‘अर्काे कुरा क्याम्पस सुधारका योजना छन् । हामीले ठूला कुराहरु भन्दा पनि सानातिना कुराहरु उठाएका छौं ।’ क्याम्पसहरुमा शुद्ध पिउने पानी र शौचालयको राम्रो व्यवस्थापन पनि एजेण्डाको रुपमा विद्यार्थी संगठनले उठाएका छन् । ‘यी कुरा सामान्य लाग्न सक्छन् तर हाम्रा क्याम्पसका शौचालयमा पानी हुँदैन । सामान्य कुराहरु पनि सुधार गर्ने कुरा हाम्रा एजेण्डा हन्’– उहाँले भन्नुभयो– ‘पुस्तकालय व्यवस्थापन, ई–लाइब्रेरीको प्रभावकारी प्रयोगमा समेत ध्यान दिइनेछ।’

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?