राष्ट्रपतिको पद र परिसर साझा कहिले हुने ?

प्रा. देवीभक्त ढकाल
Read Time = 21 mins

राष्ट्रपति कार्यालय जुन पार्टी-संबद्ध राष्ट्रपति हुन्छ त्यही पार्टी-सम्बद्ध नेता-कार्यकर्ताहरूको एकतर्फी जमघट हुने, तस्वीर खिच्ने-खिचाउने थलो बन्नु के न्यायोचित मानिन्छ ? जुन पार्टी-सम्बद्ध राष्ट्रपति हुन्छ शीतलनिवासमा त्यही पार्टीका नेता-कार्यकर्ताको एकलौटी राइँदाइँ किन ? अमुक पार्टीका एकलौटी कार्यकर्ताहरूको उपस्थितिले अमुक पार्टीको अधिवेशन स्थलको झल्को दिने खालको जमघट राष्ट्रको सम्मानित अभिभावकको परिसरमा के शोभनीय हुन्छ ? हामीले राष्ट्रपतिको भूमिकाका सन्दर्भमा कस्तो संस्कार-संस्कृति आगामी पुस्तालाई हस्तान्तरण गर्दैछौं ? जनमानसमा जाने सन्देश र प्रभावको समीक्षा किन हुँदैन ?

यसबारे संविधानतः निष्पक्षता प्रदर्शन गर्नुपर्ने पक्ष राष्ट्रपति कार्यालय सधैं मौन रहन मिल्छ ? अघिल्लो राष्ट्रपति एमाले-सम्बद्ध थिइन् त्यसबेला एमालेका नेता-कार्यकर्ताको एकलौटी जमघट हुने, फोटो खिच्ने ठाउँको रूपमा राष्ट्रपति कार्यालय बदनाम थियोे । राष्ट्रपतिसँग पहुँच र कार्यालय प्रवेश गर्न व्यवहारमा कुनै पार्टीको सदस्य हुनुपर्ने स्थिति देशको अभिभावक बस्ने ठाउँमा लागू हुनु दुर्भाग्यपूर्ण भन्नुपर्छ । सामान्य नेपाली नागरिकलाई राष्ट्रपति कार्यालयमा प्रवेश अनुमति सम्भव छैन भन्ने सन्देश त्रुटिपूर्ण छ ।

अहिले कांग्रेस पार्टी-सम्बद्ध राष्ट्रपति भएकाले कांग्रेस-सम्बद्ध नेता-कार्यकर्ताले यसअघि एमालेका नेता-कार्यकर्ताहरूको एकलौटी राइँदाइँको जवाफ दिने शैलीमा फोटो खिचेर विगतको कुण्ठालाई क्षतिपूर्ति गर्ने शैली र मानसिकतालाई सार्वजनिक गर्न प्रतिस्पर्धारत देखिन्छन् । जुन पार्टी-संबद्ध राष्ट्रपति पदासीन भयो त्यही पार्टीका नेता-कार्यकर्ताको एकलौटी रूपमा राष्ट्रपति कार्यालयमा लावालस्कर देखिन्छ र ओइरो लाग्छ भने राष्ट्रपतिको पद र राष्ट्रपति कार्यालय नेपालीहरूको साझा पद र साझा थलो कसरी हुने ? के आधारमा राष्ट्रपतिलाई जनताले साझा मान्ने ?

राष्ट्रपति कार्यालय जस्तो साझा थलोमा सबै जात, जाति, थर, पेशा, व्यवसाय, वर्ग, लिंग, क्षेत्रका व्यक्तिहरूको समान, सहज र निर्धक्क पहुँच हुनुपर्नेमा कुनै एउटा पार्टी-सम्बद्ध नेता-कार्यकर्ताको हालीमुहाली र ओइरो लाग्नु निष्पक्षता र तटस्थताको लिलामी हो ।

के हिजो राजा साझा हुन सकेनन् भन्ने कुण्ठाको उपचार यहीँ हो ? राजा खर्चिला भए भनेर राजसंस्थालाई विस्थापित गरेको हो भने साझा हुन नसक्ने राष्ट्रपतिलाई अवकाशपछि राज्यले पालनतालन किन गर्ने ? प्रथमराष्ट्रपति रामवाण यादवले वार्षिक करोडको हाराहारीमा अतिरिक्त आर्थिक सहायता आजसम्म कुल पाँच-सात करोड लिएको समाचार सत्य हो भने कसरी राजाहरू खर्चिल भए ? के वर्तमान संविधानले व्यवहारतः चित्तबुझ्दो उत्तर दिनसक्छ ? वर्तमान नेपाली राजनीतिको कमजोरी नै बोली र व्यवहारको भिन्नता हो । देशको गरिमामय, सम्मानित, साझा पद राष्ट्रपति र राष्ट्रपति कार्यालय सबै नेपालीहरूको साझा पद वा साझा स्थल कहिले हुने ?

कुनै पार्टीको कहिल्यै नफुस्कने लगाम भिर्नेहरू खाली भाषणमा मात्रा साझा, निष्पक्ष हुनसक्छन् । व्यवहार, आचरण र कार्यशैलीमा साझा र निष्पक्ष किमार्थ हुन सक्दैन भन्ने कुरा विगतका राष्ट्रपतिले प्रमाणित गरे । राष्ट्रपति कार्यालय जस्तो साझा थलोमा सबै जात, जाति, थर, पेशा, व्यवसाय, वर्ग, लिंग, क्षेत्रका व्यक्तिहरूको समान, सहज र निर्धक्क पहुँच हुनुपर्नेमा कुनै एउटा पार्टी-सम्बद्ध नेता-कार्यकर्ताको हालीमुहाली र ओइरो लाग्नु निष्पक्षता र तटस्थताको लिलामी हो । दलहरूबाट मनोनित राष्ट्रपतिहरू कसरी साझा हुन्छन् भन्ने गम्भीर प्रश्न अहिले आमनागरिकमा उब्जेको छ । अघिल्ला राष्ट्रपतिहरूको कार्यकालमा सम्बन्धित दलका कार्यकर्ताको एकलौटी हालीमुहालीले राजनीतिमा सक्रिय व्यक्तिले राष्ट्रपति पदको साझा छाहारी दिन सक्दैन भन्ने पुष्टि गरे । अब प्रश्न आउँछ यसलाई सम्बन्धित पक्षले निरन्तरता दिने कि सुधार्ने ?

नातागोता र कुनै पार्टीको सदस्यको हैसियतमा मात्रै राष्ट्रपति कार्यालय खुला हुन्छ भने राष्ट्रपतिको पद र त्यो कार्यालय साझा कसरी भयो ? एकजना नेपाली कुनै पार्टीको कार्यकर्ता नभइकन बाँच्न सक्तैन भन्ने सन्देश राष्ट्रपति कार्यालयले दिन सुहाउँछ ? राष्ट्रपतिको पद साझा हो भने कुनै पनि पार्टीसँग सम्बद्ध नभएको नेपाली नागरिकको पहुँच राष्ट्रपति कार्यालयमा के सम्भव छ ? संविधानको अक्षरसः पालना गर्ने, गराउने र नेपाली नागरिकदेखि संविधानविरोधी नागरिकहरू समेतको राष्ट्रपति अभिभावक हुन् ।

साझा अभिभावकत्वको जिम्मेवारीमा रहँदाका बखतमा कुनै एक पक्षीय पार्टीका नेता-कार्यकर्ताको र नातेदारहरूको कार्यालय परिसरमा देखिने लावा-लस्करले उसलाई राष्ट्रको अभिभावक कसरी बनाउँछ ? भाषणले साझा भनेर चित्त बुझाउनुपर्ने हो भने त बेग्लै हो तर व्यवहारमा साझा भन्ने विषय वास्तवमा नक्कली भएको कुरा वर्तमान राष्ट्रपति कहाँ जाने कांग्रेस पार्टीका नेता-कार्यकर्ताको लस्कर र अघिल्लो राष्ट्रपति कहाँ जाने कम्युनिष्टका नेता–कार्यकर्ताको लस्करले प्रमाणित गर्दैन ?

राष्ट्रपति कार्यालय आमनेपालीले शिर ठाडो गरेर समानताको आधारमा कुनै पार्टीको चौअन्नी सदस्य नभएको नेपाली नागरिकको हैसियतमा विनाभेदभाव इच्छुक सबैले राष्ट्रपतिसँग फोटो खिच्ने र राष्ट्रपति कार्यालयमा निर्धक्क प्रवेश गर्न दिने अवस्था र व्यवस्था कहिले हुने ? यसबारे तटस्थ र स्वच्छ साथै कुनै पनि पार्टीसँग संबद्ध नभएको अभिभावक भएर महामहिम राष्ट्रपतिले सोच्ने कि ?

राष्ट्रपतिको पदमा पार्टीको मात्रै पहिचान बोकेको व्यक्ति नियुक्ति हुँदा उत्पन्न विभेदको परिस्थितिलाई सुधार्न समयमै यसबारे अध्ययन, अनुसन्धान, व्याख्या, विश्लेषण, छलफल अन्तक्र्रिया आवश्यक देखियो । नेपालीको साझा चासो र चिन्ता के हो भने कस्ता व्यक्तिहरू वास्तविक रूपमा व्यवहारमा, आचरणमा, जीवनशैलीमा, कार्यशैलीमा साझा हुन सक्छन् भन्ने विषयमा बहस प्रारम्भ गर्न परिस्थितिले र परिवेशले नै निर्दिष्ट ग¥यो । नियममा, कानुनमा र संविधानमा भएको व्यवस्था व्यवहारमा त्रुटिपूर्ण प्रमाणित भयो भने सुधार, खबरदारीको थालनी समाजले, विशेषतः बौद्धिक जगतले गर्नुपर्छ । त्यसैले देशको बौद्धिक नागरिक समाजको ध्यान यसतर्फ जानुपर्ने हो कि ?

राष्ट्रपति पद र परिसर सबै नेपालीको साझा हुन सकोस् भनेर नै सम्भवतः संविधानले राष्ट्रपतिलाई कार्यकारी अधिकार नदिएको हुनुपर्छ । हिजो राजदरबार र सिंहदरबारबाट द्वैध शासन भयो भन्नेहरू आज दल त्यागेपछि पनि आफ्नो सचिवालयमा दल विशेषका कार्यकर्ता खचाखच किन भर्ना गर्छन् ? पदमा जानु भनेको सल्लाहकार भर्ना गर्नु हो भन्ने सोचले संविधानले सिर्जना गरेका पदहरूले नियुक्त गरेका वैध-अवैध सल्लाहकारको खर्चले ढुकुटीको सत्यानास गरेको छ । कार्यकारी अधिकार नहुँदा यो वा त्यसतिर ढल्कनुपर्ने बाध्यता हँुदैन र राष्ट्रपतिको पद मर्यादित, सम्मानित हुन्छ भनेर नै राष्ट्रपतिको पदलाई संविधानले आलंकारिक बनाएको हुनुपर्छ ।

फेरि सल्लाहकारहरूको नियुक्तिको लर्को किन ? सरकारको आर्थिक सल्लाहकार राष्ट्र बैंक छ । त्यहाँकै अर्थ विज्ञहरूलाई उपयोग नगरेर पार्टीका कार्यकर्ताको नियुक्ति किन ? कानुनी सल्लाहकार महान्यायाधिवक्ताको कार्यालयमा छन् । आवश्यक पर्दा कुनै पनि कार्यलयमार्फत सल्लाहकार लिन सकिन्छ भने किन छुट्टै सल्लाहकार भर्ना गर्ने ? राष्ट्रलाई आर्थिक बोझ थप्ने र अर्को शक्ति केन्द्र निर्माण गर्ने क्रियाकलापको परिणाम भोलि प्रत्युत्पादक हुनसक्छ । फेरि राष्ट्रपति पद साझा हो भने त्यो राष्ट्रपतिले आफ्नै पूर्वपार्टी-सम्बद्ध कार्यकर्तालाई मात्र किन सचिवालयमा नियुक्त गर्ने ? राष्ट्रपति र सभामुख भएपछि जुनसुकै पार्टीको हैसियतले पदमा पुगे पनि अबका दिनमा मेरो सम्बन्ध कुनै पार्टीसँग छैन, कुनै दलका कार्यकर्तासँग छैन र हुँदैन भनेर पद बहालीपूर्व आ-आफ्नो पार्टीको सदस्यतासमेत त्याग गर्नुपर्ने व्यवस्था संविधानले गरेको छ । दल त्याग्ने तर दलका कार्यकर्ताको आवागमन, सम्बन्ध, हिमचिम व्यवहार पूर्ववत् हुन्छ भने राजीनामा नाटक भएन ? यस्ता नाटकीय विषयले सबै राजनीतिज्ञहरूको सत्यनिष्ठामा प्रश्नचिहृन लाग्दै आएको छ ।

सामान्य नेपालीहरूका माझ उठने यो प्रश्नको नैतिक उत्तर दिन के नेपालका वर्तमान राष्ट्रपति, पूर्वराष्ट्रपति र नेताहरूले सक्छन् ? कथनी र करनीको अन्तरले ग्रसित नेपाली राजनीतिमा यो प्रश्न अनन्तकालसम्म अनुत्तरित रहनु हुँदैन । खासगरी सर्व-सञ्चित कोषबाट जागिर खाने, पारिश्रमिक बुझ्ने, भत्ता खाने, सुविधा लिनेहरूले कुनै पार्टी विशेषको बकालत गर्न वा पक्षपाती बन्न मिल्दैन । राष्ट्रपतिको पदलाई यस्तो बनाइएको छ कि ऊ मृत्यु पर्यन्त सर्व-सञ्चित कोषबाट सुविधा पाउँछ । यस्तो सुविधा जीवनभर लिने व्यक्तिले पदमा रहँदामात्रै होइन अवकाशपछि पनि कुनै एक दलका नेता-कार्यकर्ताको विशेष आवागमन, हिमचिम र सम्पर्क अनैतिक हुन्छ । बहालवाला राष्ट्रपतिको परिसरमा कुनै एक पार्टीको सम्मेलनको झल्को दिने क्रियाकलाप अशोभनीयमात्रै नभएर आपत्तिजनक विषय हो ।

पार्टीको एकोहोरो लगाम भिरेको व्यक्तिमा निष्पक्षता र तटस्थताका गुणहरू निर्वाह गर्न नसक्ने रोगको उपचार पनि पार्टीका नेताहरू नसच्चिइकन सम्भव छैन । पदीय आचरणले तटस्थ र निष्पक्ष हुनुपर्ने तर त्यो योग्यतालाई स्वभावैले निर्वाह गर्न नसक्ने व्यक्तिहरूको छनौटले विगतका राष्ट्रपतिले साझा अभिभावकत्व निभाउन सकेनन् ।

व्यक्ति, परिवार, नातेदार, गुटको कार्यकर्ता र पार्टीभन्दा माथि उठेर निष्पक्ष र तटस्थ बन्ने कल्पना संविधानले गरेको हुँदा राजनीतिक पार्टीहरूको दुर्गन्धमा लतपतिएका झर्रा राजनीतिक व्यक्तिहरूको नियुक्ति त्रुटिपूर्ण भएको कुरा विगतका राष्ट्रपतिका क्रियाकलापले प्रमाणित गर्दा पनि हाम्रो चेत किन खुलेन ? मुख्य समस्या नेताहरूको स्वार्थी चरित्रमा छ । पूर्वराष्ट्रपति रामवरणले प्रधानसेनापतिको प्रकरणमा र विद्या भण्डारीले संसद् विघटनका सन्दर्भमा भए गरेका कामहरूले दलीय राजनीतिबाट निर्वाचितहरू तटस्थ हुन्नन् भन्ने प्रमाणित भयो ।

राष्ट्रपति पदको जिम्मेवारी कस्ता प्रकृतिका, योग्यताका र प्रवृत्तिका व्यक्तिलाई दिने भन्ने कुरा दलहरूको एकलौटी विषय नभएर यो सैद्धान्तिक विषय बन्नुपर्छ । राष्ट्रपति बन्ने व्यक्तिका विषयमा तीन महिना पहिल्यैदेखि उसको तटस्थता, निष्पक्षता, इमानदारी र सत्यनिष्ठाका विषयमा विभिन्न कोणबाट जनताले कसी लगाउन पाउनुपर्छ न कि राजनीतिक पार्टीहरूले गुपचुप राष्ट्रपति बनाउने व्यवस्था । राष्ट्रपतिको जिम्मेवारी दिँदा जीवनशैली, बौद्धिक हैसियत र तटस्थता-निष्पक्षताको गहिरो अध्ययन विनापार्टीको बलमिच्याइँमा पदमा पु¥याउने र पुग्ने दुवै पक्ष दोषी छन् । पार्टीको एकोहोरो लगाम भिरेको व्यक्तिमा निष्पक्षता र तटस्थताका गुणहरू निर्वाह गर्न नसक्ने रोगको उपचार पनि पार्टीका नेताहरू नसच्चिइकन सम्भव छैन । पदीय आचरणले तटस्थ र निष्पक्ष हुनुपर्ने तर त्यो योग्यतालाई स्वभावैले निर्वाह गर्न नसक्ने व्यक्तिहरूको छनौटले विगतका राष्ट्रपतिहरूले साझा अभिभावकत्व निभाउन सकेनन् । दुवै विवादित भए । सबै समस्याहरूको जड पार्टीका नेताहरूको स्वार्थ हो तसर्थ सुधारका लागि सम्बन्धित पक्षले कमजोरीलाई आत्मसात गर्ने कि नगर्ने ? मुख्य समस्याको चुरो यहाँ छ ।

जस्तो सर्वोच्च अदलका तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई किन महाभियोग लगाइयो ? किन त्यसै फिर्ता लिइयो ? के महाभियोग नेताहरूको स्वार्थपूर्तिको हतियार हो कि केटाकेटीको खेल ? प्रधानन्यायाधीशलाई प्रमाणित हुन नसक्ने महाभियोग जस्तो गम्भीर आरोप लगाउने र कारबाही विनाअभियोग फिर्ता गर्ने नेताहरू किन दण्डित हुँदैनन् ? किन लाग्यो ? किन फुक्यो महाभियोग ? जनताप्रति जवाहदेही छौं भन्नेहरूले जवाफ दिनुपर्दैन ? प्रधानमन्त्री निवासको जग्गा निजी बनाएर फिर्ता गर्ने विष्णु पौडेल र महाभियोग फिर्ता लिने सांसदहरू किन दण्डित नहुने ?

अर्का प्रधानन्यायाधीश चोलेन्द्रशमशेरलाई पनि वर्षदिनसम्म काम गर्न नदिने र महाभियोग पुष्टि पनि गर्न नसक्ने नेताहरू दण्डित-आलोचित किन भएनन् ? नेताहरूमा भएको गैरजिम्मेवारीपन र गैरजवाफदेहीपनको सिकार कहिलेसम्म नेपाली जनता र देश हुने भन्ने मुख्य प्रश्नको उत्तर जहिलेसम्म कानुनी आधारमा भेटिन्न त्यतिबेलासम्म देशको राजनीतिले सुल्टो बाटो तय गर्दैन । राजनीति, अर्थनीति र प्रशासनिक नीतिलाई देश र जनताको हितमा भन्दा नेताहरूको हितमा प्रयोग हुने अवस्था र परिस्थितिबाट जहिलेसम्म देशको राजनीतिले मुक्ति पाउँदैन तहिलेसम्म वर्तमान नेतृत्वबाट हुने काम कारबाहीहरू स्वच्छ, निष्पक्ष र तटस्थ हुँदैनन् भने कसरी हाम्रो राष्ट्रपति एक्लै न तटस्थ हुन सक्छन् न त निष्पक्ष र साझा अभिभावक नै ।

बेइमानी नेता र गुलाम बुद्धिजीवीहरू नेपाली जनताका अन्धकार भविष्यका कारण हुन् । आगन्तुकहरूले राष्ट्रपतिसँग फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेर महान हुने धारणा हो कि गुलामी ? दुवै गैरसिर्जनशील काम हुन् । के राष्ट्रपतिको रोजगारी नै आगन्तुकसँग फोटो खिचाउनु हो ? के अन्य सिर्जनशील काम छैनन् ? यस्तो जनबहसबाट राष्ट्रपतिको मर्यादा र गरिमा के हुन्छ ? सम्बन्धित पक्षले साझा, सरल, निष्पक्ष र तटस्थ बन्न गम्भीर बन्नुपर्ने हो कि ?

Subscribe
Notify of
guest
3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
devibhakta dhakal
devibhakta dhakal
2023-04-04 1:11 pm

हि टा परिवारलाई हार्दिक धन्यवाद ।

कुलप्रसाद काे इराला ।
कुलप्रसाद काे इराला ।
2023-04-04 8:21 pm

जयहाेस्,देवीभक्त सरकाे ।राष्ट्राध्यक्ष कुनै पार्टी,समुदाय,जातजातिका घेरामा पर्नु हुँदैन ।पद नपाएर कुन्ठित मानसिकता बाेकेर या कुनै अकृत्य गरेर पुगेकाले त्यहां पुर्याउन सहयाेग गर्नेकाे आठपहरिया बनेकाे विद्याजीले देखाइन्। राचपाै पनि त्ही बाटाे हिंडे भनेपनि काँग्रेसलाई लाज नलाग्नसक्छ ।याे संविधान रहेसम्म शुद्ध राजनीक चरित्रका दलले मुलुक हाँक्नसक्ने अवस्था देखिएन ।याे जनता ठगबन्धन जतिलज्जास्पद त राजाले चलाएकाे एकव्यक्तीय पद्धति पनि देखिएकाे थिएन ।तपाईंले र आम नेपालीले खाेजेकाे छविका निमित्त याे संविधान संशाेधन गरेर चाेर,लफङ्गा,डाका,चाकडीवाज ( डा महत् र सिंहभन्डारी) जस्ता बाँचेसम्म मन्त्री बन्ने र जीवनमा अपकर्म बाहेक केही नगरेका लम्फूले पद अाेगट्ने अवस्था संविधान प्रदत्त कुराे हाे ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?