मिल्स टी-२० क्रिकेटको उपाधि नरपथगञ्जलाई

हिमालय टाइम्स
Read Time = 3 mins

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टी-२० प्रतियोगिताको उपाधि भारत विहारको राहुल ११ नरपथगञ्जले जितेको छ । विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा एनबिएससी क्रिकेट क्लब विराटनगरलाई तीन विकेटले हराउँदै नरपथगञ्जले उपाधि जितेको हो । जितसँगै नरपथगञ्जले एक लाख ११ हजार पायो । उपविजेता विराटनगरले ५१ हजार रुपैयाँमा चित्त बुझायो ।

१५८ रनको विजयी लक्ष्य पछ्याएको नरपथगञ्जले १८ दशमलब दुई बलमा सात विकेट गुमाई पूरा ग¥यो । नरपथगञ्जका भानु आनन्दले ३५ बलमा ६३ रनको अर्धशतीय इनिङ खेल्नुभयो । उहाँले ६ छक्का र चार चौक्का प्रहार गर्नुभयो । उत्कृष्ट प्रदर्शन गर्ने नरपथगञ्जका भानु म्यान अफ द फाइनल पनि घोषित हुनुभयो । उहाँले ११ हजार रुपैयाँ पाउनुभयो ।

नरपथगञ्जका विजय भारतीले ३६ रन बनाउँदै अविजित रहनुभयो । साहिल कुमारले २५ रनको योगदान दिनुभयो । विराटनगरका विधान गोस्वामीले ३ दशमलब २ बलमा ३३ रन खर्चेर ४ विकेट लिनुभयो । साकिबुल गनीले २ विकेट र मोहित कुमारले १ विकेट लिनुभयो ।

यसअघि टस जितेर ब्याटिङ गरेको एनबिएससीले १९ ओभरमा अलआउट भई १५७ रनमा सीमित भयो । विराटनगरका रोहन बिकेले ३५ बलमा ४४ रन बनाउनुभयो । यस्तै, प्रशान्त कुमारले २२ रन र विपिन सौरवले २१ रन बनाउनुभयो । नरपथगञ्जका अमन सिंह, सक्षम शर्मा, रबडा र साहिल कुमारले समान २/२ विकेट लिनुभयो ।

बेस्ट ब्याटर नरपथगञ्जका अभिषेक पाठक हुनुभयो । यस्तै, बेस्ट बलर एनबिएससी विराटनगरका अनुभव श्रीवास्तव, प्लेयर अफ द सिरिज एनबिएससीका विधान गोस्वामी घोषित हुनुभयो । उहाँहरू सबैले जनही १५ हजार रुपैयाँ पाउनुभयो । उदयीमान खेलाडी मिल्स एकेडेमीका अभय कुर्मी हुनुभयो । उहाँले पाँच हजार पाउनुभयो ।

विजेता हुने टिमलाई क्यान केन्द्रीय कोषाध्यक्ष रोशन सिंह, क्यानका वरिष्ठ सल्लाहकार नरेश श्रेष्ठ, नेपाल खेलकुद महासंघकी केन्द्रीय सदस्य साना डंगोल, मिल्स क्रिकेट एकेडेमीका अध्यक्ष मुरारी चौधरीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?