नक्षत्र विचार

Read Time = 17 mins

✍️ डा.नारायणप्रसाद निरौला

आकाशमा स्थिर रहने नचल्नेवाला चम्किला तारा विशेषलाई नक्षत्र भनिन्छ । यस्ता तारा एकदेखि सय वटासम्मको पुञ्जन क्षेत्रमा रहने गर्दछन् । यिनै नक्षत्रकै आधारमा हाम्रा धार्मिक कार्य सम्पादन हुने गर्दछन् । पञ्चाङ्गका मुख्य पाँच अङ्गमध्येको एक नक्षत्र हो । नक्षत्रकै आधारमा शुभाशुभ दिनको निर्धारण हुने गर्दछ । कार्यअनुसार भिन्ना भिन्नै नक्षत्रको व्यवस्था शास्त्रमा गरिएको छ । पुराणमा दक्षप्रजापतिका सत्ताइस छोरीहरूलाई नक्षत्रका रूपमा वर्णन गरिएको छ ।

सत्ताइस नक्षत्रमा अश्विनी, भरणी, कृत्तिका, रोहिणी, मृगशिरा, आद्र्रा, पुनर्वसु, पुष्य÷तिष्य, अश्लेषा, मघा, पूर्वाफाल्गुनी, उत्तराफाल्गुनी, हस्त, चित्रा, स्वती, विशाखा, अनुराधा, ज्येष्ठा, मूल, पूर्वाषाढा, उत्तराषाढा, (अभिजित), श्रवण, धनिष्ठा, शतभिषा, पूर्वभाद्रपदा, उत्तरभाद्रपदा र रेवती पर्दछन् । नक्षत्रका स्वमी चन्द्रमा हुन् । उत्तराषाढाको अन्तिम चतुर्थांश (१५ घडी) र श्रवणको प्रथम पञ्चदशांश (४ घडी) मिलेर अभिजित नक्षत्रको मान १९ घडी हुन्छ । अभिजित नक्षत्रको छुट्टै स्वतन्त्र अस्तित्व नभएकाले नक्षत्र संख्या २७ नै हो ।

महिनाको नाम निर्धारण पनि यिनै नक्षत्रका आधारमा गरिएको छ । वैशाखशुक्ल पूर्णिमाका दिन विशाखा नक्षत्रमा चन्द्रमा परेका हुन्छन् । अर्थात् भनौं विशाखा नक्षत्रका दिन पूर्णिमा पर्ने महिनालाई वैशाख नामकरण गरिएको हो । आकाशमा ठीक विशाखा नक्षत्र ताराको आमनेसामने चन्द्रमा पृथ्वीबाट आकाशमा देखिन्छन् । यसैगरी ज्येष्ठा नक्षनत्रका दिन पूर्णिमा पर्ने महिना जेठ हो । पूर्वाषाढा नक्षत्रका दिन पूर्णिमा पर्ने भएकाले आषाढ महिनाको नाम निर्धारण गरिएको हो । कहिलेकाहीँ उत्तराषाढा नक्षत्रमा पनि पूर्णिमा पर्ने गर्दछ । श्रवण नक्षत्रका दिन पूर्णिमा पर्ने महिनालाई श्रावण भनिन्छ ।

नक्षत्रचक्र स्थिर छ यस चक्रभित्र सूर्यादि ग्रह पनि छन् । ग्रहसहितको यो नक्षत्र चक्रलाई ब्रहृमाजीले पश्चिमाभिमुखी (घडीको सुईको दिशातिर) घुमाउने र ग्रह आफ्नै गतिले निरन्तर पूर्वाभिमुखी (घडीको विपरीत दिशातिर) हुने भएकाले प्रत्येक दिन भिन्नाभिन्नै नक्षत्र हाम्रो आकाशमा उदाउने गर्दछन् ।

पूर्वाभाद्रपदा नक्षत्रका दिन पूर्णिमा पर्ने भएकाले भाद्र महिना निर्धारण गरिएको हो । कुनै समयमा उत्तराभाद्रपदा नक्षत्रमा पनि पूर्णमा रहने गर्दछ । यसैगरी अश्विनी नक्षत्रका दिन पूर्णिमा पर्ने महिना आश्विन, कृत्तिका नक्षत्रका दिन पूर्णिमा पर्ने महिना कार्तिक, मृगशिरा नक्षत्रका दिन पूर्णिमा पर्ने महिनालाई मार्गशीर्ष, पुष्य नक्षत्रका दिन पूर्णिमा पर्ने महिनालाई पौष, मघा नक्षत्रका दिन पूर्णिमा पर्ने महिनालाई माघ, पूर्वाफल्गुनी नक्षत्रका दिन पूणिमा पर्ने महिनालाई फाल्गुन भनिन्छ ।

फाल्गुन महिनामा कहिले पूर्वाफाल्गुनी र कहिले उत्तरा फाल्गुनी नक्षत्रका दिन पूर्णिमा पर्ने गर्दछ । फल्गुन, चित्रा नक्षत्रका दिन पूर्णिमा पर्ने भएकाले चैत्र महिनाको निर्धारण गरिएको कुरा ज्योतिषशास्त्रको प्राचीनग्रन्थ सूर्यसिद्धान्तमा बताइएको छ ।
नक्षत्रचक्र स्थिर छ यस चक्रभित्र सूर्यादि ग्रह पनि छन् । ग्रहसहितको यो नक्षत्र चक्रलाई ब्रहृमाजीले पश्चिमाभिमुखी (घडीको सुईको दिशातिर) घुमाउने र ग्रह आफ्नै गतिले निरन्तर पूर्वाभिमुखी (घडीको विपरीत दिशातिर) हुने भएकाले प्रत्येक दिन भिन्नाभिन्नै नक्षत्र हाम्रो आकाशमा उदाउने गर्दछन् । दैनिक सूर्योदय हुनुको कारण पनि यही नै हो । एक दिनमा एक नक्षत्र हुने गर्दछ । एउटा नक्षत्रको भोगकाल ६० घडी अर्थात् २४ घण्टा रहने गर्दछ । यसरी २७ वटा नक्षत्रमा चन्द्रमा एक फन्को लगाइसकेपछि एउटा चान्द्रमास हुन्छ ।

एक चान्द्रमासमा १२ वटा राशिको भोग चन्द्रमाले गरिसकेको हुनुपर्दछ । चन्द्रमाको गति छिटो हुने र त्यसको तुलनामा सूर्य ढिलो हिँड्ने भएकाले चन्द्रमाले ३६० डिग्री पार गर्ने र सूर्यले ३० डिग्री पार गर्ने समय बराबरी भएकाले यही समयलाई महिनाका रूपमा निर्धारण गरिएको हो । जुन सूर्य र चन्द्रमाको गतिमा आधारित रहने गर्दछन् ।

ज्योतिषशास्त्र अनुसार नक्षत्रका आधारमा नामको निर्धारण गरिन्छ । नक्षत्र भनेका आकाशका ताराका समूह हुन् । आकाशमा असङ्ख्य तारा छन् । तीमध्ये हाम्रो पृथ्वीको वरिपरि दृष्टिपथमा आउने विशेष तारपुुञ्जको समूहलाई आधार मानेर स्वरूप र आकृति सदृश नक्षत्रको नामकरण गरिएको छ । यिनै नक्षत्रको समूहलाई राशि भनिन्छ । अर्थात् ताराको समूह मिलेर नक्षत्र र नक्षत्रको समूह मिलेर राशि बन्ने गर्दछ । वर्षौंसम्म एउटै स्थानमा स्थिर रहने भएकाले ‘न क्षरतीति’ अर्थात् नचल्ने तारा विशेषलाई नक्षत्र भनिएको हो । आकाशमा ग्रहकक्षाभन्दा माथि नक्षत्रको कक्षा रहेको छ । पृथ्वीको वरिपरि रहेका विशेष ताराका २७ समूह नक्षत्र हुन् ।

आकाशको वरिपरि ३६० अंशमध्ये एक नक्षत्रले ३ अंश (डिग्री) २० कला (मिनेट) को कोणीय अवस्थितिलाई प्रतिनिधित्व गर्ने गर्दछ । यसैगरी एक राशिमा ३० अंश हुन्छ । यसरी हेर्दा एक राशिअन्तर्गत दुई नक्षत्र र तेस्रो नक्षत्रको एक चौथाई मान आउन जान्छ । नक्षत्र स्थिर रहन्छन् । प्रवहनामको वायुले स्थिर नक्षत्रसहितको आकाशीय परिवृत्तलाई दिनमा एक फन्का पश्चाभिमुखी (घडीको सुईको दिशातिर) घुमाइरहेको हुन्छ । यसैले प्रतिदिन सूर्योदय हुने गर्दछ । यो क्रम निरन्तर चलिरहन्छ ।

आधुनिक मतमा भने पृथ्वी घुम्छ र प्रवहवायुको परिकल्पना छैन । पृथ्वी घुमे पनि सूर्य घुमे पनि गणित एउटै आउँछ । घडीका सूई नघुमाई तलको प्लेट घुमाएर पनि सही समय निर्धारण गर्न सकिन्छ । एक पक्ष स्थिर र एक पक्ष चलायमान भएपछि मात्र गतिको गणना गर्न सम्भव रहन्छ । यसरी रहने आकाशीय तारामण्डलअन्तर्गत जुन नक्षत्रमा चन्द्रमा पुग्छन् सोही नक्षत्र उक्त दिनको प्रतिनिधित्व गर्ने हुन्छ । अश्विनी नक्षत्रका दिन चन्द्रमा पनि अश्विनी नक्षत्रमा नै पुगेका हुन्छन् । जसको प्रत्यक्ष अवलोकन आकाशमा गर्न सकिन्छ । घोडाको स्वरूप जस्तो आकृति अश्विनी नक्षत्रको रहेको छ ।

यसैले यसको नाम अश्विनी रहेको हो । यस्तै २७ वटै नक्षत्रका स्वरूप र आकृतिअनुसारका नाम रहेका छन् । यसरी नक्षको एक चक्रलाई चन्द्रमाले परिभ्रमण गरिसकेपछि एक चान्द्र महिना हुन्छ । चन्द्रमा जुन नक्षत्रमा रहन्छन् सोही नक्षत्रबाट हाम्रो नाम पनि निर्धारण गरिएको हुन्छ । चन्द्रमा अश्विनी नक्षत्रको पहिलो चरणमा जुन समयमा रहन्छन् उक्त समयमा जन्म लिने व्यक्तिको नाम पनि सोही नक्षत्रको सोही चरण हुन्छ । जस्तो अश्विनी नक्षत्रको पहिलो चरणमा चन्द्रमा पुगेका छन् भने उक्त समयमा जन्म लिने व्यक्तिको नाम ‘चू’ बाट हुन्छ । यसरी नाम रहनुमा आकाशीय नक्षत्र, तारा र चन्द्रमा प्रत्यक्ष साक्षी रहेको कुरा जान्न सकिन्छ ।

प्रत्येक दिनको मध्याहृनमा लगभग ११।४०-१२।२८ सम्म ४८ मिनेटको अवधि अभिजित मुहूर्त हुन्छ । अभिजित मुहूर्तमा दक्षिण दिशाको यात्रा वर्जित छ । (भारतीय ज्योतिष विज्ञान, विसं २०६२, पृ.७३) । मूल र अश्लेषा नक्षत्रलाई अशुभ मानिन्छ । यी नक्षत्रमा जन्म भए शान्ति गर्नुपर्ने विधान शास्त्रमा पाइन्छ । धनिष्ठा, शतभिषा, पूभाप, उभाप र रेवती नक्षत्र परेको दिन पञ्चक शरुन वा भद्वा रहन्छ । विशेष कार्यमा वर्जित रहन्छन् । विशेषतः चन्द्रमा कुम्भ र मीन राशिमा भएको समयमा पञ्चक रहने गर्दछ । पञ्चकमा मृत्यु भए तद्नुसारको दाहसंस्कार एवं शान्ति गर्नु पर्दछ ।

आकाशमा देखिने तारासँग पृथ्वीवासीको अन्योन्याश्रित सम्बन्ध रहेको छ । व्यक्ति जन्मेका समयमा आकाशमा जुन तारा उदाउँछन् सोही तारा (नक्षत्र) बाट हाम्रो नाम निर्धारण हुने गर्दछ । यसैगरी यिनै आकाशमा उदित भएका समयमा शुभाशुभ कर्म गर्न शास्त्रले निर्देश दिएका छन् ।

रेवती, अश्लेषा र ज्येष्ठाको अन्तिम दुई घडी र अश्विनी, मघा र मूलका सुरुका दुई घडी नक्षत्र गण्डान्त हुन्छ । ज्येष्ठाको अन्तिम पाँच घडी र मूलको सुरुको आठ घडी अभुक्त मूल हुन्छ । अभुक्त मूलमा जन्म भए शान्ति गर्नुपर्ने शास्त्रीय विधान छ । जसमा इन्द्र र वरुणको समेत पूजा गरी कलशको जलले सय छिद्र भएको भाँडोबाट अभिषेक गर्नुपर्दछ । मृत्युञ्जय मन्त्रको जपका साथै कलशको जलले स्नान पनि गराउनु पर्ने विधान पाइन्छ । यसैगरी ज्येष्ठा गण्डान्त भए मूल जस्तै शान्ति गर्नुपर्छ । तर, यसमा भने प्रधान देवता इन्द्र, अधिदेव अग्नि र प्रत्याधिदेव राक्षस हुन्छन् ।

उत्तराफाल्गुनी, उत्तराषाढा, उत्तराभाद्रपदा र रोहिणी ध्रुव वा स्थिर संज्ञक नक्षत्र हुन् । यी नक्षत्रका दिन स्थिरकार्य, बीज रोपण, गृहनिर्माण, शान्तिकर्म एवं विश्रामस्थल निर्माण आदि स्थिर कार्य शुभ मानिन्छन् । स्वाती, पुनर्वसु, श्रवण, धनिष्ठा, शतभिषा चर वा चल संज्ञक नक्षत्र हुन् यी नक्षत्रका दिन हात्ती दाउने, हात्तीमा चढ्ने, घोडा दाउने घोडामा चढ्ने, बगैँचा आदि प्राकृतिक भ्रमण एवं यात्राका कार्य शुभ मानिएको छ । पूर्वाफाल्गुनी, पूर्वाषाढा, पूर्वाभाद्रपदा, भरणी, मघा उग्र वा क्रूर संज्ञक नक्षत्र हुन् ।

यी नक्षत्रमा युद्ध, शस्त्र परीक्षण एवं प्रक्षेपण, अग्निविध्वंस, विष एवं विषादिको कार्य, मुख्र्याइँका कार्य शुभ मानिन्छन् । विशाखा, कृत्तिका नक्षत्रलाई मिश्रवा साधारण संज्ञा दिइएको छ । यी नक्षत्रमा अग्निस्थापनादि कार्य अग्निहोत्रादि कार्य, वृषोत्सर्गादि कार्य शुभ मानिन्छ । हस्त, अश्विनी, पुष्य, अभिजित नक्षत्रक्षिप्रवा लघुसंज्ञक हुन् । यी नक्षत्रमा व्यापारिक कार्य, क्रयविक्रय, रतिक्रीडादि कार्य, आभूषण बनाउने एवं लगाउने कार्य, कलाप्रदर्शनी, शील्प ज्ञानका कार्य शुभ मानिएको छ । मृगशिरा, रेवती, चित्रा, अनुराधा नक्षत्र मृदु वा मैत्रसंज्ञक हुन् ।

यी नक्षत्रमा गीतसंगीतका कार्य, वस्त्रसम्बन्धी कार्य, खेलसम्बन्धी कार्य मैत्री सन्धिसम्बन्धी कार्य शुभ मानिएको छ । मूल, ज्येष्ठा, आद्र्रा, अश्लेषा नक्षत्र तीक्ष्ण वा दारुणसंज्ञक हुन् । यी नक्षत्र र वारमा अभिचारादि कर्म, मारण, मोहन आदि कर्म, घात कर्म (काटमारका काम), उग्र निर्दयी कार्य, हात्ती घोडा आदि पशुलाई शिक्षा दिने दाउने कार्य शुभ हुन्छ भनी मुहूत्र्त चिन्तामणिको नक्षत्र प्रकरणमा बाइएको छ ।

आकाशमा देखिने तारासँग पृथ्वीवासीको अन्योन्याश्रित सम्बन्ध रहेको छ । व्यक्ति जन्मेका समयमा आकाशमा जुन तारा उदाउँछन् सोही तारा (नक्षत्र)बाट हाम्रो नाम निर्धारण हुने गर्दछ । यसैगरी यिनै आकाशमा उदित भएका समयमा शुभाशुभ कर्म गर्न शास्त्रले निर्देश दिएका छन् । पञ्चाङ्गमध्येको एक मुख्य अङ्ग नक्षत्रकै आधारमा आकाशीय परिगणना, ग्रहदशा निर्धारण पनि हुने गर्दछ । चन्द्रमा जुन नक्षत्रमा पुग्छन् उक्त दिन त्यही नक्षत्रले प्रतिनिधित्व गर्ने गर्दछ । यसैले स्पष्ट चन्द्रमाको १३.३३३ अंश बराबर एक नक्षत्र हुने गर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?