पुस्तक : सामाजिक विषयवस्तुमा आधारित ‘डान्सबार’

हिमालय टाइम्स
Read Time = 10 mins

✍️ निर्मलकुमार आचार्य

नेपाली साहित्य जगत्मा नवीनतम् कृति हो- डान्सबार । डान्सबार कथासंग्रह हो । यसका कथाकार उमालाल आचार्य हुन् । यस कथासंग्रहमा कुल आठवटा कथा रहेका छन् । नौवटा कथा समेटी विसं २०७३ सालमा ‘कसुर’ कथासंग्रह प्रकाशनमा ल्याइसकेका कथाकार आचार्यको यो दोस्रो कथासंग्रह हो । यसमा कालो पूर्णिमा, डान्सबार, कुरुवा, भरोसा, एउटा पर्चा, पहिरो, अनुराग र दिदी शीर्षकका कथा रहेका छन् ।

उमालालका कथामा फैलिएको आञ्चलिक सुवासले कथामा वैशिष्ट्य थपेको छ । राग, अनुराग, विराग, पीडा, रनाहा र छटपटीका अभिव्यक्तिमा त्यसको सुन्दर झलक पाइन्छ । कथाहरूमा खासगरी मानवतावादी धारणा ओतप्रोत रहेको छ । स्थानीय भाषाशैली र लबजको खिपाइले कथा बेजोड बन्नु स्वाभाविक हो । यसको एउटा उदाहरण हेरिहालौँ-
‘दैवसँग नसकिने रहेछ रोएर । कति रुने ? दुःखबाट उम्केपछि दैनिकीमा नफर्की नहुने । गोठमा गाईलाई कुँडो खुवाउँदै थिएँ, उताबाट तारे गोरुले दाम्लो चुँडाल्लाझैँ गरेर मुन्टो तान्यो । सिर्कनाले थुतुनामा हान्दै भनेँ, तँ साँढेले दूध दिन्छस् र कुँडो खाने ?’ अर्को दृष्टान्त पनि हेरौँ, प्रस्तुत अंश ‘कुरुवा’ कथाबाट लिइएको हो, यसमा झण्डै दशवर्षे द्वन्द्वकालीन दारुण परिवेशलाई निकै सशक्तरूपमा चित्रण गरिएको छ :
‘किलो भया दाम्लो हुन्या हो, किलै नभया दाम्लो क्या काम । बुहारी बाटो लागिगै । नुजा भुन्न पनि भयान ।’ म प्रश्नमाथि प्रश्न गरुँ यी दुःखी आमाको आँसु खर्च भइरहन्छ । नगरुँ प्रश्न मेरो जिज्ञासा अधुरै रहन्छ । आफ्नो इच्छाविपरीत तिनी आमालाई थप रुवाउने निधो गरेँ, उकुसमुकुस मेट्न ।

‘माओवादीमा छोराको केही सम्पर्क थियो र ?’
‘कठै ! थाहै नाइँ । कालापाहार जान्या कमाइकाज गन्र्या आनि ओरिपरि गरिकिन घर आइजान्या । झिट्टा कँुडा गरिकिन मारिदिया । निम उनकै कानन उनकै । गरिबको बोल्दिन्या को छ ? कोय नाइँ ।’
‘बिनाकसुर त्यसरी किन मारेका त ?’
‘उन्यारुले मार्न खोज्याओ रयछन् गँरेश बुरालाई (गणेश बुढा) हाम्रा छोराओ नाम गँरेश ओली हो । राश एउटै भया हुनाले गँरेश बुरा यही हो भनीकन हाम्रा छोरालाई मार्‍या ।’

दिदीभाइबीचको निश्छल प्रेमको सुललित सौम्य प्रस्तुति ‘दिदी’ कथामा पाइन्छ । बालमनोविज्ञानको सुन्दर नमुना यसमा अनुभव गर्न सकिन्छ । दिदीभाइबीचको संवाद पनि सरल तथा सहजमात्रै छैन, स्वाभाविकसमेत छ । यसको उदाहरण यस प्रकार रहेको छ ः
‘उँअँ, किन गछर्यौ ? म त अहिले .....।’ मैले ढोग गर्न खोजेँ, दुइटै खुट्टा समेटेर दिदीले पलेंटीमा लुकाइन् ।
‘आमा, हेर्नुस् न दिदीले मलाई पाप लगाउँछिन् ।’ भित्र आमाले सुन्ने गरी म जोडले कराएँ ।
‘कति चल्छेस् आरती ? किन सताउँछेस् भाइलाई ?’ आमाले भित्रबाट हकार्नुभो ।
‘मेरो सिसाकलम भाँच्दियो ।’ झर्केर बोलिन् ।
‘ए नेप्टे, किन भाँचिस् दिदीको कलम ? चिम्टा खोज्याछस् ?’
‘मलाई दिदीले पाप लगाइन् ।’ म झन् चर्केर कराएँ ।

‘ढोग गर्न देके तेरो बाजेलाई नसता । भोलि मसी हाल्ने कलम ल्याइदिउँला बरु ।’
त्यसपछि दिदीले खुट्टो हुत्याइन् मतिर मैले ढोगेँ ।
‘मेरो नोक्कर भएस् ।’
‘के भनेको भाइलाई त्यस्तो ? मुख च्यात्दिउँला म । जातिबित्ति बिगे्रकी छौडी तँ ।
‘मेरो सिसाकलम जस्तो थियो त्यस्तै बनाइदे ।’
‘मलाई हान्यौ त बराबरी भयो नि ।’

‘एउटा पर्चा’ कथा चिकित्सा जगत्का निम्ति प्रेरणादायी रहेको छ । चिकित्सकले चाहेमा जटिल मनोरोगीलाई समेत परिवर्तन गर्न सक्दछ भन्ने प्रेरकीय आख्यान यसमा छ । पारिवारिक द्वन्द्व, विश्वासघातको गहिरो चिरफारसहित दृष्टिविहीनका ज्ञानचक्षुको चमत्कार ‘भरोसा’ कथाले उद्घाटन गरेको छ । मायापिरतीको सन्दर्भ समेटिएको ‘कालो पूर्णिमा’ कथा होस् वा असहृय गरिबीको कहालीलाग्दो अवस्था उतारिएको ‘पहिरो’ कथा, अथवा सामाजिक रीति र नारी मनोव्यथा उधिनिएको ‘अनुराग’, पाठकका मनमा छाप छाड्न समर्थ रहेका छन् । ऋणको बोझ, छलकपट, धोका र शहरी परिप्रेक्ष्यको विकृत् परिपाटी दर्शाइएको कथा हो- ‘डान्सबार’ ।

सबै कथाका विषयवस्तु मूलतः सामाजिक छन् । बालबालिका, युवक, युवती तथा प्रौढका मनोव्यथालाई कथामा राम्ररी बुनिएकाले प्रभावकारी ठहरिएका छन् । कथावस्तुअनुरूप परिवेश, परिवेशअनुसार पात्र र पात्रकै हरहिसाबमा भाषाशैली रहेकाले कथाहरू सुपाठ्य, सुबोध्य एवं सुगम्य बनेका छन् ।

जस्तासुकै विषयवस्तुलाई पनि सजिलै सरल ढंगबाट सम्पे्रषण गर्न सक्नु कथाकार उमालालको विशेषता हो । ‘डान्सबार’ को यस अंशबाट उनका अकृत्रिम कथाशैलीको आँकलन गर्न सकिन्छ :
‘हामी डान्सबारमा पस्यौँ । गीतभन्दा चर्को संगीत रन्केको, अनेकन् रंगका बिजुली बत्ती चम्केका । एउटी आइमाई तालमा हो कि बेतालमा उफ्रिरहेकी थिई । बेतालमा उफ्री नाच्ने आइमाईको शरीर, तल सानो हनुमाने कच्छा र छातीमा बाँधेको एक बित्ताको धजो कपडाबाहेक नांगै थियो । त्यो देख्दा घोर आश्चर्य लाग्यो । मानौँ चितामा जलाउन ठिक्क पारेको जनाना लाश उठेर नाच्दैछ ।

नाच्दानाच्दै कम्मरमा हात राखेर टाउको फन्नाई, कपाल मच्चाई, खुट्टो मच्चाई, अर्को मच्चाई, अर्को मच्चाई सबै मच्चाई । नाच्ने ठाउँको माझमा त्यसकै पाखुरा जत्रो मोटो फलामको खाँबो गाडेको रहेछ । खाँबोमा सुरेली खेल्दै माथि जान्छे, सरर झर्छे र भुइँमा थेचारिन्छे । एक हातले खाँबो समाउँदै दाइँ हालेझैँ फनफनी मच्चिन्छे । त्यो निर्जीव खाँबासँग लज्जाकर्म गर्छे । धन्य तेरो डान्सबार !

सबै कथाका विषयवस्तु मूलतः सामाजिक छन् । बालबालिका, युवक, युवती तथा प्रौढका मनोव्यथालाई कथामा राम्ररी बुनिएकाले प्रभावकारी ठहरिएका छन् । कथावस्तुअनुरूप परिवेश, परिवेशअनुसार पात्र र पात्रकै हरहिसाबमा भाषाशैली रहेकाले कथाहरू सुपाठ्य, सुबोध्य एवं सुगम्य बनेका छन् । विभिन्न खाले बेथितिविरुद्ध नजानिँदो पाराले मधुरो व्यंग्य कस्नसमेत कथाकार चुकेका छैनन् ।
सामाजिक विषयवस्तु टिपी सरल र सहज ढंगबाट कथा बुन्न सीपालु कथाकार आचार्य आवश्यकताअनुसार उखानटुक्का र अनुकरणात्मक शब्द खिप्न पनि उत्तिकै प्रवीण छन् । राजनीतिक, सामाजिक, आर्थिक बेथितिविरुद्ध साहित्यिक कलम चलाउँदै आएका कथाकार उमालालको पहिलो कथासंग्रह ‘कसुर’ को दाँजोमा ‘डान्सबार’ माथि उक्लन सफल रहेको छ । आउँदा दिनमा कथाकार आचार्यले झन्-झन् उत्कृष्ट कृति जनसामु ल्याउँदै बढून् भन्ने अपेक्षा पनि यतिखेर राखिएको छ ।

रत्नपुस्तक भण्डारद्वारा विसं २०७९ मा प्रकाशित ‘डान्सबार’ कथासंग्रहको आवरण आकर्षक छ । कुल एक सय २० पृष्ठ रहेको यस कृतिको मूल्य एक सय ९५ रुपैयाँ राखिएको छ । (समीक्षक आचार्य गोरखापत्रका पूर्वप्रधानसम्पादक हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?