बारामा नेपाली सिक्का लेनदेन नै बन्द, उपभोक्ता ठगिन बाध्य

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 6 mins

बारा । बारामा लामो समय देखि नेपाली सिक्का लेनदेन बन्द रहेको छ । यसरी नेपाली सिक्का लेनदेन बन्द हुँदा कुनै न कुनै निहुँमा उपभोक्ता दिनहुँ ठगिने गरेका छन् । सरकारले ठोस निति बनाउन नसक्दा उपभोक्ता दिनहुँ ठगिने गरेका हुन । सरकारी देखि गैर सरकारी कार्यालयहरु सबैले उपभोक्तालाई ठग्ने गरेको छ । ठगी स्थानीय देखि केन्द्रसम्म हुँदै आएको छ । यहाँसम्म की यस्तो ठगीबाट न्याय सम्पादन गर्ने निकाय समेत अछुतो रहन सकेको छैन ।

दिनहुँजसो उपभोक्ताहरु बजारमा, औषधी, किराना समान किन्न जादा होस वा कार्यालयमा कर तिर्दा होस उनीहरु ठगिने गरेको कलैया घण्टाघर नजिकै किराना पसल संचालन गर्दै आउनु भएका विष्णु पौडेलले बताउनुभयो ।

एक रुपैया र दुई रुपैयाँको सिक्का प्रचलनमा नआउँदा हामी दोहाेरो मार खेप्न बाध्य भएका छौ । समानहरु विक्री वितरण गर्दा २२ रुपैयाँको समान २५ रुपैयाँ वा २० रुपैयाँमा बेच्नु पर्ने बाध्यता रहेको छ, उहाँले भन्नुभयो,‘ ग्राहकहरु आउँदा समानको मूल्य कति हो भनेर सोध्दा २२ रुपैयाँको समान २५ रुपैया रहेको भन्न बाध्य भएका छौ । मूल्य प्रिन्ट हेर्दा ग्राहकहरु किचकिच गर्छन २२ रुपैयाँको समान २५ मा किन दिएको भनि बहस पनि गर्छन । बढी पैसा दिएमा चकलेट वा अन्य २/३ रुपैयाँको समान दिन्छौ तर हरेक ठाउँमा त्यस्तो छैन ।

सिक्का नचल्ने नाउँमा दुई तीन रुपैयाँ कम मूल्य भएको समान पनि उपभोक्ताहरुले महंगोमा किन्नु पर्ने बाध्यता रहदै आएको कलैया उपमहानगरपालिका-६ का श्याम प्रसाद साहले बताउनुभयो । 'कुनै पनि सरकारी वा गैर सरकारी कार्यालयमा जादा समेत १/२ रुपैयाँ नत फिर्ता दिन्छन नत कम लिन्छन् । यसरी दिनहुँ एक/दुई रुपैयाँको नाउमा लाखौ रुपैयाँ ठगी र भ्रष्टाचार हुँदै आएको उहाँले बताउनुभयो । अहिले एक रुपैयाँमा पाउने सुपारी समेत बन्द भयो । पाँच रुपैया भन्दा कममा सुपारी समेत पाउन नसकिने उहाँले बताउनुभयो । एक रुपैयाँमा पाउने चकलेट एउटा सिक्का लिएर गयो भयो पाउँदैन । पाँच रुपैया भन्दा कमको चकलेट नै दिदैनन,' उहाँले भन्नुभयो ।

एक दुई रपैयाँको सिक्का लिदा नत उपभोक्ताले लिन्छ नत बैकले आखिरमा हामीले फेरि त्यो सिक्का कहाँ दिने त्यसैले नत सिक्का लिन्छौ नत दिन्छौ नै भरतचौकमा पान पसल संचालन गर्दै आएका राज प्रसाद साहले जानकारी दिनुभयो ।

नेपालमा सिक्काको चलन चल्ती नरोकिएको र अहिले पनि नेपाल राष्ट्र बैकसँग सिक्काहरु रहेको कसैलाई आवश्यकता छ भने लिन सकिने नेपाल राष्ट्रबैकका सूचना अधिकारी नारायण प्रसाद पोखरेलले बताउनुभयो । नेपालमा सिक्का प्रचलनमा नरहेको भनि भ्रम मात्र हो । अहिले पनि सिक्का लिने दिने काम हुने गरेको र बजारमा समेत सिक्काहरु प्रचलनमा रहेको उहाँले जानकारी दिनुभयो ।

बारा जिल्ला अदालतमा समेत सिक्का प्रचलन बन्द भएको अधिवक्ता एकरामुल हकले बताउनुभयो । रसिद काटदा ७, ८, ९ रुपैया नै काटिने तर लिने बेलामा १० भन्दा कम लिदैनन । यसरी अदालतले समेत सेवाग्राहीहरुलाई खुद्रा पैसा लिने दिने नगरेको उहाँले बताउनुभयाे । अदालती शुल्कमा यदि ८६, ८७ आयो भने ९० रुपैया लिने तर रसिद काटदा जति आएको हुन्छ त्यतिकै काट्ने गरेको उहाँले जानकारी दिनुभयो ।

स्थानीय बजारमा विक्री वितरण हुने समानहरुको क्वालिटी चेकजाँच र बजार अनुगमन स्थानीय निकाय तथा प्रशासनको प्रमुख जिम्मेवारी हो । उनीहरु आफ्नो कर्तव्य र दायित्वबाट चुकेकै कारण अहिले उपभोक्ताहरु मारमा परेको बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले बताउनुभयो । देशको हरेक ठाउँमा सिक्का संचालनमा रहे पनि बारा जिल्लामा सिक्का नचल्ने नाउँमा ठगी धन्दा बढेको उहाँले बताउनुभयो ।

हामीसँग वेट गर्ने मेशिनको अभाव छ, राष्ट्रिय वाणिज्य बैक शाखा कार्यालय कलैयाका प्रमुख प्रवेश सिन्धुलियाले भन्नुभयो,‘स्टाफको अभाव हुन्छ र भिडभाड बढी भएको बेलामा बढी सिक्का लिएर आयो भने गन्न समय लाग्ने भएको कारण सिक्काको लेनदेनमा कमी आएको हो । सिक्का बन्द भएको होइन ।' थोरै थोरै लिएर आउने हो भने लिनेदिने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बैकले सिक्का लेनदेनमा कमी ल्याएको कारण सिक्का प्रचलन हराउँदै गएको जानकारी दिनुभयो । सिक्का नचल्ने नाउँमा ठगी गर्ने जोकोहीलाई पनि कानून बमोजिम सजाय गरिने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?