अर्थ संकट टार्न अर्थमन्त्रीलाई निजी क्षेत्रका सुझाव

Read Time = 8 mins

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले आइतबार सिंहदरबारमा भेटवार्ता गरेको छ । सो अवसरमा महासंघ अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिंगो निजी क्षेत्रका तर्फबाट बधाई एवं शुभकामना दिँदै अर्थतन्त्रको पछिल्लो अवस्थाबारेमा ब्रिफिङसमेत गर्नुभएको थियो ।

अध्यक्ष गोल्छाले हाल बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउनुपर्ने सुझाव दिँदै त्यसका लागि केन्द्रीय बैंक र सरकारले संयुक्त पहलमा ब्याजदर झार्नुपर्ने बताउनुभयो । सहकारी र लघुवित्तमा तरलता बढाउने गरी काम अघि बढाउन र सरकारी खर्च निकै सुस्त रहेको भन्दै त्यसलाई बढाउन पनि गोल्छाले सुझाव दिनुभयो । उहाँले भननुभयो, ‘अहिले सरकारसँग राजस्व कम उठेको छ, चालु खर्च धान्न मुस्किल पर्न थालेको अवस्था छ । यसका लागि बाहिरी ऋण उठाएर भए पनि खर्च गर्नुपर्छ । यसरी लिएको ऋण, विकास खर्च गर्नमात्र प्रयोग गर्नुपर्छ ।’ अध्यक्ष गोल्छाले राज्यसंयन्त्र पूर्णरूपमा प्रयोग गरेर सीमाबाट हुने अवैध आयात रोक्नुपर्ने र त्यसले राजस्व वृद्धिमा समेत सहयोग पुर्‍याउने सुुझाउनुभएको छ । साथै उहाँले विदेशबाट पैसा भित्र्याउन दाताहरूसँग पहल गर्नुपर्ने भन्दै स्थानीय दाताहरूसँग पनि सम्मेलन गर्न आग्रह गर्नुभयो ।

उहाँले निजी क्षेत्रको मनोबल उकास्ने खालका सन्देश प्रवाह गर्न, राजस्व उठाउने बहानामा निजी क्षेत्रलाई त्रसित नपार्न र लगानी बढ्ने वातावरण तयार पार्न सुझाव दिनुुभयो । अर्थमन्त्री महतले समस्याग्रस्त अर्थतन्त्र सुधार्ने आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको भन्दै निजी क्षेत्रका छाता संस्थाका सुुझाव र सहकार्यबाट आफू अघि बढ्ने विश्वास दिलाउनुुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईंहरूको मनोबल घट्न दिन्नँ, तपाईंहरूसँग निरन्तर संवादमा रहन्छु । मैले अर्थतन्त्र सुुधार गर्न गरेको प्रतिबद्धता पूरा गर्न तपाईंहरूबाट पूर्ण सहयोग पाउने अपेक्षा गरेको छु ।’

सिएनआईका १० बुँदे सुझाव
नेपाल उद्योग परिसंघ(सिएनआई) ले पनि नवनियुक्त अर्थमन्त्री महतसँग मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल गरेको छ । अर्थतन्त्रमा तत्काल सुधार ल्याउन चालिनुपर्ने १० बुँदे सुझाव अर्थमन्त्रीलाई दिएको छ । सिएनआईका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले सुझाव प्रस्तुत गर्दै हालको चुनौतीपूर्ण अर्थतन्त्रमा तत्काल सुधार ल्याउन ब्याजदर घटाइनुपर्ने, तरलता सहज गराइनुपर्ने, लगानीका लागि प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उल्लेखित तीन विषय केन्द्रमा राखेर उच्च मनोबलसाथ काम हुन पाए अर्थतन्त्रमा छिटो सुधार आउने उहाँको दाबी थियो ।

ब्याजदर घटाउन एवं तरलता सहज बनाउन सिआरआर तीन प्रतिशतमा झारिनुपर्ने, नीतिदर र बैंकदर घटाइनुपर्ने, बैंक तथा वित्तीय संस्थामा रहेको स्थानीय तहको सञ्चित कोषमा भएको मौज्दात रकमको शतप्रतिशत निक्षेपका रूपमा गणना गर्ने व्यवस्था गर्नुपर्ने सिएनआईको सुझाव छ । त्यस्तै, मुद्दती खाता र बचत खाताको ब्याजदरको अन्तर अधिकतम् पाँच प्रतिशत हुने व्यवस्था हटाउनुपर्ने, सेयर बजार तथा घरजग्गामा जाने मार्जिन ल्याण्डिङमा जोखिमभार झारिनुपर्ने, निर्माण क्षेत्रमा दिइनुपर्ने भुक्तानी छिटो निकासा गराउनुपर्ने बताइएको छ ।

सुझाव लिँदै अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रको सहयोगमा जोड दिँदै सकारात्मक ‘सेन्टिमेन्ट’ सिर्जना गर्न लागिपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अर्थतन्त्र सुधारका लागि सकारात्मक सेन्टिमेन्ट निर्माण गर्न पूर्णरूपमा लाग्नेछौँ । जहाँबाट समस्या आएको छ, त्यहीँबाट सुधार गर्न तयार छौँ । त्यसमा तपाईंहरूको पनि सहयोग आवश्यक पर्छ । यसका लागि मन्त्रालयले परिसंघसँग पनि सहकार्य गर्नेछ ।’ अर्थमन्त्रीसँगको भेटमा वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, हेमराज ढकाल, रोहित गुप्ता, परिसंघ गभर्निङ काउन्सिल सदस्य शिवरतन शारडा, महानिर्देशक दिपकराज जोशीलगायत हुनुहुन्थ्यो ।

सुनचाँदी व्यवसायीले पनि भेटे
नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आर्थिक विकासका लागि सबैको साथ आवश्यक भएको बताउनुभएको छ । उहाँले खस्कँदो अर्थतन्त्र उकास्न सम्बद्ध सरोकारवाला सबैसँग मिलेर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री महतले आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने खाँचो औंल्याउनुभएको हो । उहाँले आर्थिक विकास र परिवर्तनका लागि राम्रा-राम्रा योजना र सुझाव ल्याउनसमेत आग्रह गर्नुभयो ।

आफूले मुलुकको अर्थतन्त्र नजिकबाट नियालिरहेको उल्लेख गर्दै सबै मिलेर अघि बढ्दा आर्थिक विकास गर्न कठिन नहुने बताउनुभयो । सो अवसरमा महासंघले आर्थिक विकासमा सुनचाँदी व्यवसायीको भूमिकालगायतका विषयमा जानकारी गराएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?