चिनी उद्योगले दिएनन् उखु किसानलाई पैसा

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । उखु क्रसिङ सकेर बन्द भएका सर्लाहीका दुईवटा चिनी उद्योगले किसानको भुक्तानी दिन आलटाल गरेका छन् । अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहलाई उखु दिएका किसानले मिल बन्द भएको एक महिनासम्म पनि भुक्तानी नपाएको गुनासो गरेका हुन् । यी दुवै चिनी उद्योगबाट महिनौँसम्म भुक्तानी नपाउँदा किसानले बर्सेनि आन्दोलन गर्दै आइरहेका छन् ।

सुरुमा केहीलाई भुक्तानी दिएर यी दुवै चिनी उद्योगका सञ्चालक अहिले आफूहरूसँग सम्पर्कमै नरहेको गोडैता नगरपालिका-९, का किसान सीताराम यादवले गुनासो गर्नुभयो । ‘सुरुमा केही किसानलाई भुक्तानी दिइयो, त्यसपछि बाँकी किसानको पैसा दिन मिलले वास्तै गरेको छैन,’ यादवले भन्नुभयो, ‘मिल बन्द भइसकेको एक महिनासम्म पनि उद्योगी सम्पर्कमा नआउँदा हामीलाई व्यवहार धान्न गाह्रो परिसकेको छ ।’ उद्योगले उखु बेचेको पैसा नदिँदा बालबालिकाको विद्यालयमा शुल्क बुझाउन नपाएको उहाँले गुनासो गर्नुभयो । उखु खेतीबाटै व्यवहार चलाउने किसान उद्योगबाट पैसा नपाउँदा साहुमहाजनबाट ऋण काढ्न बाध्य भएका छन् ।

धनकौल गाउँपालिका-३, का किसान रामस्वार्थ साहले उखुको पैसा नपाउँदा उखु काट्ने जन, ढुवानी गर्ने ट्याक्टरको पैसा धरी तिर्न नपाएको गुनासो गर्नुभयो । ‘उखु फलाउँदादेखि उद्योगसम्म लगेर बुझाउँदासम्मको उधारो छ तर उद्योगले कहिले पैसा दिन्छ भन्ने अन्योल छ,’ साहले भन्नुभयो । अब पनि चिनी उद्योगले भुक्तानी नदिए मिटरब्याजबाट पीडित भएकाहरूले झैँ आफूहरू पनि आन्दोलनमा उत्रन बाध्य हुने साहको भनाइ छ । सर्लाहीका तीनवटा चिनी उद्योगमध्ये इन्दुशंकर चिनी उद्योग हरिवनबाट भने किसानले क्रमिकः रूपमा भुक्तानी पाइरहेका छन् ।

किसानलाई भुक्तानीमा आलटाल गर्ने अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहका सञ्चालक स्थानीय प्रशासन र सञ्चारकर्मीको समेत सम्पर्कमा आउन चाँहदैनन् । बेलैमा भुक्तानी नदिने समस्याका कारण पछिल्ला वर्षमा किसानले अन्यत्र ठाउँका चिनी उद्योग र सक्खर बनाउने उद्योगलाई उखु बेच्न थालेका छन् । भुक्तानीकै झन्झटका कारण उखु खेती छाड्ने किसान पनि बढ्दै गएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?