भियतनामविरुद्ध जितको अपेक्षा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । पेरिस ओलम्पिकअन्तर्गत महिला फुटबलको एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले भियतनामसँग जितको अपेक्षा राखेको छ । छनोटको पहिलो खेल नेपालले आज (बुधबार) भियतनामसँग घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्दैछ ।

नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । तुलनात्मकरूपमा नेपालभन्दा बलियो टोली भियतनामविरुद्ध जितको अपेक्षासहित मैदान उत्रिने नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले बताउनुभयो । उहाँले दोस्रो चरणमा पुग्नका लागि पनि खेल महत्वपूर्ण हुने प्रतिक्रिया दिनुभयो । ‘हाम्रो तयारी राम्रो छ । होम मैदानको फाइदा पनि रहनेछ । राम्रो विपक्षीविरुद्ध खेल्दै छौँ । भियतनामले विश्वकपसमेत खेल्दैछ । वरीयता हामीभन्दा धेरै माथि छ,’ प्रशिक्षक थापाले भन्नुभयो, ‘हाम्रो टिममा राम्रा खेलाडी छन् । एक महिनाबाट तयारी गरिरहेका छौँ । राम्रो प्रदर्शन गर्ने छौँ । सुखद नतिजाको अपेक्षा छ ।’

भियतनामले २०२३ को महिला विश्वकप खेल्दैछ । फिफा वरीयतामा भियतनाम ३३औँ स्थानमा रहेको छ । नेपाल १००औँ स्थानमा रहेको छ । प्रशिक्षक थापाले भियतनामलाई पहिलेदेखि नै हेरिरहेको र उसको कमजोर पक्षमा अट्याक गर्ने रणनीति सुनाउनुभयो । पहिलो चरणको छनोटको समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र खेल्न लागेका हुन् । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र भियतनाममात्र रहेका हुन् । नेपालले दोस्रो खेलमा भियतनामसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउनेछन् ।

नेपाली राष्ट्रिय टिमका गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बाले भियतनाम वरीयतामा माथि भए पनि जितकै लागि खेल्ने बताउनुभयो । ‘भियतनामसँग पहिलोपटक खेल्दै छौँ । वरीयताले फरक पर्दैन । हाम्रो जित्ने लक्ष्य छ । मैदान पसेपछि हार्ने मन हुँदैन,’ एन्जिलाले भन्नुभयो, ’अन्तिमसम्म फाइट ग¥यौँ भने राम्रो नतिजा आउनेछ ।’

भियतनामका मुख्य प्रशिक्षक माई डक चुङले नेपालको टोली राम्रो रहेकाले खेल प्रतिस्पर्धात्मक हुने बताउनुभयो । ‘हामीले नेपालसँग पहिले खेलेका छैनौँ तर नेपालसँग प्रभावशाली टोली छ । हामी राम्रो प्रदर्शन गर्ने आशा गर्दछौँ किनभने हामी यहाँ खेलहरू खेल्नमात्र होइन, प्रतिस्पर्धा गर्न आएका हौँ,’ उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?