नागरिकता विधेयकलाई प्रमाणिकरण गरियोस्: बालकृष्ण खाँण

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

जनकपुर । सत्तारुढ नेपाली काँग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नागरिकतासम्बन्धि विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गर्नु भएको छ ।

संघीय संसदको दुवै सदनले पास गरी दोस्रो पटक पठाइएको सो विधेयकलाई प्रमाणिकरण गरेर राष्ट्रपति पौडेलले नागरिकताविहिनहरुलाई नागरिकता दिने कानुनी प्रबन्ध गर्नुपर्ने उहाँको भनाई थियो । आईतबार नेपाल प्रेस युनियन, धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खाँणले सो विधेयक प्रमाणिकरणका लागि आवश्यक वातावरण बनाउन सरकार र राजनीतिक पार्टीहरुको पनि ध्यानाकर्षण गराउनु भयो ।

संविधान अनुसार संघीय संसदको दुवै सदनले पास गरी दोस्रो पटक प्रमाणिकरणका लागि पठाइएको सो विधेयक तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै थन्किएर बसेको छ । सो विधेयक तत्काल प्रमाणीकरण गरी कानुनको अभावमा नागरिकता नपाएकाहरुलाई नागरिकता दिने कामको थालनी गर्नुपर्ने पनि नेता खाँणले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘अनागरिकलाई पनि नागरिकता दिने गरी राष्ट्रपति समक्ष पठाइएको नागरिकता सम्बन्धि विधेयक स्विकृत गर्नका लागि, प्रमाणीकरण गर्नका लागि म यो जनकपुरको नेपाली काँग्रेसको प्रदेश कार्यालयबाट सम्पूर्ण राजनीतिक पार्टीहरुलाई आग्रह गर्दछु–त्यो वातावरण गराउनुहोस् । र, सरकारले, राजनीतिक दलहरुले सम्माननीय राष्ट्रपतिसँग आग्रह गरेर त्यो नागरिकता विधेयकलाई प्रमाणिकरण गरियोस् । र, ती नेपाली नागरिक, जसले नागरिकता प्राप्त गर्न सकेका छैनन् कानुनको अभावमा । उनीहरुलाई नागरिकता दिने काममा थालनी होस् भन्ने म आग्रह गर्न चाहन्छु ।’

नेता खाँणले संविधानको प्रावधान अनुसार नै आएकाले सो विधेयकलाई प्रमाणीकरण गर्न ढिलाई गर्नुपर्ने कुनै कारण नरहेको जिकीर समेत गर्नु भयो । उहाँले बैशाख १० गते हुने बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहु क्षेत्र नम्बर १ को उपचुनाव सकिएलगत्तै सबै प्रदेशमा मुख्यमन्त्री आलोपालो हुने गरी सत्तारुढ दलहरुले प्रदेश सरकार पुनर्गठन गर्ने पनि स्पष्ट पार्नु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?