घरेलु उद्योगीलाई विकास अनुसन्धान प्रतिष्ठानको साथ

Read Time = 4 mins

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल विकास अनुसन्धान प्रतिष्ठानबीच उद्योग विकासका लागि इकोसिष्टम विकास गरी उद्योगको उत्पादकत्व बढाउनेसम्बन्धी सम्झौता भएको छ । महासंघ सचिवालयमा आइतबार आयोजित एक समारोहबीच दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उत्पादनमूलक, कृषि र सेवा क्षेत्रका उद्यमीको इकोसिष्टम विकास गरी उत्पादकत्व वृद्धि गर्ने क्रममा इन्टरभेन्सनका रूपमा हाललाई कुनै निश्चित भौगोलिक क्षेत्रमा रहेका उद्योगबीचको इकोसिष्टम विकास गर्न पहल गर्ने सम्झौता भएको हो ।

प्रत्येक प्रदेशबाट उत्पादनमूलक, कृषि र सेवा तीन क्षेत्रका दुई-दुईवटा कम्पनीको छनोट गरी सातवटा प्रदेशका ४२ वटा कम्पनीको इकोसिष्टम विकास गर्न कार्य गरिने बताइएको छ । उत्पादनमूलक, कृषिजन्य र सेवा उद्योगमा संलग्न कम्पनीको इकोसिष्टम विकास गरी सफल उद्यम बनाउने पाइलट परियोजना सञ्चालन गर्ने सम्झौताको उद्देश्य रहेको महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले बताउनुभयो ।

महासंघ र प्रतिष्ठान मिलेर देशमा औद्योगिक सम्बन्ध र उद्यमशीलता प्रवद्र्धन गर्न पहल गरी औद्योगिक वातावरण प्रवद्र्धन गर्न नीति अनुसन्धानमा कार्य गर्ने सम्झौतापत्रमा उल्लेख छ । त्यस्तै, औद्योगिक सम्बन्ध विकासका लागि व्यवसायीको इकोसिष्टम विकास गर्ने क्षेत्रमा सहकार्य गर्ने प्रतिष्ठानका अध्यक्ष डा. नवराज खतिवडाले बताउनुभयो ।

सम्झौताअनुसार उत्पादनमूलक, कृषिजन्य र सेवा उद्योगमा संलग्न कम्पनीको इकोसिष्टम विकास गरी उत्पादकत्व बढाउने क्रममा सरकारी निकाय तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय निकाय, संघसंस्था तथा मञ्चहरूमा प्रतिष्ठान र महासंघले एकअर्काको उपस्थिति सफल बनाउन प्रयत्न गर्ने महासंघले जनाएको छ ।

महासंघ र प्रतिष्ठानले उत्पादनमूलक, कृषि र सेवा क्षेत्रका उद्यमीको व्यवसाय प्रवद्र्धन र संवद्र्धनका लागि थप कार्ययोजना निर्माण गरी योजनाबद्धरूपमा कार्य गर्ने सम्झौतापत्रमा उल्लेख छ । उद्यमीको व्यवसाय विकास र प्रवद्र्धन गर्ने क्रममा दुवै पक्षले आफूसँग भएको विज्ञता, स्रोत, साधन र जनशक्ति परिचालन गर्नेछन् । अनुसन्धान तथा आवश्यक रणनीति बनाउने कार्यको नेतृत्व प्रतिष्ठानले गर्नेछ भने आवश्यकताअनुसार केन्द्र, प्रदेश र स्थानीय तहका तीनवटै सरकार र विकास साझेदार तथा दातृ निकायसँगको छलफल, लविङ र नयाँ परियोजना प्राप्त गर्न वा भइरहेका परियोजनामा सहयोग जुटाउन दुवै पक्षले संयुक्त पहल गर्ने सम्झौतापत्रमा उल्लेख छ । सो अवसरमा प्रतिष्ठानका बहु–विषयक अनुसन्धान विशेषज्ञ प्राडा राजकुमार भट्टराई तथा कार्यकारी निर्देशक डा. शंकर श्रेष्ठ, महासंघका उपाध्यक्ष मोहन कटुवाल, महासचिव डम्बरप्रसाद रेग्मी, कोषाध्यक्ष अच्युत पाण्डेलगायतको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?